कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेट मैदानको काम धमाधम

रमेशकुमार पौडेल

(चितवन) — धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले रंगशाला बनाउँदै छ । 

क्रिकेट मैदानको काम धमाधम

रंगशाला निर्माणका लागि गत वर्षको माघ १६ मा भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सहमति भएको थियो । रंगशालाको लागत झण्डै तीन अर्ब रुपैयाँ छ । यसअघि भुकम्प प्रभावितहरूका लागि नमुना वस्तीहरू निर्माणको अनुभव बटुलेको फाउण्डेशनले देश विदेशका नेपालीहरूले दिने सहयोगबाट रंगशाला बनाउने महत्वकाक्षी योजना अगाडी सारेको हो । डिपिआर बनेको दुई वर्षभित्र रंगशाला निर्माण सक्ने योजना छ ।


गएको कात्तिक ६ गते विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक भएको थियो । लगत्तै मैदान निर्माणको काममा संलग्न भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले बताए । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ७० मिटर ब्यास भएको क्रिकेट मैदान तयार हुँदैछ । ‘मैदानको क्षेत्र सम्याउने, पुर्ने काम गरेका छौं । ड्रेनको काम पनि अगाडी बढेको छ’ कट्टेलले भने ।


इन्जिनियर राजेश थापा मगरले यो कामको रेखदेख गरेका छन् । ‘दुबो राख्ने र पीच बनाउने कामपछि हुन्छ । त्यसको लागि चाहिने संरचनाको काम हामीले गरी रहेका छौं । झण्डै ४० प्रतिशत प्रगति भएको छ,’ इन्जिनियर थापा मगरले भने । झन्डै २० दिनमा यति काम भएको उनले बताए । मैदानको काममा बिहान ६ बजेदेखि रातिसम्म खट्ने गरेको कट्टेलले बताए ।


फाउन्डेसनले काम सुरु गरेपछि गत जेठमा स्थानीयबीच विवाद हुँदा निर्माण क्षेत्रमा लगाएको जस्ताको अस्थायी बार डोजर चलाएर स्थानीयले भत्काइदिएका थिए । त्यसपछि रंगशाला निर्माण हुने वा नहुने भन्ने बारेमा अन्यौल छाएको थियो । यो घटनापछि आर्थिक संकलन अभियान पनि राम्रोसँग चल्न सकेको छैन । चितवनका स्थानीय तहले रंगशाला निर्माणमा जुट्ने प्रतिवद्धता देखाएपछि फाउन्डेसन साउनदेखि काममा फर्केको थियो ।


फाउन्डेसन अहिले मैदान निर्माणमा केन्द्रित भएको छ । त्यसपछि प्याराफिट राख्ने संरचना बनाउने र अन्य कामहरूमा लाग्ने योजना छ । फाउन्डेसनले काम सुरु गरे पनि आर्थिक स्रोतको भने अभाव खड्केको छ । तीन अर्बको योजनाका लागि अहिलेसम्म ६ करोड रुपैयाँको हाराहारीमा मात्रै सहयोग घोषणा भएको छ । फाउण्डेशनका अनुसार रकम भने त्योभन्दा पनि कम प्राप्त भएको छ ।


निर्माण परिसरमै नमुना मैदान

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलभित्रै फाउन्डेशनले नमुना क्रिकेट मैदान निर्माण गरेको छ । निर्माण पूरा भएका कारण शुक्रबारदेखि खेल सुरु भएको छ । रामपुरमा रहेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका छटौं र सातौं ब्याचका विद्यार्थीबीच ट्वान्टी–२० क्रिकेट प्रतियोगिता नै सम्पन्न भयो । जिल्लामा आयोजना हुने क्रिकेट प्रतियोगिता यही मैदानमा गर्ने योजना बनाएको कट्टेलले बताए ।


‘चितवनमा यो जस्तो राम्रो क्रिकेट मैदान अन्यत्र सायदै होला । हामीले जिल्लामा पनि खेल हुने छन् अब यही खेलाउने तयारी गर्दैछौं,’ कट्टेलले भने । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तयार हुँदै गरेको क्रिकेट मैदानभन्दा उत्तर तर्फ नमुना क्रिकेट मैदान छ । गुरुयोजना अनुसार रंगशालाको पार्किङ क्षेत्रमा अहिले नमुना मैदान रहने छ । रंगशाला तयार हुँदै जाँदा त्यो क्षेत्र पार्किङकै लागि प्रयोग हुनेछ ।

प्रकाशित : मंसिर १४, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?