कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेरिँदो स्वरुपमा पोखरा रंगशाला

दीपक परियार

(पोखरा) — ड्राइभिङ प्रशिक्षण केन्द्रका थोत्रा गाडी र मोटरसाइकल अचेल पोखरा रंगशालाभित्र देखिँदैनन् । आर्किटेकको डिजाइनमा तयार भएको भव्य गेटबाट छिर्नेबित्तिकै देखिन्छन्, कालोपत्रे सडक, हुर्कंदै गरेका हरिया रुख र भव्य कभर्डहल । नाला खनिरहेका मजदुर, मैदान सम्याइरहेका डोजरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी झल्काउँछ । सागसँगै पोखराले पाउँदैछ सुविधासम्पन्न रंगशाला ।

फेरिँदो स्वरुपमा पोखरा रंगशाला

४ सय १७ रोपनीमा फैलिएको रंगशाला देशकै ठूलो हो । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले २०३१ सालमै रंगशालालाई जग्गा अधिग्रहण गरे । पूर्वाधार भने ९ वर्षपछि मात्रै बन्न सुरु गर्‍यो । २०४० चैत १२ देखि २० सम्म पोखरामा दोस्रो राष्ट्रिय खेलकुद आयोजना हुँदा केही पूर्वाधार बने । भीआईपी प्यारापिटसहितको फुटबल स्टेडियम, कभर्डहल, क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिको कार्यालय त्यतिखेर बने । मुलुकमा संक्रमणकाल लम्बिँदाको असर पोखरा रंगशालामा पनि पर्‍यो । पूर्वाधार निर्माण ठप्प भयो । सागसँगै पुन: पूर्वाधार निर्माणले गति लिएको हो । जग्गा अधिग्रहण भए पनि रंगशाला गौचरनको रूपमा थियो । रंगशालामा पर्खाल नहुँदा अतिक्रमणको चपेटामा पर्ने खतरा उत्तिकै थियो । ०५६ मा राखेप सदस्य–सचिव भएका पोखराकै विनोदशंकर पालिखेले मुआब्जा बाँडे । १ सय रोपनीजतिको मुआब्जा भने जग्गाधनीले अझै बुझेका छैनन् । जग्गाको समयसापेक्ष मूल्यांकन गरी मुआब्जा दिनुपर्ने उनीहरूको माग छ । यद्यपि संरचना बनाउन उनीहरूले कुनै रोकटोक गरेका छैनन् ।


२०५८ सालतिर भूतपूर्व खेलाडीहरू संगठित भए । उनीहरूले स्थापना गरेको भूतपूर्व खेलाडी मञ्चले रंगशाला संरक्षण गर्ने उपायको खोजी थाल्यो । २०६१ मा डा. वीरेन्द्रसिंह गुरुङको संयोजकत्वमा पोखरा रंगशाला पर्खाल निर्माण समिति बन्यो । ‘त्यो बेला जग्गा खुला थियो, अतिक्रमण पनि भएको थियो,’ गुरुङले सम्झिए ‘सबैको सहयोगले पर्खाल बनाउन सकिन्छ भन्ने सोचियो र सहयोग माग्न थालियो ।’ उनले भनेजस्तै ९ सदस्यीय समितिले २०६१ असोजदेखि काम थाल्यो । इन्जिनियरले ३ हजार ५ सय ३५ फिट लामो, ६ फिट चौडाइ र काँडेतारसहित १२ फिट उचाइको पर्खाल बनाउन झन्डै ९० लाख रुपैयाँ लाग्ने सुनाए । त्यतिबेला ९० लाख चन्दा उठाउनु फलामको च्यूरा चपाएजस्तै रहेको निर्माण समितिका कोषाध्यक्ष वसन्त थकाली सम्झिन्छन् । ‘तर त आँट, म पुर्‍याउँछु भनेजस्तो भयो,’ उनले भने, ‘हामीले पर्खाल शिलान्यास गरेको खबर देश–विदेश पुगेपछि उहाँहरूले सदाशयता देखाउन थाल्नुभयो ।’


कभर्डहल


२०६१ माघमा भएको शिलान्याससँगै विदेशमा रहेका पोखरेलीले सहयोगको वचन दिन थाले । बेलायतमा बस्ने पोखरेलीले भेला नै गरेर सूर्य गुरुङको संयोजकत्वमा पर्खाल निर्माण अर्थ संकलन उपसमिति यूके गठन गरी सहयोग जुटाउने काम थाले । उनको संयोजकत्वमा गठित समितिले ४८ लाख ८१ हजार ७ सय ३५ रुपैयाँ जम्मा गर्‍यो । भूतपूर्व खेलाडी मञ्च पोखराका वर्तमान अध्यक्ष तेज गुरुङ यूकेबाट आएको उक्त सहयोग नै अहिले देखिएको रंगशालाको पर्खालको जग भएको बताउँछन् । लागत अनुमान झन्डै ८० लाख भए पनि करिब ५७ लाख रुपैयाँमा पर्खाल र प्रवेशद्वार बन्यो । सहयोग रकम बढ्दै गयो । पोखरामै रहेका विभिन्न संघसंस्था तथा व्यक्तिले पनि सहयोग दिए । पोखराबाट मात्रै २ सय ५ संघसंस्था तथा व्यक्तिबाट ४८ लाख ८१ हजार ७ सय ३५ रुपैयाँ संकलन भयो । विदेशबाट ५३ लाख ३६ हजार तथा नेपालबाट ४९ हजार ५५ हजार ८ सय ५२ रुपैयाँ गरी जम्मा १ करोड २९ लाख ९१ हजार ८ सय ८१ रुपैयाँ जम्मा हुनपुग्यो ।


हौसिएको पर्खाल निर्माण समितिले पोखरा रंगशालामा १५ लाख ४८ हजारको लागतमा मर्निङ वाक ट्र्याक, ६६ हजारको लागतमा वृक्षरोपण, १२ लाख ३१ हजारको लागतमा खानेपानी बोरिङ तथा दानवीरको योगदान स्मरणीय बनाउन ४ लाख ९० हजारको लागतमा शिलालेखसहित डोनर्स पार्कको निर्माण पनि गर्‍यो ।



पूर्वाधार निर्माणमा ‘ब्रेक थ्रु’

रंगशालाको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गर्छ । राखेप गठनपछि २०५२ मा विकास समितिको पहिलो अध्यक्षको रुपमा आए प्रकाशबहादुर गुरुङ । उनीपछि हितकाजी गुरुङ, फणिन्द्र धिताल, मेजर दीपक गुरुङ, कमल पंगेनी, मोहन रेग्मी, सुनीलकुमार दुबे अध्यक्ष भए । ०६८ मा दीपक कोइराला अध्यक्ष सम्हाल्न आए । २०४० पछि नै नयाँ संरचना नबनेको अवस्थामा उनको पालादेखि भने पूर्वाधार निर्माणमा ‘ब्रेक थ्रु’ नै भयो । फुटबल चेन्जिङ रुम, सेमिकभर्डहल बन्यो । बहुउद्देश्यीय कभर्डहलको निर्माण सुरु भयो । आर्चरीको केन्द्रीय प्रशिक्षण केन्द्र पोखरा रंगशालामै बन्यो । टेनिस कोर्ट बनाउन जग्गा उपलब्ध भयो ।


२०७२ को भूकम्पले रंगशालाका जीर्ण संरचनामा क्षति पुर्‍यायो । कोइरालापछि आएका अध्यक्ष खगराज पौडेलले संरचना पुनर्निर्माण र नयाँ निर्माणलाई गति दिए । राष्ट्रिय खेलकुद परिषद्ले ०७२ को भूकम्पपछि पोखरा रंगशालाभित्र पूर्वाधार निर्माणमा डेढ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । भूकम्पपछि केही पूर्वाधार पुनर्निर्माण गरिए । केही नयाँ संरचना नै ठडियो । दीपक कोइराला अध्यक्ष हुँदा निर्माण सुरु भएको बहुउद्देश्यीय कभर्डहल भूकम्प गएको डेढ वर्षपछि मात्रै तयार भयो । उक्त कभर्डहल बनाउन १५ करोड ५७ लाख रुपैयाँ खर्च भयो । नयाँ फुटबल मैदान बनाउन जीर्ण प्यारापिट भत्काइयो ।


सागकै चटारो

सागअन्तर्गत रंगशालाभित्र महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ब्याडमिन्टन र ह्यान्डबल हुँदै छन् । यी सबैका पूर्वाधार निर्माण सम्पन्न हुने क्रममा छन् । रंगाशालाभित्र चौरतिर सडक सञ्जाल विस्तार गरिँदै छ । राखेप बोर्ड सदस्य एवं सागका खेल तथा मैदान व्यवस्थापन उपसमिति संयोजक राजेशकुमार गुरुङका अनुसार रंगशालाभित्र सडकबत्ती र सीसीटीभी क्यामेरा जडान हुँदै छ ।


पोखरा रंगशालाभित्र ब्याडमिन्टन कभर्डहल निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ । राखेपले १ करोड ७० लाख रुपैयाँ कभर्डहललाई उपलब्ध गराएको थियो । ‘चारवटा कोर्टसहितको हल निर्माण अन्तिम चरणमा छ,’ कास्की जिल्ला ब्याडमिन्टन संघका सचिव दुर्गा जोजिजूले भने, ‘यसैलाई निर्माण सम्पन्न गरेर प्रतियोगिता चलाउँछौं ।’ सागअन्तर्गत हुने आर्चरीको केन्द्रीय प्रशिक्षण केन्द्र पोखरा रंगशालाभित्रै छ । आर्चरीको मैदानसहित पूर्वाधार बनाउन परिषद्ले हालसम्म २ करोड १६ लाख रुपैयाँ खर्चेको छ । मैदान, भवन, टार्गेट हान्न बनाइएको ट्रसलगायत बनाउन विभिन्न समयमा गरी उक्त रकम उपलब्ध गराइएको हो ।


कास्की आर्चरी संघका अध्यक्ष योगेन्द्र शेचरनले पहिलो बजेटले कम्पाउन्ड वाल र तारजाली लगाएको बताए । ‘जमिन सम्याउने, नाली निर्माण गरिएको छ,’ उनले भने, ‘यसअघि नै आर्चरीको भवन र टार्गेट हान्ने ट्रस निर्माण भइसकेको थियो ।’ सागको अर्को भेन्यु हो, पोखरा रगशालाभित्रैको क्रिकेट मैदान । महिला क्रिकेट गर्ने जिम्मेवारी पोखरालाई छ । क्रिकेट मैदानका लागि राखेपले माटो भर्ने, पानीको पाइप बिछ्याउनेलगायत काम भइरहेको छ । मैदानका लागि चालु आर्थिक वर्षमा संघ सरकारले ३ करोड र प्रदेश सरकारले २ करोड रुपैयाँ छुट्याएको छ । यद्यपि उक्त रकम निकासा भएको छैन । सागमा मोबाइल ट्वाइलेट प्रयोग गरिने छ । रंगशालाभित्र ह्यान्डबल कोर्ट पुनर्निर्माणको चरणमा छ । ९० लाखमा बनाइएको संरचना फेरि मर्मत सम्भार गरिएको हो । आउटडोर म्याट राखेर निर्माणको चरणमा छ । त्यसका लागि ५० लाख रुपैयाँ अहिले खर्च गरिँदै छ ।


पूर्वनिर्धारित खेलमध्ये महिला फुटबल पोखरा रंगशालामै हुनेमा भने आशंका छ । रंगशालाभित्रकै सबैभन्दा ठूलो पूर्वाधारको रूपमा रहेको प्यारापिटसहितको फुटबल मैदान अझै तयार भएको छैन । निर्माण कम्पनीले भने २० हजार दर्शक क्षमतामध्ये १० हजार तयार गर्ने वचन दोहोर्‍याउँदै आएको छ । ग्रान्ड स्ट्यान्ड प्रविधिको स्टिल मोड्युलर प्यारापिट जोड्न सुरु गरिए पनि साग अघि सकिने निश्चित छैन । भारतबाट लामो समय लगाएर दुबो ल्याइँदा बाटोमै मरेपछि रंगशालामा पनि दुब्रो उम्रिएन । दुबो फेर्ने काम धमाधम भइरहे पनि खेल हुने अवधिसम्म मैदानमा पूरै ‘सेट’ नहुने चिन्ता छ । १ अर्ब २८ करोड रुपैयाँ लागतमा निर्माण भइरहको फुटबल मैदान असारमै सक्नुपर्ने थियो । मैदानको डिजाइननै समयमा नबन्दा पछि धकेलिएको हो ।


पोखरामा हुने खेलमध्ये ट्रायथलन, भारोत्तोलन र बिच भलिबल रंगशालाबाहिर हुन्छन् । सराङकोटमा हुने प्याराग्लाइडिङ भने सहभागी राष्ट्रको अभावमा नहुने निश्चित भएको छ । फेवातालमा ट्रायथलन गर्न पूर्वाधार तम्तयार अवस्थामा छ । माटेपानीको एसआर केसी पार्टी प्यालेसमा हुने भारोत्तोलनको समेत पूर्वाधार तयार अवस्थामा रहेको राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले बताए । ‘फेवाताल किनारमा हुने बिच भलिबलका लागि बालुवा राख्ने काम भइरहेको छ,’ उनले भने, ‘अस्थायी प्यारापिट बनाउने काम अब सुरु हुन्छ ।’


प्रकाशित : मंसिर ५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?