क्यानको बैठकमै पदाधिकारीको राजीनामा माग

अनिश भट्टराई

गण्डकी — नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार पोखरामा समयमा सुरु हुन सकेन । संघका ७ पदाधिकारी बैठकमा नजाँदा समयमा सुरु नभएको हो । उनै ७ जनाले बोर्ड बैठकमा तीन पदाधिकारीको राजीनामा माग गरेका थिए ।

उनीहरूले क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, कार्यवाहक सचिव प्रशान्त मल्ललगायतको राजीनामा मागेका हुन् । राजीनामा माग्नेमा बोर्ड सदस्यहरू ऋषिराम गौतमको नेतृत्वमा दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा, धर्मराज गिरी थिए । अर्का सदस्य अमितवीर पाण्डे अस्वस्थता रहेका कारण अनुपस्थित थिए । तर राजीनामा माग गर्ने ७ सदस्यीय टोली रहेको पत्रमा उनले हस्ताक्षर गरेका छन् ।

राजीनामा माग गर्दै अध्यक्ष चन्दलाई पत्र बुझाएपछि उनीहरूले बोर्ड बैठक बहिष्कार गरेका थिए । पत्रमा क्यानका अध्यक्ष, सचिव र कोषाध्यक्षले पत्रकार सम्मेलनमा आनो कमीकमजोरी र गल्ती स्वीकार गरिसकेको र अरू कामले क्रिकेट संघको बदनाम भई निलम्बनको खतरामा पुगिसकेको आरोप छ । ‘बोर्ड बैठकमा असहमति र नोट अफ डिसेन्ट लेखेर विरोध गर्दा पनि तपाईंहरूले बारम्बार गल्तीमाथि गल्ती गरेर नेपाली क्रिकेटको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम भई नेपाल क्रिकेट संघ विघटन र निलम्बनको खतरा पुगेको यथार्थ अवस्था हो । त्यसकारण हामीहरूले कार्यसम्पादन समिति र गभर्निङ सदस्यहरूको राजीनामा सार्वजनिक मिडियामार्फत मागिसकेका छौं,’ पत्रमा उल्लेख छ ।

राखेपले स्पट फिक्सिङबारे अनुसन्धान गर्न बनाएको छानबिन समितिले क्यान निलम्बन गर्न सुझाव दिएको उल्लेख गर्दै पत्रमा भनिएको छ, ‘खेलकुद ऐन २०७७ अनुसार क्रिकेट संघलाई विघटन गर्न समेत सिफारिस गरिसकेको छ । साथै नेपाल प्रहरीको छानबिन निकाय सीआईबीको प्रारम्भिक प्रतिवेदनमा नेपाल टी–२० लिगको साझेदार कम्पनी सेभेन थ्री स्पोर्ट्स नै फिक्सिङमा संलग्न भएको प्रतिवेदनसमेत सार्वजनिक गरी दुई खेलाडीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।’

‘नेपाल क्रिकेट संघको निलम्बनको खतरा भइरहेको अवस्थामा राजीनामा दिई नेपाल क्रिकेट संघलाई विघटन र निलम्बनबाट जोगाउन मार्ग प्रस्त गरिदिनुहुन अनुरोध गर्दछौं,’ असन्तुष्ट पक्षले भनेको छ, ‘अन्यथा क्यानमाथि आउने सबै अवस्थाको जिम्मेवारी तपाईंहरू नै हुनुहुन्छ । इतिहास, समाज र राष्ट्रले तपाईंहरूलाई माफी दिने छैन ।’ असन्तुष्ट पक्ष बैठकबाट बाहिरिएपछि उनीहरूबिनै बोर्ड बैठक सञ्चालनमा आएको थियो । क्यानले राति अबेरसम्म चलेको बैठकले निर्णय सार्वजनिक गरेको छैन ।

प्रकाशित : माघ १८, २०७९ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्

सेभेन थ्री स्पोर्ट्सद्वारा सम्झौता रद्द

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नेपाल क्रिकेट संघ (क्यान) सँगको नेपाल टी–२० लिगको सम्झौता मंगलबार एकपक्षीय रूपमा खारेज गरेको छ ।

सेभेन थ्री स्पोर्टसका निर्देशक जतिन आहलुवालियाले क्यानलाई इमेल गर्दै सम्झौता रद्द भएको जनाएका हुन् । क्यानले आफ्नो अधिनमा रहेर पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगमा सेभेन थ्री स्पोर्टसलाई रणनीतिक र व्यावसायिक साझेदार बनाएको थियो । त्यसवापत क्यानले ८ वर्षका लागि ३३ करोड दस्तुर पाउने तोकिएको थियो । पहिलो वर्ष क्यानले ३ करोड ९० लाख पाउने भनिएको थियो । तीन किस्तामा गरी २ करोड २० लाख पठाइसकेको सेभेन थ्री स्पोर्टसको दाबी छ ।

तर ‘लाइभ बेटिङ’, ‘स्पट फिक्सिङ’, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको, राखेपको स्वीकृति नलिई आयोजना गरिएको र खेलाडीको श्रम स्वीकृति नलिई गरिएका कारण प्रतियोगिता विवादले घेरिएको थियो । प्रतियोगिताको पाँचौं दिनमै आहलुवालिया र सेभेन थ्री स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अभिषेक सकालानी क्यानलाई कुनै जानकारी नदिई दिल्ली फरार भएका थिए ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषद (राखेप), प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन टोली बनाउँदै प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । स्पट फिक्सिङको ठुलो मुद्दा आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को इन्ट्रेग्रिटी युनिटको प्रतिनिधि नेपाल आउनु ठिकअघि भारतीय पक्ष गायब भएको थियो । (सीआईबी) ले फिक्सिङ र अनिमयतितामा नेपाली र विदेशी गरी १० जना समावेश रहेको आरोपमा पूर्वखेलाडी महबुब आलम र स्पट फिक्सिङ गरेको आरोपमा मोहम्मद आदिल आलमलाई पक्राउ गरी मुद्दाको प्रक्रिया अगाडि बढाएको थियो ।

सेभेन थ्री स्पोर्ट्सले इमेलमा राष्ट्रिय खेलकुद परिषदबाट क्यानले स्वीकृति लिन नसक्दा सम्झौता रद्द गर्नुपरेको जनाएको छ । आहलुवालियाले लेखेका छन्, ‘सन् २०२२ को फेब्रुअरी २४ मा भएको सम्झौताको दोस्रो संशोधनअनुसार मुख्य विषय राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको स्वीकृति थियो ।’ नयाँ खेलकुद विकास ऐनअनुसार राष्ट्रिय संघहरूले विदेशी कम्पनीसँग सम्झौता गरे स्वीकृति लिनुपर्ने प्रावधान छ ।

आहलुवालियाले राखेपको स्वीकृति नभएकै कारण नेपाल टी–२० लिगमा खेलेका विदेशी खेलाडीले श्रम स्वीकृति लिन नसकेको उल्लेख छन् । ‘क्यानले आजको दिनसम्म पनि हामीलाई राखेपसँग सम्झौता भएको छ भनेर सुनिश्चितता गराएको छैन, जबकि हाम्रो मुख्य सम्झौता नै राखेपसँगको स्वीकृति भन्ने छ,’ आहलुवालियाले भनेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘यी माथिका तथ्यहरूबाट धेरै स्पष्ट छ कि क्यानले जानाजानी गलत रूपमा तथ्यहरू प्रस्तुत गरेको र सेभेन थ्री स्पोर्टसलाई लुकाइरहेको छ । क्यानले नेपालको खेलकुद विकास

ऐनअनुरुप मुख्य सम्झौताको धारा ४४ (२) उल्लंघन गरेकाले मुख्य सम्झौता प्रभावकारी नै भएन । त्यसैले सम्झौता खारेजीको सूचना पठाएका छौं ।’ उनले यी सम्झौता कार्यान्वयन भएमा मात्र आफूहरू फर्किन तयार रहेको जनाएका छन् ।


प्रकाशित : माघ १८, २०७९ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×