एसीसी प्रिमियर कप

नेपालको लयमा वर्षा बाधक

काठमाडौँ — नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा सोमबार यूएईसँगको खेल पुनः वर्षाले बिथोलिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाइ १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।

नेपालको लयमा वर्षा बाधक

बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिएको थियो । दिउँसो ३ बजेसम्म वर्षा हुने अनुमान गरिएको छ ।

खचाखच दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुआतदेखि नै यूएईलाई दबाबमा राखेको थियो र निरन्तर विकेट लिँदै मध्यम लक्ष्य पाउन सफल भयो ।

चौंथो ओभरको पहिलो बलमै सोमपाल कामीले मोहम्मद वासिमलाई ११ रनमा आउट गरेपछि नेपालले विकेट लिने क्रम सुरु गरेको थियो । त्यसको अर्को ओभरमा करण केसीले वृत्या अर्विन्दलाई ८ रनमा आउट गरी नेपाललाई ठूलो सफलता दिलाएका थिए ।

करणले नै आर्यन लर्कालाई १३ रनमा पहिलो स्लिपमा क्याच गराए । रमिज सेहजादलाई ललित राजवंशीले १ र पूर्वकप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले २ रनमा आउट गरेपछि यूएई १४ औं ओभरमा ५१–५ को स्थितिमा पुगेको थियो ।

आसिफ खान र बसिल अहमदले छैटौं विकेटमा ३९ रनको साझेदारी गरे । यो बीचमा वर्षाले खेल आधा घन्टा अवरुद्ध पारेको थियो । गुलशन झाको बलमा इनसाइड एज लागेर बोल्ड भएका बसिलले २७ बल खेली १ चौकासहित १० रन बनाए ।

आयन खानले ५ रनमा सन्दीप लामिछानेले आउट गरे । ललितले आसिफ र जाहुर खानलाई लगातार बलमा आउट गरे । त्यसपछि खेल पुनः वर्षाले अवरुद्ध हुन पुग्यो । नेपालविरुद्ध विश्वकप लिग २ को पछिल्लो खेलमा शतक बनाएका आसिफले ५४ बलमा ४६ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरे ।

प्रकाशित : वैशाख १८, २०८० १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?