कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहलाई पत्तै नदिई सुरक्षा समितिमा आईजीपी

काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) सुरक्षा समितिको अध्यक्षमा बसेपछि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसँग गृह मन्त्रालय असन्तुष्ट बनेको छ । साग सुरक्षा योजनाबारे छलफल गर्न बसेको बैठकमा आईजीपी खनाल नेतृत्वको समिति सम्बन्धित मन्त्रालयलाई जानकारी नै नदिई गठन भएको भन्दै गृहले असन्तुष्टि जनाएको हो ।

गृहलाई पत्तै नदिई सुरक्षा समितिमा आईजीपी

गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा बिहीबार साग सुरक्षा कार्ययोजनाबारे छलफल भएको थियो । ‘युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट आइजीपीको नेतृत्वमा सुरक्षा समिति गठन भएको रहेछ, यस विषयमा मन्त्रालयलाई जानकारी नै दिइएन,’ स्रोतले भन्यो, ‘सुरक्षा रणनीति तय गर्ने मन्त्रालयलाई बाइपास गरेर आईजीपीको नेतृत्वमा समिति गठन गर्नु उचित होइन ।’


गृहलाई केही दिनअघि मात्रै आईजीपीको नेतृत्वमा सुरक्षा समिति गठन भएकोबारे औपचारिक जानकारी गराइएको स्रोतको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले गृह मन्त्रालय वा आईजीपीको नेतृत्वमा रहेको समिति जसले भए पनि भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसमा ‘डुप्लिकेसन’ हुन नहुने बताए । साग सुरक्षाबारे केही दिनभित्रै रणनीति तय भइसक्ने उनले बताए ।


प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति, खेलकुदमन्त्रीको अध्यक्षतामा कार्यकारी समितिसहित विभिन्न १५ विषयगत समिति गठन गरिएको छ । विषयगत समितिमध्ये सुरक्षा समितिको नेतृत्व आईजीपी खनाललाई दिइएको छ ।


मंसिर १५ देखि २४ सम्म दक्षिण एसियाका ७ मुलुकका खेलाडीले भाग लिने खेलमेला १३ औं साग नेपालमा आयोजना हुँदै छ । काठमाडौं, ललितपुर, कास्की र धनुषामा हुने खेलकुदमा सार्कका करिब ४ हजार खेलाडी सहभागी हुने अनुमान छ ।


गृहमन्त्री थापाले खेलकुदको सुरक्षा मुलुककै प्रतिष्ठासग जोडिएकोले चुस्त र प्रभावकारी कार्ययोजना लागू गर्न मातहत निकायलाई निर्देशन दिएका थिए । सागमा काठमाडौंमा १२, ललितपुर र कास्कीमा ९–९ र धनुषामा कुस्ती एक खेल आयोजना हुनेछ ।


प्रकाशित : मंसिर ६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?