कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७
मनोज गजुरेलकी आमा

सहरमा गाउँ बाँचिरहेकी आमा

मनोजको बुझाइमा आमा जोगीजस्तो हो, जसरी जोगीले आफ्नो जीवन ईश्वरमा समर्पित गर्छ, आमाहरूले पनि आफ्नो जीवन सन्तानका लागि समर्पित गर्छिन् । भन्छन्, ‘अरूले गरेको मायाभन्दा आमाले गरेको गाली ऊर्जामय छ, जसले बाँच्न सिकाउँछ ।’ 
दीपक सापकोटा

काठमाडौँ — छुपुमा छुपु धानै र रोप्नु राम्दाली रुदुवा ।
बालकैकालमा बे गरिदिए बैंसैमा बिधुवा ।।
माथि है माथि लेकैमा जाँदा क्यानक्याने कराउँथ्यो ।
हजुर र हामी सँगसँगै हुँदा डर सबै हराउँथ्यो ।।

सहरमा गाउँ बाँचिरहेकी आमा

सबै छन् खुसी दिदी र बहिनी, मै परें फेला पो

बाबाका आँखा फुटेका हुन् कि कर्मको खेला हो

फाटेको सारी सात गाँठा पारी हिँड्दथें लाएर

झरी न घाम गर्दथें काम आधा पेट खाएर

मेला–पर्म वा गृह–कर्म, मसिनो स्वरमा–विरही भाकामा यो गीत गाउँथिन् मनोज गजुरेलकी आमा । मनोज सोचिबस्थे– आमाको जीवनमा गहिरो उदासी छ, बेचैनी छ, आँसु छ र उनी केवल दुःखहरूको भारी बोकिरहेकी छन् ।

‘आधा पेट खाएर’ झरी–घाम खेप्दै भीरपाखामा घाँस काट्दा वा ढिकी कुट्दा, जाँतो पिँध्दा वा आली लाउँदा वेदना–व्यथा गुनगुनाइरहन्थिन् । आमाको दुःखका वर्णमाला सुनाइरहेका छन्– मनोज गजुरेल । कलापारखीका नजरमा उनी हास्यकलाकार हुन्, आमाको नजरमा भने चकचके बालक ।

***

आरम्भमा टेलिभिजनमा देखिएका हास्य कलाकारका शैली उस्तैउस्तै थिए । तिनमा परम्परा र उही एकरसताको गन्ध आउँथ्यो । तर, मनोजको नाम–काम फरक र विशिष्ट थियो । प्रहसन हेर्नेलाई मञ्चमा उनले बाँचको त्यो ‘पात्रता’ को सम्झना आइरहन्छ । एक वर्षअघि सिस्नुपानी नेपालको आयोजनामा प्रज्ञा प्रतिष्ठाको प्रेक्षालयमा उनी ‘आमा’ बनेका थिए । यी ‘भेटरन’ हास्यशिल्पी आमाको जीवन–कथाको स्मृति–दंशमा प्रवेश गरेका थिए ।

तस्बिर : महेश प्रधान/कान्तिपुर

मनोजले आमा र आमाका दौंतरीहरू बाँचेको समयको अन्तर्य बुझेका थिए । आमाहरूको जिन्दगीको दुःख, तिनका मनोदशालाई ध्यानस्थ भएर नियालेका थिए । आमाको आकांक्षा र एकान्तको अध्ययन गरेका थिए । त्यसैले त्यस दिन आफ्नै आमाका यथार्थ–जीवन कथा सुनाए उनले । उनकी आमाको व्यथा वास्तवमै भयंकर पीडादायी थियो । प्रज्ञा प्रतिष्ठानमा मनोजले ‘आमा’ भएर सुनाएका आमाका कथाहरू असाध्यै सुनिन्छन्– गाउँ, सहर अनि वृद्धाश्रमहरूमा ।

त्यो प्रेक्षालयमा आमाको जीवन सुनाउन उभिएका मनोजले काँपेको स्वरमा सुस्तरी भनेका थिए– ‘मेरो नाम इन्द्रमाया, तर नाम र जिन्दगीमा ठूलो खाडल छ, न कुनै इन्द्रको माया पाउन सकें, न कुनै यमराजको दया हुन सक्यो ।...बिधुवाको कथा कुनै कलाकारले देख्न सक्दैन नानी, कविले लेख्न सक्दैन ।...सेतो सारीले चाडबाडमा सबभन्दा बढी दुःख दिन्छ, दौंतरीहरू राताम्मे भएर नाचगान गर्दै हुन्थे, म सारीमा पोको भएर रुँदैरुँदै बस्थें ।’

असलमा मनोज गजुरेलकी आमा इन्द्रमाया गजुरेल (८२) को जीवनका अंशहरू यस्तैयस्तै थिए, जस्तो मनोजले ‘आमा’ भएर सुनाएका छन् । भन्छन्, ‘मेरो त्यो प्रस्तुति मेरै आमाको जीवनका कथाहरू हुन् । एक गरिब, ‘विधवा’ आफ्ना इच्छा–आकांक्षा दबाएर सन्तानहरूका लागि बाँचिन्, ती ज्युँदो उदाहरण मेरी आमा हुन् ।’ बीपी कोइरालाको इन्द्रमायाका ‘तीन घुम्ती’ मात्रै छन्, तर मनोजकी आमा इन्द्रमायाले अनेक घुम्तीहरू बाँचिन् ।

नेपालका ग्रामीण घरघरमा छन्– आमाहरूका पीडादायी कथा । तिनका जीवनका उकाली–ओरालीमा घोत्लिए देखिन्छ, उनीहरूको असली जीवन । त्यो जीवनभित्र पसे मात्रै थाहा लाग्छ– ती आमाहरूका वास्तविक भोगाइ । समाज पढ्न पहिले ती आमाका जीवन–अंश जान्नुपर्छ । उमेरमै जीवनबाट रङहरू उडेपछि आइलागेको श्वेत रङले तिनलाई कहाँ–कहाँ बाटो छेक्छ ? आँसुको जहर तिनले कति पटक पिउनुपर्छ ? यो जान्न मनोजकी आमाका विरहका ती दिनहरूतिर यात्रा गर्नुपर्छ । स्पष्ट भाषामा

भन्नुपर्दा इन्द्रमायाको जीवन अँध्यारोमय थियो । ‘मेरी आमाको कपडाको रङ सेतो, तर भोगाइको रङ पूरै कालो अर्थात् अन्धकार,’ मनोज आफ्नै अन्दाजमा भन्छन्, ‘आमाको जीवनमा दुःखका इँटाहरूको चाङ लगाइएको थियो ।’

***

इन्द्रमाया राणाकालमै (१९९९ साल) जन्मिइन्– ताप्लेजुङ खेवाङको एक ब्राह्मण परिवारमा । चार दिदी–बहिनीकी जेठी थिइन् उनी । पुरोहितकी जेठी छोरी भएकाले गाउँमा उनको नाम रह्यो– ‘पुरेतकी ठूली’ । अहिले पनि मनोजको मावली गाउँमा उनलाई गाउँलेहरू त्यही नामले चिन्छन् । ९ वर्षको छँदै बिहे भयो इन्द्रमायाको– ११ वर्षे भवानीप्रसाद गजुरेलसँग । बिहेपछि खेवाङबाट ताप्लेजुङकै मामाङ्खे पुगिन् । बिहे हुँदै छ, आमाको काख छोडेर पराइघर जाँदै छु भन्ने थाहा थियो त ? इन्द्रमाया भन्छिन्, ‘कहाँ बाबु ! आमाले तिम्रो बिहे हुँदै छ भनेको सुन्दा मलाई लागेको थियो– त्यो भाँडाकुटी खेलेजस्तो हो । बिहे भनेको कुनै खेल्ने कुरा होला भन्ने सोचेको थिएँ, त्यसैले हुन्छ भने ।’

मनोज गजुरेलकी आमा इन्द्रमाया ।

इन्द्रमायालाई कुनै अनुभूति भएन– बाल्यकाल कस्तो हुन्छ ? त्यसको रमाइलो के हो ? त्यो चेतना विकास नहुँदै बिहे भएकी उनलाई सायद किशोरकालको रमाइलो र आनन्द पनि थाहा भएन । २०१९ सालमा जन्मिइन्, इन्द्रमायाकी जेठी छोरी । उनले बर्सेनि छोराछोरी जन्माइन् । एवंरीतले उनका ४ छोरी, ३ छोरा भए । ०३० मा जन्मेका मनोज कान्छा छोरा हुन् । ६ महिनाको हुँदा मनोजले पिता गुमाए । पिता थिए– शिक्षक र पुरोहित । रोग केही थिएन, निहुँ थियो– बूढी औंलाको घाउ, त्यही पाकेर बिते उनी । पिता–प्रस्थानपछि सबै जिम्मेवारी उनकी आमाको काँधमा आइपर्‍यो । ३० वर्षे उनी श्रीमान् बितेपछि मध्यमवर्गबाट नितान्त सर्वहारा बनिन् ।

पिताको एकवर्षे काजक्रियापछि मनोजका काका–हजुरबाहरू मणिपुरतिर लागे । ०३१ सालमा इन्द्रमाया ७ छोराछोरी बोकेर माइती–गाउँ खेवाङ गइन्, श्रीमान्को जेथोबापत पाएको ३ हजार रुपैयाँ साथै लिएर । ६ वर्षसम्म मामाघरको आश्रयमा बसे, मनोज र उनका दाजु–दिदीहरू । मावली गाउँमा लिम्बू, राई, गुरुङको बाहुल्य थियो । ‘पुरेतकी ठूली’ का छोराछोरीहरू गाउँलेहरूका भान्जाभान्जी भए । ‘गाउँलेहरू हामी सबैका मामाहरू भए, हामी भान्जा–भान्जी । त्यहीं हुर्केकाले, दसैंमा सबैको घरमा टिको थाप्न जान्थ्यौं हामी,’ मनोज भन्छन् ।

६ वर्षपछि इन्द्रमाया–परिवार ताप्लेजुङ खेवाङबाट झापाको डुँडामारी झर्‍यो । मणिपुरबाट काका–हजुरबाहरू पनि झापा फिरे । मनोज र उनका दाजु–दिदीहरू काकाहरूकै छत्रछायामा बसे, काकाकै जग्गामा सानो झुप्रो–घर बनाएर । मनोजका दिदीहरूले उति पढ्न पाएनन्, सायद इन्द्रमायालाई लाग्यो– छोरीहरू त घर गरेर खाइहाल्छन्, छोराहरूलाई आफ्नै खुट्टामा उभिने बनाउनुपर्छ । ‘यस्तै सोचेर आमाले हामी छोराहरूको पढाइमा बढी ध्यान दिनुभयो,’ मनोज भन्छन् ।

इन्द्रमाया जुन समयमा जन्मिइन्, त्यो समय सामाजिक–आर्थिक हिसाबले समाज परिष्कृत थिएन । राणा शासनकै दबदबा थियो । ग्रामीण ब्राह्मण परिवारभित्रका केही दायरा, सीमा र अनुशासन थिए । ‘आमाको तत्कालीन अवस्था साह्रै संघर्षशील थियो । त्यो समयलाई म दुःख भन्दिन, बरु संघर्ष भन्छु,’ मनोज भन्छन्, ‘श्रीमान् बितेपछि परिवारले महिलालाई बोझ ठान्थ्यो । मेरी आमाले ३० वर्षे जवानीमा अनेक इच्छा–आकांक्षालाई तिलान्जली दिएर, ती सबै दबाएर संघर्षको बाटो रोज्नुभयो । छोराछोरीको रहरै आफ्नो ठानेर रमाउनुभयो । आमाले छोराछोरीको सट्टा व्यक्तिगत जिन्दगी रोजेको भए म यो अवस्थासम्म आइपुग्ने थिइनँ ।’

सायद ‘छोराछोरीकै जिन्दगी मेरो पनि जिन्दगी हो’ सोचेर आमाहरू समर्पित हुनु सृष्टिकै सबैभन्दा ठूलो उत्प्रेरणा हो । त्यसैले सदैव आमाहरू सलाम र श्रद्धाको हकदार छन् । इन्द्रमायाको पटुकीको अन्तरमा हुन्थे– भोक मेटाउने केही राम्ररी भुटिएका, केही नभुटिएका गेडागुडी । र, तिनै गेडागुडीजस्ता जतनले राखेका गाउँतिर सुनेका केही कथाहरू, जुन कथा साँझतिर सुनाउँथिन् छोराछोरीलाई । साँवा अक्षर छुट्याउँथिन् उनी, आफ्नै पिताबाट सुनेकै भरमा ‘गुणरत्नमाला’ का केही श्लोक गाउँथिन् ।

***

आमाको स्मृति–यानमा सवार मनोज ती रात–साँझ–दिन सम्झिरहेका छन्, जुन उनका लागि पहिलो पाठशालाजत्तिकै प्यारा छन् । एकैछिन मनोजको स्मृति–संग्रहालयमा डुलिहेरौं ।

एक : मनोजले एकदिन आमालाई भने, ‘मलाई स्कुलमा खाजा खाने पैसा दिनुपर्‍यो । सबै साथी खाजा खान्छन्, म भोकै टुलुटुलु हेरेरै बस्नुपर्छ । कि पैसा देऊ, कि स्कुल जान्न ।’ उनको गरगहना बेचिसकिएको थियो । नाकमा एउटा बुलाकी बाँकी थियो । रुँदैरुँदै नाकको बुलाकी फुकालिन् र भनिन्, ‘ल मसँग यही बुलाकी बाँकी छ, यो बेचेर खाजा खा ।’ र, बुलाकी मझेरीमा फालिदिइन् । मनोजले त्यो लिएनन् । आमाको अनुहार हेरे, गहनाबिनाको अनुहार अर्कैअर्कै लाग्यो । बुलाकी भुँइबाट टिपे र आमाको काखमा राख्दै भने, ‘लगाऊ आमा, राम्रो देखिएन तिमीलाई, अबदेखि कहिल्यै पैसा माग्दिन ।’ त्यसपछि घरबाट निस्केका उनी पाँच दिनसम्म हराए ।

आमा इन्द्रमायासँग कलाकार मनोज गजुरेल ।

आमाले खोजिन्– आफन्त, छिमेकी जताततै । मनोज गाउँकै कुनै साथीको घरमा लुकेर बसेका थिए । पाँच दिनपछि मनोज घर फिरे । छोरो देखेपछि पिट्दैपिट्दै झन् रोइन् । उनले पाँचै दिन भात खाएकी थिइनन् । मनोजले आमासँग दुई माना चामल मागे, बेचे पाँच रुपैयाँमा । त्यो पैसा आमालाई दिँदै भने, ‘यो चामल मेरो पाँच दिनको कमाइ हो, म यहाँ बसेको भए यति खान्थें, मैले खाजा खान मागेको बेला ४–४ आना गरी पैसा दिनु ।’ त्यो घटनापछि मनोजलाई लाग्यो– आफू सर्वस्व गुमाएर पनि सन्तानको सुख देख्न चाहँदारैछन् आमा ।

दुई : इन्द्रमाया काममा जान्थिन् । काम भन्नु अरूको घरखेतमा मेलापात । घरमा केटाकेटी असाध्यै झगडा गर्थे । कामले फतक्कै गलेकी इन्द्रमाया दिक्क हुन्थिन् । एक रात छोराछोरीलाई भनिन्– तिमीहरूले पनि मलाई राम्रो गरेनौ, अब म जान्छु, आउँदिन, जेसुकै गर । यति भनेर आमा त गइन् । छोराछोरी रुन थाले । एक्कैछिनपछि कालो बाक्लो राडी ओढेको, अनुहार ढाकिएको मान्छे आयो । र, त्यो बत्ती नभएको अँध्यारोमा भन्यो– ‘म भूत हुँ, खान्छु तिमेरुलाई ।’

मनोजकी दिदीले डाँको छोडेर भन्न थालिन्– ए भूत नलैजा न मेरो भाइलाई, आमाले पनि छाडेर जानुभयो । राडी ओढेको मान्छेले ‘लैजान्छु’ भनेर एकछिन लुछाचुँडी गर्‍यो । दिदीले भाइहरूलाई आफूतिर तानिरहिन् । त्यसपछि त्यो मान्छेले सोध्यो– ‘अबदेखि झगडा गर्छौ कि गर्दैनौ ?’ सबै छोराछोरीले ‘अब कहिल्यै झगडा गर्दैनौं’ भनेपछि ‘भूत’ हिँड्यो । एकछिनपछि मनोजकी दिदी आमा खोज्न निस्किइन् । उनी त घरछेउको बकाइनोको रूखमुनि बसिरहेकी रहिछन् । त्यो राडी ओढेको मान्छे इन्द्रमाया थिइन् । मनोज भन्छन्, ‘हामीलाई जिम्मेवार बनाउन आमाले त्यसरी सकेको विवेक प्रयोग गर्नुभयो । त्यो दिनपछि हामीले झगडा गरेनौं ।’

तीन : इन्द्रमायाले मेलापात जाँदा चिउरा, मकै पाउँथिन्– खाजास्वरूप । उनले कहिल्यै त्यो खाजा खाइनन् । पटुकीको पोल्टामा बोकेर घर आउँथिन् । छोराछोरी ‘आमा कहिले आउँलिन्, खाजा ल्याउलिन्’ सोचेर फलैंचामा कुरिरहेका हुन्थे । आमा आएपछि तिनको अनुहारमा खुसी नाच्थ्यो । फूल उठेको मकै र भुटेको चिउराको सम्झना पनि अझै स्वादिलो छ मनोजलाई ।

चार : किशोर छँदा मनोजले थुप्रै स्कुल परिवर्तन गरे । घरमा भयंकर अभाव हुँदा पनि इन्द्रमायाले छोराहरूलाई ‘स्कुल नपढ्, पैसा तिर्न सक्दिन’ भनिनन्, पढ्नै प्रोत्साहन गरिरहिन् । बरु मामाघर, काका, आफन्तकहाँ पढ्न पठाइन् । भाइहरूको जिम्मा पछि बिस्तारै दिदीहरूले लिए– कपडा धुने, खाना बनाइदिने, मेलापात जाने । ‘यसरी ममत्व आमाबाट मात्रै होइन, दिदीहरूबाट पनि पायौं हामीले,’ मनोज भन्छन् ।

पाँच : छिमेकका एक दाजु काठमान्डु बसेर पढ्थे । घर आएका बेला तिनले इन्द्रमायासँग भने, ‘मनोजलाई मसँग काठमान्डु पठाइदिनू । मेरो लागि भात पकाइदिन्छ, पढ्छ पनि ।’ तर, इन्द्रमायाले सिधै ‘हुन्न’ भनिन् । ‘बरु आफैं संघर्ष गरेर पढाउँछु, दुःख गर्छु । तर, छोराछोरीलाई अरूकहाँ नोकर बनाएर पठाउन सक्दिनँ ।’ बाल्यकालमा मनोज असाध्यै चकचके थिए, फिटिक्कै नपढ्ने, गाउँतिर डुलिरहने, भिडियो–फिल्म हेर्न जाने । आमाले ‘लौ यो त बिग्रिने भो, यसलाई काठमान्डु लैजा’ भनेर पहिले नै काठमाडौं पुगिसकेका जेठो छोरोलाई जिम्मा लगाइन् ।

काठमाडौं आएर मनोज पद्मोदय स्कुलमा कक्षा ९ मा भर्ना भए, ०४५ मा । एक पटक निःसन्तान विदेशी दम्पतीले मनोजका दाजुसँग भने, ‘यो बच्चा दिनुस्, हाम्रो देश लैजान्छौं र छोरा बनाउँछौ ।’ दाजु चुप लागे, तर इन्द्रमायाले भनिन्, ‘यो बालख विदेश गएपछि मेरो छोरो रहँदैन । परम्परा, संस्कृति सबै बिर्सिन्छ । म लैजान दिन्न ।’ मनोज घोत्लिन्छन्, ‘आमाको त्यो निर्णयले नै म यहाँ छु, नभए अहिले कहाँ हुन्थें होला ?’

***

डुँडामारी, दमक हुँदै अहिले मनोजको घर धरमपुरमा छ । उनका तीनैजना दाजुभाइ आमासँगै बस्छन्– भक्तपुरको बालकोटमा । ‘आमाले छोराहरू सबै एकैठाउँ बस्ने भए मात्रै काठमान्डु आउँछु भन्नुभयो, त्यसैले हामी सँगै छौं,’ मनोज भन्छन् । मनोजकी आमालाई आफ्नै जीवन सपनाजस्तो लाग्छ– खरले छाएको, अभावले बाँचको खेवाङको त्यो जीवन, त्यो असुरक्षा, नानीहरूको अनिश्चित जिन्दगी–भविष्य अनि हातमुख जोड्ने तनाव र यो ठिकैको सुखी जिन्दगी सम्झेर !

मनोजको बुझाइमा भने आमा जोगीजस्तो हो, जसरी जोगीले आफ्नो जीवन ईश्वरमा समर्पित गर्छ, आमाहरूले पनि आफ्नो जीवन सन्तानका लागि समर्पित गर्छिन् । भन्छन्, ‘अरूले गरेको माया भन्दा आमाले गरेको गाली ऊर्जामय छ, जसले बाँच्न सिकाउँछ ।’ इन्द्रमाया सम्भव भएसम्म मनोजका सबै प्रहसन–प्रस्तुति हेर्छिन् । जस्तो इन्द्रमायाले भनेको र मनोजले लेखेको स्क्रिप्ट थियो– आमा प्रस्तुति । प्रज्ञा प्रतिष्ठानमा आफ्नै कथा हेरेपछि भावुक भएकी थिइन् उनी ।

आमाकै सामुन्ने आमाको भूमिकामा मनोज गजुरेल ।

‘आमाले सन्तानलाई सधैं आफ्नो नाभीसँग जोडिएको अंशका रूपमा लिँदिरैछिन् । जीवनैभर, जीवनपर्यन्त पनि नटुट्ने साइनो हो आमा,’ मनोज भन्छन् । कोभिडकालमा मनोजलाई पनि कोरोना लाग्यो । इन्द्रमायालाई लागेन, तर उनी मनोजको चिन्ताले बिरामी भइन् । ‘मेरो व्यक्तिगत जीवनको चिन्ता छ आमालाई । मेरो पारिवारिक विखण्डनपछि आमा झन् तर्सिनुभयो । आमाका नजरमा म सानै छु उस्तै बालखझैं ।’ छोरालाई लिएर आमाको के सपना थियो ? ‘अभावमा हुर्केको मान्छेको सपना हुँदैन, मेरो पनि थिएन । आमाको सपना थियो– मैले दिएको संस्कार सन्तानहरूमा लागू होस्, त्योबाट च्युत नहोऊन् । सन्तानबाट बदनामी नहोस्,’ मनोज भन्छन् ।

***

आमाबाट मनोजले सिकेको गुण हो– आफन्त चाहिन्छ, समूह चाहिन्छ । अहिले पनि इन्द्रमाया गाउँका छिमेकीसँग भेट्छिन्, घण्टौं गफ गर्छिन् । छोराछोरीलाई भनिरहन्छिन्– अहिले तिमीहरू जहाँ छौ, त्यो पुस्तौं पुस्ताको जोड हो । त्यसैले पितृहरूलाई नबिर्सनू । जीवनैभर पूर्ण शाकाहारी इन्द्रमाया माइती र गाउँलाई असाध्यै माया गर्छिन् । खेवाङका कोही भेटिन् र उसले ‘म फलानाको नाति’ भन्यो भने उनी उसको सात पुस्ता केलाउँछिन् ।

डोनाल्ड ट्रम्पको नक्कल गर्दै मनोज गजुरेल ।

मनोजको स्मृति–तालमा ती दिन खुब ओहोरदोहोर गर्छन्– घरमा पाहुनाहरू आएका हुन्थे । भुसुक्कै निदाएका उनी पल्लो कोठामा आमाले ती पाहुनासँग रातैभर दुःख बिसाउँदै गुनगुन–गुनगुन गरेको आवाजले ब्युँझन्थे । मनोज बिहान उठ्दा घरमा ढिकी वा जाँतोको आवाज सुनिन्थ्यो । उनी सोचिबस्थे– मेरी आमा सुत्छिन् कतिबेला ? उठ्छिन् कतिबेला ? यो सहरी व्यस्ततामा मनोजलाई ग्राम्य जीवन र बालापनतिर पुर्‍याउने केही यादहरू छन् भने ती हुन्– आमाको गुनगुन र ढिकी–जाँतोको आवाज ।

प्रकाशित : जेष्ठ ८, २०८१ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x