क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् ।

मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्ष समेत रहेका थिए । मल्लको राजीनामा मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले अनुमोदन गरेको हो । बोर्डको उक्त बैठकले कार्यसमिति सदस्यमा दुर्गाराज पाठकलाई कार्यबहाक सचिवको रुपमा जिम्मेवारी दिने निर्णय गरेको बुधबार पत्र सम्मेलनमार्फत जनाएको छ ।

संघका ७ जनाले तीन जना पदाधिकारीको राजीनामा माग गरेका थिए । उनीहरूले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यवाहक सचिव प्रशान्त मल्ललगायतको राजीनामा मागेका थिए । राजीनामा माग्नेमा बोर्ड सदस्यहरू ऋषिराम गौतमको नेतृत्वमा दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा, धर्मराज गिरी, अमितवीर पाण्डे रहेका थिए ।

राजीनामा माग गर्दै अध्यक्ष चन्दलाई पत्र बुझाएपछि उनीहरूले मंगलबारको बोर्ड बैठक बहिष्कार गरेका थिए । पत्रमा क्यानका अध्यक्ष, सचिव र कोषाध्यक्षले पत्रकार सम्मेलनमा आफ्नो कमीकमजोरी र गल्ती स्वीकार गरिसकेको र अरू कामले क्रिकेट संघको बदनाम भई निलम्बनको खतरामा पुगिसकेको आरोप छ ।

प्रकाशित : माघ १८, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

परराष्ट्र सचिव र इयूका मानव अधिकार विशेष प्रतिनिधिबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्र सचिव भरतराज पौड्याल र यूरोपेली यूनियन (इयू) का मानव अधिकार प्रतिनिधि इमन गिल्मोरबीच मंगलबार बेल्जियममा भेटवार्ता भएको छ । युरोप भ्रमणमा रहेका परराष्ट्र सचिव पौड्याल र गिल्मोरबीच मानव अधिकार संरक्षण र प्रवर्द्धनका विभिन्न पक्षमा विचार आदान–प्रदान भएको बेल्जियमस्थित नेपाली दूतावासले जनाएको छ ।

गिल्मोरमा भेटवार्ताका सम्बन्धमा ट्वीट गर्दै सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको उल्लेख गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी प्रगतिलाई आफूले स्वागत गरेको पनि जनाएका छन् । उनले नेपाल शान्ति प्रक्रियाबाट धेरै कुरा सिक्न सकिने पनि उल्लेख गरे ।

प्रकाशित : माघ १८, २०७९ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×