कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रोनिए नायक कि खलनायक ?

हान्सी क्रोनिए त्यस्ता नाम हुन्, जसलाई विश्व क्रिकेटले कहिल्यै बिर्सन सक्ने छैन । उनी गज्जबका खेलाडी थिए, उत्तिकै अब्बल दर्जाका कप्तान पनि । तर उनको नाम अविश्वसनीय रूपमा खेल मिलेमतोसँग जोडियो । विश्व क्रिकेटले पहिलोपल्ट थाहा पायो, यति माथिल्लोस्तरको क्रिकेटमा पनि पैसा खाएर वा खुवाएर, खेलको नतिजा आफूअनुकूल निकाल्न सकिन्छ । तर पनि सबै क्रोनिएलाई राम्रो नजरले हेर्छन् ।
रोयटर्स, एएफपी

केपटाउन — सन् २००२ को जुन १ मा हान्सी क्रोनिएले मृत्यु आत्मसात् गरेका थिए । उनी ३२ वर्षका मात्र थिए । दुःखद रूपमा उनी विमान दुर्घटनामा परे ।क्रिकेटको मैदानमा उनी अलराउन्ड थिए, केही उनलाई महान् खेलाडी पनि भन्ने गर्छन् । तर उनी विश्व क्रिकेटको त्यो कलंकसँग पनि जोडिए, जसमा खेल मिलेमतो हुन्छ । टेस्ट र एकदिवसीय क्रिकेट दुवैमा यी दक्षिण अफ्रिकी खेलाडीको प्रदर्शन औसत ३६ भन्दा माथि थियो ।

क्रोनिए नायक कि खलनायक ?

मिडियम पेसरको रूपमा उनी उत्तिकै उपयोगी पनि थिए । उनको खास परिचय भने एउटा नेताको रूपमा थियो । उनी अब्बल दर्जाका कप्तान थिए । ब्लोमफोन्टेनमा क्रोनिएको जन्म भएको हो । अस्ट्रेलियालाई छाडेर उनको नेतृत्वमा दक्षिण अफ्रिकाले लगभग सबै प्रमुख देशविरुद्ध शृंखला निकाल्न सकेको थियो । उनी ५३ टेस्टमा दक्षिण अफ्रिकी टिमका कप्तान थिए, त्यसमध्ये २७ मा ‘प्रोटियस’ विजयी रह्यो, ११ खेलमात्र गुमाएको थियो । उनको इच्छा दक्षिण अफ्रिकालाई एकदिवसीय विश्वकप दिलाउनु थियो, जुन पूरा हुन भने सकेन । अकालमै उनको ज्यान गयो । उनका साथी ग्यारी क्रिस्टनले भनेका छन्, ‘क्रोनिए मैदानमा अब्बल दर्जाका कप्तान हुन् । जतिबेला मैले दक्षिण अफ्रिकी टिममा प्रवेश पाएको थिएँ, उनी नै प्रेरणाका स्रोत थिए । उनकै कारण आत्मविश्वासी पनि भएँ । मैले उनलाई सम्मान नगर्न असम्भव थियो ।’

उनले केप्लर वेसल्सपछि दक्षिण अफ्रिकी टिमको नेतृत्व पाए र उत्तिकै अब्बल दर्जाका प्रशिक्षक तथा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने बब उल्मरसँग बलियो साझेदारी पनि बनाए । सन् १९९९ को विश्वकपमा यो जोडीको कमाल सबैले देख्न पाएको थिए । त्यस विश्वकपमा भारतविरुद्ध दक्षिण अफ्रिकाको पहिलो खेल थियो । त्यसमा क्रोनिए ‘इयर पिस’ सँगै मैदानमा उत्रेका थिए । त्यसकै मद्दतले प्रशिक्षक उल्मरसँग कुराकानी गरिरहेका हुन्थे ।

रेफ्रीले पछि उनलाई त्यो हटाउन भन्नुपरेको थियो । दक्षिण अफ्रिकी टिम सेमिफाइनलसम्म पनि पुगेको थियो, तर सेमिफाइनलबाट बाहिरिनुपरेको थियो । अस्ट्रेलियाविरुद्धको त्यो खेल ‘टाइ’ मा टुंगेको थियो ।आफ्नो मृत्युको दुई वर्षअगाडि क्रोनिएले भारतीय सट्टेबाजबाट खेलमिलेमतोका लागि घुस खाएको स्विकारे । यसले पूरा विश्व क्रिकेट स्तब्ध हुनुपरेको थियो ।

दिल्ली प्रहरी एउटा फरक घटनाको छानबिनमा थियो, एकाएक उसको हातमा त्यस्तो टेप रहेको थियो, जसले खेल मिलेमतो प्रकरण बाहिर आएको थियो । सुरुमा उनले त्यस घटनामा आफ्नो कुनै प्रकारको सहभागिता नभएको दाबी गरे, तर दक्षिण अफ्रिकामा छानबिन सुरु भएयता त्यसमा अडिग रहन सकेनन् र गलिहाले । उनले आफूले खेल मिलेमतो गर्नेबाट घूस खाएको माने ।

त्यसपछि त उनी आजीवन प्रतिबन्धमा परिहाले । उनी इसाई धर्मका परम अनुयायी थिए । गिर्जाघरमा पापको प्रायश्चित गर्ने क्रममा बाइबल छोएर भनेका थिए, ‘आफ्नो कमजोरीका कारण म मूर्ख बनें र सैतानले जस्तो काम गरें । मैले यशुबाट आफ्नो नजर हटाएँ र पूरा संसार मेरा लागि अन्धकार साबित भयो ।’ सबैको आश्चर्य के तथ्यमा थियो भने उनका सबै खेलाडी क्रोनिएको पक्षमा थिए । क्रोनिएको घटना छानबिन गर्ने क्रममा भारतका पूर्वकप्तान मोहम्मद अजहरूद्दिन मात्र होइनन्, पाकिस्तानका पूर्वकप्तान सलिम मलिक पनि आजीवन प्रतिबन्धमा परे । यस्तै अन्य धेरै खेलाडी पनि कारबाहीमा परे । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई क्रिकेट खेल स्वयंको लाज छोप्न गाह्रो भएको थियो । पछि आईसीसीले खेल मिलेमतो रोक्न विशेष कमिटी नै बनाउनुपरेको थियो ।

मिलेमतोको नालीबेली

त्यसो त पूरा घटना भएको पनि दुई दशकभन्दा बढी समय भइसकेको छ । तर हान्सी क्रोनिए प्रकरणले तरंगित विश्व क्रिकेटले त्यसको धक्का अहिलेसम्म पनि महसुस गरिरहेको छ ।

सन् २००० को सुरुआततिर क्रोनिएबाट कप्तानी छिनिएको थियो, एकपछि अर्को अविश्वसीय घटनाक्रमबीच । जनवरीमा दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको त्यो टेस्ट चलिरहेको थियो, जसको नतिजाले शृंखलामा कुनै अर्थ राख्दैन थियो ।

यस्तो किनभन्दा दक्षिण अफ्रिकाले यसअघि नै शृंखला जितिसकेको थियो । यही टेस्टको पनि सुरुआती तीन दिन पूर्णतः वासआउट भइसकेको थियो । यस्तोमा खेल खेल बराबरीमा टुंगिने निश्चित थियो । ठीक यही बेला क्रोनिएले कसैले यसअघि सोच्दै नसकेको उपाय निकाले र समकक्षी कप्तान नासिर हुसेनलाई प्रस्ताव राखे, दुवै टिमले मिलेर शून्यमै सुरुआती इनिङ्स सकेको घोषणा गर्ने ।

हुसेनले यो प्रस्ताव मानिहाले । इंग्ल्यान्डले जितका लागि २ सय ४९ रनको लक्ष्य पाएको थियो र उसले त्यसलाई ८ विकेट गुमाएर प्राप्त गर्‍यो । टेस्ट क्रिकेटका परम्परागत पण्डितलाई यो पटक्कै मनपरेन, तर केहीलाई पनि यो ठीकै पनि लाग्यो । क्रोनिएको छवि पक्का धर्म अनुयायी खेलाडीको रूपमा थियो । उनले लगाउने गरेको ‘ब्रासलेट’ मा लेखिएको थियो, ‘यशुले के गर्नेछन् ?’

त्यसको केही समयपछि नै विस्फोटक समाचार के आयो भने दिल्ली प्रहरीको हातमा त्यो ‘टेप’ परेको छ, जसमा क्रोनिए र भारतीय सट्टेबाजबीच खेल मिलेमतोलाई लिएर कुराकानी भइरहेको छ । इंग्ल्यान्डविरुद्धको त्यो शृंखलाअगाडि दक्षिण अफ्रिका भारत आएको थियो । त्यतिबेला क्रोनिएको छवि कति धेरै बलियो थियो भने कसैले पनि यो समाचार विश्वास गरेनन्, सबै खाली स्तब्धमात्रै थिए ।

त्यतिबेला दक्षिण अफ्रिकी टिमका कार्यकारी निर्देशक थिए अली बाकर । उनलाई पनि पूरा घटनाक्रमप्रति फिटिक्कै विश्वास थिएन । क्रोनिएले यस्तो गर्न सक्छन् भन्नेमै थिए, उनी पनि । फ्रान्सेली समाचार संस्था (एएफपी) को नयाँदिल्ली कार्यालयले त्यो समाचारलाई ‘ब्रेक’ गरेको थियो । क्रिकेट पत्रकार थिए, कुलदीप लाल । दिल्ली प्रहरीले पूरा घटनालाई लिएर पत्रकार सम्मेलन गरेको थियो ।

बाकरले आफैंले कुलदीपलाई फोन गरे र दक्षिण अफ्रिकी क्रिकेटको छवि नबिगार्न धम्की दिएका थिए । कुलदीपले पनि सोचेका रहेछन्, ‘यदि यो समाचार गलत साबित भयो भने अर्कै काम खोज्नुपर्नेछ ।’ बाकर ती पत्रकारलाई मोटो रकम दाबी गरेर कानुनी प्रक्रिया सुरु गर्ने बताइरहेका थिए । त्यसको केही दिनपछि नै क्रोनिए गल्न थाले र कम्तीमा आंशिक रूपमा एएफपीको दिल्ली ब्युरोले राहत महसुस गरेको थियो ।

पछि बाकर आफैंले दोहोर्‍याएर फोन गरे र आफ्नो धम्कीप्रति माफी मागे । झन् पछि गएर क्रोनिएले खेल मिलेमतोको आरोप स्विकारे । दक्षिण अफ्रिकामा घटनाक्रमबारे छानबिन गर्न ‘किंग्स कमिसन’ गठन भएको थियो । यसैक्रममा कतिसम्मको तथ्य बाहिर आएको थियो भने क्रोनिएले आफ्नो टिमका लागि कमजोर खेल्न हर्सल गिब्स र हेनरी विलियम्सलाई घूसको प्रस्तावसमेत राखेका थिए । क्रोनिए आफैंले सट्टेबाजबाट हजारौं डलर पाए । इंल्यान्डविरुद्ध सेन्चुरीमा भएको त्यो टेस्टमा स्पष्ट नतिजा निकाल्ने कामबापत क्रोनिएले त्यही बेला ६ हजार डलर पाएका थिए, सँगै उत्तिकै महँगो छालाको एउटा ज्याकेट पनि । क्रोनिए आजीवन प्रतिबन्धमा परिहाले । तर न त उनका साथी खेलाडीले उनको कहिल्यै ठूलो स्वरले आलोचना गरेको पाइयो, न त दक्षिण अफ्रिकी क्रिकेट मन पराउने माझ उनको छवि कमजोर रह्यो ।

क्रोनिएबाट पैसा खाएर खराब खेल्न प्रस्ताव पाउनेमध्ये एक थिए, ड्यारल कलिनन । उनलाई खराब खेलेर दक्षिण अफ्रिकालाई हराउन भनिएको थियो । यस्तो गरेको भए पूरा टिमले पाउने थियो, २ लाख ५० हजार डलर । कलिननले यो प्रस्ताव स्विकार गरेनन्, तर उनी अहिले पनि के भन्ने गर्छन् भने ‘क्रोनिए वास्तवमै राम्रा खेलाडी थिए, अझ यो भन्दा पनि राम्रा कप्तान ।’

प्रकाशित : जेष्ठ २३, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?