कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेलाडीको प्रयासमा बन्यो कभर्डहल 

अगन्धर तिवारी

(पर्वत) — पूर्वाधार अभावमा बन्द कोठाभित्र खेलिने प्रतियोगिता र अभ्यासमा समस्या झेल्दै आएका पर्वतका ब्याडमिन्टन खेलाडीका लागि अब सहज हुने भएको छ । कुश्माको बडागाउँ चौरस्थित सशस्त्र प्रहरीको हाताभित्र अलपत्र हलको पर्वत मोदीकाली ब्याडमिन्टन संघको सक्रियतामा निर्माण सम्पन्न गरिएपछि स्थिति सहज हुने भएको हो ।

जुनसुकै मौसम र समयमा पनि ब्याडमिन्टन खेलाउन मिल्ने कभर्डहल राष्ट्रिय खेलकुद परिषद्ले निर्माण थालेर बीचैमा छोडेको थियो । करिब ७० लाख खर्च भइसकेको कभर्डहल बीचमै अलपत्र छाडिँदा खेलाडीको चाहना पूरा हुन नपाएको मोदीकालीका अध्यक्ष भीमप्रसाद श्रेष्ठले बताए । ‘यहाँ कभर्डहल बनेपछि धेरै ठूला प्रतियोगिता हुने अपेक्षा थियो,’ उनले भने, ‘लामो समय अलपत्र छाडिँदा धेरै खेलप्रेमी निरास हुनुपर्‍यो । त्यही भएर ऋणधन गरेर हामीले निर्माण गरेका हौं ।’


मोदीकालीसहित खेलाडीको प्रयासमा २५ लाख रुपैयाँ संकलन गरिएको उनले बताए । त्यसबाहेक कुश्मा नगरपालिका, गण्डकी प्रदेशलगायतबाट करिब १५ लाख जुटेको संघले जनाएको छ । कभर्डहल स्थापना भएपछि जुनसुकै मौसम र सिजनमा पनि खेल्न सकिने भएको छ । साथै प्रदेश तथा जिल्लास्तरिय प्रतियोगिता गर्न सकिने संघका सचिव विनोद विश्वकर्माले बताए । कर्भडहलको निर्माणपछि लामो समयदेखि खुलाचौर र विभिन्न सरकारी कार्यालय हातामा ब्याडमिन्टन खेल्दै आएका खेलाडीलाई राहत मिल्ने भएको छ ।


कर्भडहलको संघीय संसदका सदस्य पदम गिरीले उद्घाटन गरिसकेका छन् । उनले खेलाडीको उत्साह र मिहिनेतबाट आफू प्रभावित भएको बताउँदै कर्भडहलको थप व्यवस्थापन र पूर्वाधार निर्माण सम्पन्न गर्न २० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्यका लागि खेल अपरिहार्य रहेको भन्दै अर्बौं खर्चेर अस्पतालमात्र निर्माण गर्ने राज्यसंयन्त्रले खेलमैदान र खेलाडी उत्पादनमा पनि ध्यान दिन आवश्यक भएको सुझाए । पर्वतमा खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारहरूबीच समन्वय गरी अघि बढ्न आवश्यक रहेको सुझाए ।


भौतिक संरचनाको अभावमा खेल गतिविधि ठप्पजस्तै बनेको बेला यो कभर्डहलको पर्याप्त उपयोग भए कुश्माको विकासमा समेत टेवा पुग्ने खेलाडीले विश्वास व्यक्त गरे । बडागाउँमा २०५८ मा चण्डिका सशस्त्र प्रहरी गण स्थापना भएपछि साबिकको खेलमैदानमा खेलकुदका गतिविधि ठप्पजस्तै बनेका थिए ।


कभर्डहलको निर्माणसँगै नियमित सञ्चालन भए ब्याडमिन्टनबाट कुश्माको खेलक्षेत्र वामे सर्ने अपेक्षा गरिएको खेलाडी सुनील भुसालले बताए । सशस्त्र प्रहरी गणलाई अन्यत्रै सारेर बडागाउँलाई साबिकबमोजिम खेलमैदानका लागि उपयोग गर्न विभिन्न चरणमा पहलसमेत भइरहेको छ ।


कार्यक्रममा कर्भडहल निर्माणका लागि सहयोग गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङ, पूर्व अध्यक्ष देवेन्द्रराज पाण्डे, शिव पौडेल तथा कुश्मा–५ की अध्यक्ष चित्रकला भारती, इन्जिनियर सञ्जय लामिछानेलगायतलाई सम्मान गरिएको थियो ।


प्रकाशित : मंसिर ४, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?