२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

संकटालाई हराउँदै आर्मी अन्तिम चारमा 

दीपक परियार

पोखरा — डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ३–० ले पराजित गर्दै त्रिभुवन आर्मी पोखरामा जारी २३ औं आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार क्वाटरफाइनल खेलमा दिनेश हेन्जनले दुई र जिलेस्पीजंग कार्कीले एक गोलको योगदान दिए ।

संकटालाई हराउँदै आर्मी अन्तिम चारमा 

राष्ट्रिय टिमको अनुभव लिइसकेका ६ खेलाडीलाई पहिलो रोजाइमा राखेर मैदानमा उत्रिएको संकटाले हारको संकट टार्न सकेन । संकटासँग बाँकी खेलाडी पनि घरेलु फुटबलका अनुभवी खेलाडी नै थिए । राष्ट्रिय टिमका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अञ्जन विष्टलाई संकटाले टिममा भित्र्याएर कप्तानको जिम्मा दिए पनि जादु चलेन । लकेन लिम्बु र गोलरक्षक दीप कार्की पनि संकटामा अनुबन्ध हुँदै पोखरा आएका थिए ।

खेलको ३२ औं मिनेटमा विष्टले संकटालाई अग्रता दिलाउन सकेनन् । संकटाका सुमित श्रेष्ठको पासमा विष्टको प्रहार आर्मीका गोलरक्षक समित श्रेष्ठले उत्कृष्ट बचाउ गरे । उक्त बल समितले पूर्ण रुपमा नियन्त्रणमा लिन नसक्दा संकटाले कर्नर पायो । सुरजज्यू ठकुरीको कर्नर आर्मीका खेलाडीले क्लियर गरे ।

तीनपल्ट फाइनलमा पुगेर पनि उपाधिको स्वाद चाख्न नपाएको आर्मी यसपल्ट भने गतिलो तयारी साथ मैदानमा उत्रिएको देखिन्छ । आर्मी प्रिक्वाटरमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो । भरत खवासको कप्तानीमा जिलेस्पीजंग कार्की र दिनेश हेन्जनले उत्कृष्ट प्रदर्शन गर्दा आर्मीले उपाधि यात्रालाई जीवितै राखेको छ ।


खेलको ४४ औं मिनेटमा दिनेश हेन्जनले विपक्षीको पेनाल्टी बक्सबाट गरेको हेडर क्रसबार माथिबाट बाहिरियो । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा भने आर्मीका जिलेस्पीजंग कार्कीले संकटालाई कुनै मौका दिएनन् । कप्तान भरत खवासले दाँया तिरबाट उपलब्ध गराएको क्रसमा अनमार्क अवस्थामा रहेका जिलेस्पीजंग कार्कीले हेड मार्फत गोल गर्दै जितको यात्रामा अगाडि बढाए ।

खेलको ४८ औं मिनेटमा आर्मीको लागि पेनालटीको अवसर जुर्‍यो । आर्मीका दिनेश हेन्जनको प्रहार रोक्ने क्रममा संकटाका कुलदीप कार्कीले ह्यान्ड गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा हेन्जनले मौका गुम्न दिएनन् । उनले व्यक्तिगत पहिलो गोल गर्दै जितको खुसी मनाए । खेलमा आर्मीले संकटालाई निरन्तर दबाबमा राख्यो । खेलको ६४ औं मिनेटमा दिनेश हेन्जनले व्यक्तिगत दोस्रो गोल गर्ने सुनौलो अवसर गुमाए । उनको शक्तिशाली प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो ।

खेलको ७६ मिनेटमा अघिल्लो गल्ती दिनेशले दोहोर्‍याएनन् । उनले जिलेस्पीजंगको पासलाई सदुपयोग गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । उनी प्लेयर अफ दी म्याच घोषित भए । दुईपल्ट च्याम्पियन भएको संकटालाई घर फर्काउदै आर्मीले सेमिफाइनलसम्मको यात्रा सुनिश्चत गरेको छ । आर्मीले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेतासँग माघ १८ मा सेमिफाइनल खेल्ने छ । सोमबार मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तेस्रो क्वाटरफाइनलको खेल हुने छ ।

प्रकाशित : माघ १४, २०८० २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?