कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वान डे क्रिकेटले पुनर्जीवन पाएको वर्ष

हिमेश

क्रिकेटलाई त्यसै पनि अनिश्चितताको खेल भनिन्छ । यो खेल कतिसम्म अनिश्चित हुन सक्छ त ? विश्व खेलकुदले वर्ष २०१९ लाई सम्झिने एउटा राम्रो बहाना बनेको छ, इंग्ल्यान्डमा भएको वान डे विश्वकप ।

वान डे क्रिकेटले पुनर्जीवन पाएको वर्ष

यस प्रतियोगिता अगाडि भन्न सुरु भइसकेको थियो, अब वान डे क्रिकेटको भविष्य छैन । कि त टेस्ट नै ठीक, होइन भने ट्वान्टी ट्वान्टी क्रिकेट राम्रो । यो ५० ओभरको क्रिकेटको अब कुनै अर्थ छैन । अब क्रिकेटको यो स्वरूप ढिलो चाँडो मर्नेछ ।

जति बेला विश्वकप टुंगियो, तिनै आलोचकले भने, ओहो, यो वान डे क्रिकेट त कति मज्जाको रहेछ । त्यसमाथि इंग्ल्यान्ड र न्युजिल्यान्डबीच लर्ड्समा भएको त्यो फाइनल । निर्धारित ५० ओभरको खेल सकिँदा दुवै टिम २ सय ४१ रनको स्थितिमा थिए, त्यसको अर्थ खेल टाइ भएको थियो । त्यसपछि सुपर ओभरको पालो आयो, त्यसमा पनि टाइ । त्यस ओभरको अन्तिम ओभरमा मार्टिन गुपटिल रनआउट भए र विश्वकपको उपाधि नाटकीय ढंगले इंग्ल्यान्डको नाममा रह्यो ।

फाइनल पछि धेरैले माने, त्यतिको उचारचढावपूर्ण क्रिकेट अहिलेसम्म कसैले हेरेको थिएन । यो खेल धेरै चौका छक्का प्रहार गरेको आधारमा इंग्ल्यान्डले जित्यो, तर न्युजिल्यान्डले पनि यो खेल हारेन । यो विश्वकपलाई धेरै पछाडिसम्म सम्झिने काम हुनेछ । यो विश्वकपलाई छाडेर वर्ष २०१९ एक प्रकारले फुटबलको हालीमुहाली चलेको अवसर रह्यो । पूरा वर्ष फुटबलमय रह्यो भन्दा पनि हुन्छ । वर्ष २०१९ ले एसियाली महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता पनि देख्न पायो र यो पनि उत्तिकै नाटकीय रह्यो ।

तर विश्व क्रिकेटको त्यो फाइनल जति अनिश्चित भने होइन । यूएईले १७ औं संस्कणको एसिया कप आयोजना गरेको थियो, खाडी क्षेत्रमा भइरहेको राजनीतिक तनावबीच । यूएईकै सक्रियतामा भन्दा हुन्छ, त्यस क्षेत्रका केही देशले कतारमाथि नाकाबन्दीसहित कुटनीतिक बहिस्कार चलाइरहेको । तर त्यही देशमा भएको विश्वकपमा विजेता रह्यो, कतार । अबको दुई वर्षमा विश्वकप आयोजना गर्ने देशले आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता चुमेको थियो, शत्रु देशको भूमिमा ।

फाइनलमा कतारले जापानलाई हराएको थियो । अनि सेमिफाइनलमा यूएईलाई नै । अझ लिग चरणमा यूएईले साउदी अरेबियालाई पनि हराएको थियो । वर्ष २०१९ मा महिलाको विश्वकप पनि आयोजना भयो र त्यसको उपाधि जित्यो, फेरि एकपल्ट अमेरिकाले । पुरुष फुटबलमा खासै राम्रो गर्न नसके पनि महिला फुटबलमा भने अमेरिकाको दबदबा चलेको धेरै वर्ष भइसकेको छ र यसपल्टको पनि विश्वकप जितेर अमेरिकाले देखाएको छ, आफू कति बलियो छ भनेर ।

फाइनलमा अमेरिकाले नेदरल्यान्ड्सलाई हराएको थियो २-० ले । पूरा प्रतियोगिता युरोपेली देशले राम्रो खेले, तर ती सबै देशको पनि अमेरिकासामू केही पनि चलेन । यसै वर्ष अफ्रिकी कप अफ नेसन्स पनि भयो र अफ्रिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि अल्जेरियाले हात पार्‍यो ।

युरोपेली क्लब फुटबलमा लिभरपुलको पुनर्उदयको वर्षका रूपमा पनि रह्यो, वर्ष २०१९ । कुनै समय इंग्लिस फुटबलको महाशक्ति रहेको लिभरपुल पछिल्लो समय चुपचाप जस्तै थियो ।

तर घरेलु फुटबलमा उत्तिकै राम्रो खेलिरहेको लिभरपुलले म्याड्रिडमा भएको फाइनलमा टोटनहमलाई हरायो र छैटौं पल्ट युरोपेली च्याम्पियन बन्यो ।

पछिल्लो समय इंग्ल्यान्डको फुटबल समीकरण फेरिएको छ र यसको पूरा प्रभाव युरोपेली क्लब फुटबलमा पनि परेको छ । क्रिकेट र फुटबललाई छाडेर यो वर्षको सबैभन्दा ठूलो खेल अवसर रह्यो, म्याराथनको । केही वर्ष अगाडिसम्म पनि वैज्ञानिकको दाबी थियो, मानिसले कहिले पनि ४२.१५ किलोमिटरको दौड दुई घन्टा भन्दा कम समयमा सकाउन सक्ने छैन् ।


केन्याली धावक इलियुड किपचोगेले वर्ष २०१९ मै ती वैज्ञानिको दाबीलाई गलत सावित गरिदिए । अस्ट्रियाको भियनामा आयोजना भएको विशेष म्याराथन दौड उनले पहिलो पल्ट दुई घन्टा कम समयमा पूरा गरे । ठ्याक्कै निस्केको समय थियो, १ घन्टा ५९ मिनेट र ४०.२ सेकेन्ड । मानवीय इतिहासमै यो दौडलाई ठूलो ऐतिहासिक घटनाका रूपमा लिइएको छ । विज्ञानको अत्याधिक विकासका कारण खेलकुदको क्षेत्रमा मानिसको प्रदर्शन अझ उच्च हुने विश्वास छ ।


यी त भए, सबै अन्तर्राष्ट्रिय खेलकुदका प्रमुख घटनाक्रम, हाम्रो आफ्नो दृष्टिकोणले । वर्ष २०१९ मा नेपाल आफैं पनि साक्षी बन्यो, आफ्नो इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवको । हुने/नहुने, भए पनि कसरी हुने अन्यौलताबीच नेपालले १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना गर्‍यो र यो धेरै हदसम्म सफल पनि रह्यो ।

दक्षिण एसियाली देशको सबैभन्दा ठूलो खेल महोत्सवमा नेपालको व्यवस्थापन पक्ष पक्कै कमजोर रह्यो, तर खेलाडीले मैदानमा भने राम्रो प्रदर्शन गरे । नेपाल ५१ स्वर्ण जित्न सफल रह्यो ।

प्रकाशित : पुस १५, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?