कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीबीएल : मेलबर्न स्टार्स विजयी, सन्दीपलाई समर्थन गर्न मैदानमा नेपाली

नारायण खड्का

अष्ट्रेलिया — सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग–बास क्रिकेटमा विजयी सुरुआत गरेको छ । उनको टोलीले ब्रिसबेन हिटलाई २२ रनले पराजित गर्‍यो । अस्ट्रेलियामा तीन दिनअघि सुरु घरेलु क्रिकेट प्रतियोगितामा स्टार्सको यो पहिलो खेल थियो । 

बीबीएल : मेलबर्न स्टार्स विजयी, सन्दीपलाई समर्थन गर्न मैदानमा नेपाली

महत्त्वपूर्ण एक विकेट लिए पनि सन्दीपले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चन पुगे । गत वर्ष स्टार्सलाई बिग–बासमा उपविजेता बनाउन प्रमुख भूमिका खेलेका सन्दीप केही दिनअघि मात्र अस्ट्रेलिया आइपुगेका थिए । टिमको महत्त्वपूर्ण सदस्यका रूपमा खेल प्रदर्शन गरेका उनले शुक्रबार पनि राम्रो सुरुआत गरे ।


ब्रिसबनस्थित मेट्रिकोन स्टेडियममा घरेलु टिम ब्रिसबेन हिटसँग स्टार्सले टस हारेर ब्याटिङ निम्तो पायो । निर्धारित २० ओभरमा ७ विकेट गुमाई स्टार्सले १ सय ६७ रन बनायो । कप्तान ग्लेन म्याक्सवेलले ८३ रन बनाए । घरेलु टोलीले ८ विकेट गुमाई १ सय ४५ रनमात्र बनाउन सक्यो । स्टार्सका एडम जाम्पाले ३ तथा डानियल वारेल र पाकिस्तानी बलर ह्यारिस रौफले २–२ विकेट लिए ।



वारेलसँगै ओपनिङ बलिङमा आएका सन्दीपको पहिलो ओभर महँगो साबित भए पनि उनले आफ्नो खेल नियन्त्रणमा लिन सफल भए । पहिलो ओभरमा १५ रन दिएका सन्दीपले बेन कटिङलाई आउट गरे । अस्ट्रेलियाली घरेलु क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीपको प्रदर्शनलाई अस्ट्रेलियाका समीक्षक तथा खेलाडीले उच्च प्रशंसा गर्ने गरेका छन् । स्टार्सले अर्को खेल आइतबार होबार्ट हुरिकेन्ससँग खेल्नेछ ।



सन्दीपलाई समर्थन गर्न मैदानमा राष्ट्रिय झण्डासहित दर्जनौं नेपाली पुगेका थिए । उनीहरूले सन्दीपको पक्षमा हुटिङ गर्दै प्रोत्साहन दिएका थिए । समर्थन जनाउन गोल्डकोस्टबाट पुगेका सुमन थापाले नेपाली भएर मात्र नभई राम्रो खेलाडी भएकाले सन्दीपको समर्थन गर्न आएको बताए ।


‘अस्ट्रेलियाजस्तो देशमा नेपालको कुनै युवा खेलाडी आएर बिग–बास लिग खेलिरहेकाले उसलाई समर्थन र हौसला दिन हामी समूहमा आएका हौं,’ एक दर्जन साथीसहित खेल हेरिरहेका उनले भने ।

प्रकाशित : पुस ५, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?