गौतम बुद्ध क्रिकेट रंगशाला दसैंमा पनि निर्माण निरन्तर- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध क्रिकेट रंगशाला दसैंमा पनि निर्माण निरन्तर

‘रंगशालाको ३ सय ६० वटा पिलरमध्ये २ सय वटा पिलर ठड्याइसकिएको छ । साधारण प्यारापिटका रुपमा मैदानको पश्चिम (स्ट्यान्ड ए) र पूर्व (स्ट्यान्ड बी) को पिलर निर्माण लगभग सकिएको छ’
कुशल तिमल्सिना, रमेशकुमार पौडेल

चितवन — ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दसैंमा पनि नरोकिने भएको छ ।

कोरोना महामारीपछि देशव्यापी लकडाउनका बाबजुद रंगशाला निर्माण कार्य जारी राखेको फाउन्डेसनले दसैंमा कामदारकै चाहनाअनुसार काम जारी राख्न लागिएको फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेलले जानकारी दिए ।

‘वैशाखको २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेका हौं । साउनदेखि करिब २ सय जना र अहिले २ सय ३३ जना मजदुर कार्यरत छन्,’ अध्यक्ष कट्टेलले भने, ‘अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरैजसोले रंगशाला उभ्याएर मात्रै घर जाने र आफूहरूका लागि यही नै चाडपर्व भएको बताएपछि काम सञ्चालन गर्न लागिएको हो ।’ रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीं दसैं मनाउने धुर्मुसले बताए ।

गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरु भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिलरको फाउन्डेसन तयार गर्न फागुनसम्मको समय लाग्यो । चैत महिना लकडाउनका कारण काम सञ्चालन हुन नसके पनि वैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।

रंगशालाको ३ सय ६० वटा पिलरमध्ये २ सय वटा पिलर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिलर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बिमा ६५ वटा पिलर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै टाइबिमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामग्रीहरूको अभाव, कामदारहरूको समस्या, बर्खा र निरन्तरको झरीका बावजुत पनि रंगशालाको काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए । ‘कोरोना भाइरसका कारण देखाउँदै धेरैजसो विकास आयोजनाहरूको काम प्रभावित भएका छन्, तर यो राष्ट्रिय गौरवको परियोजनामा भने निरन्तर काम भइरहेको छ,’ कट्टेलले भने ।

२०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा बृहत् घोषणासभा आयोजना गरी रंगशाला निर्माण अभियान सुरु गरिएको हो । रंगशाला निर्माणको सामाजिक अभियानमा जोडिएर बोलकबोल भएका रकमहरू समयमै उठेको भए रंगशाला निर्माणको कार्यप्रगति अझै धेरै हुन सक्थ्यो । तर काम भएको दिनको गणना गर्ने हो भने पनि धेरै प्रगति भएको कट्टेलले जानकारी दिए ।

रंगशाला निर्माणमा अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रुपैयाँको आर्थिक स्रोत जुटेको छ । निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रुपैयाँ खर्च भएको फाउन्डेसनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए । यसो हुँदा फाउन्डेसन अझै ६ करोड ४० लाख ५२ हजार रुपैयाँ ऋणमा छ । सरकारी तवरबाट रंगशालालाई वाग्मती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीय तहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन् । रंगशाला निर्माणमा खर्च भएको ठूलो हिस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको फाउन्डेसनले जनाएको छ । रंगशालाका लागि गएको माघमा लगाइएको बृहत् धनधान्याचल महोत्सवबाट ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो ।

प्रकाशित : कार्तिक ७, २०७७ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पाको दसैंघरमा फूलपाती भित्र्याइयो

माधव अर्याल

पाल्पा — दसैंको सातौं दिन शुक्रबार पाल्पाको तानसेनस्थित ऐतिहासिक दसैंघरमा फूलपाती भित्र्याइएको छ । तत्कालीन जनरल कर्णेल उजिरसिंह थापाले दुई सय वर्षअघि स्थापना गरेको दसैंघरमा फूलपाती भित्र्याइएको हो । 

जिल्ला प्रशासन कार्यालय परिसर सिल्खान टोलस्थित दसैंघरमा भगवती सलामीसहित घटस्थापनादेखि पूजाआजा गर्ने परम्परा छ । सिलेखाना परिसरमा रहेको कोतघरमा पनि दैनिक सैनिक सलामीसहित पूजाआजा गरिन्छ । यहाँ पनि पनि फूलपाती भित्र्याइएको छ ।

प्रमुख जिल्ला अधिकारी, सैनिक, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दसैंघरबाट बाजागाजासहित फूलपाती लिन टुँडिखेलस्थित नागपोखरीमा जाने चलन छ ।

स्थानीयका अनुसार यहाँ पनि टुंडिखेलमा जस्तै बढाइँ गर्ने र सलामी दिने चलन थियो । तानसेनमा गोरखाबाटसमेत फूलपाती ल्याउने शाहवशीय परम्परा थियो । पछिल्लो केही वर्षयता भने परम्परा धान्नका लागि मात्रै दसैंघरमा पूजा गर्ने गरिएको छ । सैनिक, प्रहरी र प्रशासनले मात्रै यो परम्परा धानिरहेका छन् ।

दरबारबाट बाजा बजाउँदै असनटोल, नारायणटोल हुँदै नागपोखरीमा फूलपाती लिन जाने परम्परा भए पनि यस वर्ष कोरोनाका कारण भिडभाड गरिएन । बाजा पनि बजाइएन । तानसेन, वसन्तपुर र विभिन्न स्थानबाट संकलन गरेर ल्याइएको १० किसिमको फूलपाती पूजाआजासहित पुनः बजार परिक्रमा गरी दसैंघरमा भित्र्याउने चलन छ । जिल्लाका मुझुङ, छहरा, भुवनपोखरी, बौघागुम्हा, मस्याम, वीरकोट, जब्गादी, सिलुवा, रामपुरलगायत स्थानमा रहेका कोतघरका साथै स्थानीयका घरमा पनि फूलपाती भित्र्याइएको छ ।

प्रकाशित : कार्तिक ७, २०७७ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×