कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमाथि वेस्ट इन्डिजको अग्रता

(एएफपी)

चेन्नई — सिमरोन हेटमरले आफ्नो खेल जीवनको उच्च १ सय ३९ रन बनाएपछि वेस्ट इन्डिजले आइतबार भारतलाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा ८ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले टस जितेपछि ब्याटिङमा आएको भारतले ८ विकेट गुमाई २ सय ८७ रन बनायो ।

हेटमरले साई होपसँग दोस्रो विकेटमा २ सय १८ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजले ४७.५ ओभरमा लक्ष्य पूरा गरी तीन खेलको शृंखलामा अग्रता लिएको हो । १ सय ६ बल खेली ११ चौका र ७ छक्का प्रहार गरेका हेटमरलाई मोहम्मद सामीले आउट गरे । होप १ सय २ रन बनाई अविजित रहे । १ सय ५१ बलको इनिङ्समा उनले ७ चौका र १ छक्का प्रहार गरे ।


हेटमर आउट भएपछि आएका निकोलस पुरन २३ बलमा ४ चौका प्रहार गरी २९ रनमा अविजित रहे । सुनिल अम्ब्रिस ९ रन बनाई दीपक चाहरको बलमा आउट भएका थिए ।


यसअघि भारतबाट रिशभ पन्तले ७१ र श्रेयस आयरले ७० रन बनाएका थिए । त्यस्तै केदार जादव ४० र रोहित शर्मा ३६ रनमा आउट भए । वेस्ट इन्डिजका शेल्डन कोट्रेल, किमो पाउल र अल्जारी जोसेफले २–२ विकेट लिए ।


अस्ट्रेलिया ठूलो अन्तरले विजयी

पर्थ– अस्ट्रेलियाले पहिलो टेस्टको चौथो दिन आइतबार न्युजिल्यान्डमाथि ठूलो अन्तरको जित निकालेको छ र कप्तान टिम पेनले आफ्नो टिमको प्रदर्शनको प्रशंसा गरेका छन् । पहिलो इनिङ्समा २ सय ५० रनले पछाडि परेको न्युजिल्यान्डले जितका लागि ४ सय ६८ रनको लक्ष्य पाएको थियो । पाहुना टिमले त्यसलाई पछ्याएको भए विश्व कीर्तिमान पनि बन्ने थियो । अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्स नौ विकेट गुमाएर २ सय १७ रनमा टुंगेको घोषणा गरेको थियो । तर न्युजिल्यान्डले छ रन मात्र बनाउँदा पहिलो विकेट गुमाएको थियो र त्यसयता कुनै पनि बेला जिततर्फ अग्रसर देखिएन । माइकल स्टार्क र प्याट कमिन्सले पर्थमा भएको पहिलो डे नाइट टेस्टलाई पाँचौं दिन पुग्न दिएनन् ।


न्युजिल्यान्ड १ सय ७१ रन बनाएर अलआउट भयो र २ सय ९६ रनले पराजित रह्यो । उसका अन्तिम पाँच विकेट १७ रनमा गुमेको थियो । दुवै टिमले दुईपल्ट ब्याटिङ गरेको टेस्टमा यो अस्ट्रेलियाको दोस्रो ठूलो अन्तरको जित हो । इनिङ्स अन्तरको जितबाहेक अस्ट्रेलियाले न्युजिल्यान्डलाई अकल्यान्डमा सन् १९७४ मा २ सय ९७ रनले हराएको थियो । यसपल्टको जित रच्न स्टार्कले ४५ रन खर्चेर चार विकेट लिए । यस्तै कमिन्सले ३१ रन मात्र खर्चेर दुई विकेट हात पारे । पिन्क बलअगाडि न्युजिल्यान्डका कोही पनि विशेषज्ञ ब्याट्सम्यान राम्रोसँग खेल्न सकेनन् र धराशयीको सिकार भए । कप्तान पेनले टिमको जितमा आफ्नो बलरको सटीक प्रदर्शन मुख्य जिम्मेवार रहेको बताए । उनले भने, ‘दुई अवसरमा हाम्रो बलरले राम्रो खेले । यो टिमको सामूहिक प्रयास हो र जुन प्रकारको जित हामीले निकाल्न सक्यौं, त्यसमा हामी खुसी छौं ।’ न्युजिल्यान्डका कप्तान केन विलियम्सले टिमको हारपछाडि पिन्क बलमा खेल्न नपाएको कारण नरहेको बताए ।


खराब मौसम

रावलपिन्डी– खराब मौसमको सिकार बनेको पाकिस्तान र श्रीलंकाबीचको टेस्ट आइतबार निराशाजनक बराबरीमा टुंगेको छ । सन् २००९ को आतंककारी आक्रमणपछि पाकिस्तानमा पहिलोपल्ट टेस्ट क्रिकेट फर्केको थियो । पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा दुई विकेट गुमाएर २ सय ५२ रन बनाए । यसअघि श्रीलंकाले छ विकेटमा ३ सय ८ रन बनाएको थियो ।


प्रकाशित : मंसिर ३०, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?