कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइपुग्यो प्यारापिट

दीपक परियार

पोखरा — पोखरा रंगशालामा निर्माणाधीन फुटबल मैदानको प्यारापिटका लागि आवश्यक सामान आउने क्रम सुरु भएको छ । फ्रान्सबाट मगाइएको सामानमध्ये आइतबार ७ वटा कन्टेनर आएको हो । सोमबार ८ कन्टेनर भित्रिँदै छन् । 

आइपुग्यो प्यारापिट

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदै छ । साग आउन १२ दिन बाँकी रहँदा निर्माण कार्यले फ्रान्सबाट ल्याइएको सामान भारतको विशाखापट्टनम बन्दरगाह हुँदै वीरगन्ज भन्सारबाट नेपाल भित्रिएको हो । कात्तिक १४ मा विशाखापट्टनम आइपुगेको सामान ढिलोमा एक सातामै पोखरा आइपुग्नुपर्थ्यो । सामान भन्सारमै रोकिँदा ढिलो गरी पोखरा भित्रिएको हो ।


इन्टरलक प्रविधिको ग्र्यान्ड स्ट्यान्ड प्यारापिट जडान कार्य आइतबारदेखि नै सुरु भएको छ । स्टिल मोड्युलर प्यारापिट जोड्न २ फ्रान्सेली प्राविधिक खटिएका छन् । उनीहरूलाई निर्माणको जिम्मा पाएको भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा (जीएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीका कामदारले सघाउनेछन् ।


प्रोजेक्ट म्यानेजर दीपक बरालका अनुसार आइतबार ५ हजार ४ सय सिटलाई आवश्यक सामान आएका छन् । सोमबार थप ८ कन्टेनर आएपछि ८ हजार सिट पुग्नेछन् । प्यारापिटका लागि तयारी अवस्थामा रहेको फाउन्डेसनमा जडान कार्य हुनेछ । निर्माण कम्पनीसँगको सम्झौतामा १६ हजार ५ सय सिट बनाउने उल्लेख छ । कम्पनीले १० प्रतिशत बढाउन मिल्ने भएकाले १८ हजार १ सय ५० सिट क्षमताको हुने जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले भने सिट संख्या २० हजार पुर्‍याउने बताएको छ । सागअघि १० हजार दर्शक क्षमताको प्यारापिट जोड्ने कम्पनीको लक्ष्य छ । विभिन्न चरणमा मंसिर ६ सम्म त्यति सामान आइपुग्न बरालले बताए । उनका अुनसार चारमध्ये २ ब्लक जोड्न ६ दिन लाग्छ । अर्को चरणमा सामान आउँदासम्म भीआईपी प्यारापिट जडान सकिन्छ ।


पहिले बिछ्याइएको दुबो सुकेपछि फेर्नुपर्ने दुबो अझै आइपुगेको छैन । सोमबारबाट दुबो आउन सुरु हुने निर्माण कम्पनीको दाबी छ । भारतको कलकत्ताबाट १२ हजार वर्गफिट दुबो पोखरा आउँदै छ । भारतीय क्वारेन्टाइनले माटोसहितको दुबो नेपाल भित्र्याउन नदिएपछि भन्सारमा थन्किँदा दुबो बाटैमा सुकेको थियो ।


चार ब्लकमा १७ ट्वाइलेट ब्लकमध्ये १२ वटा निर्माणाधीन छन् । ७ ट्वाइलेट सागअघि सक्ने कम्पनीको लक्ष्य छ चेन्जिङ रुम भने यसपल्ट मैदान नजिकैको बहुउद्देश्यीय कबर्डहलबाट काम चलाउन लागिएको छ । ट्र्याक एन्ड फिल्डमा असफाल्ट पिच भएको छ । पिचमाथि एक तह सिन्थेटिक रबर बिछ्याइएको छ । उक्त तहमाथि सोमबारदेखि सिल लेयर राख्न सुरु हुनेछ ।


गत पुस १३ मा स्टेडियम बनाउन सम्झौता भएको थियो । फागुनमा शिलान्यास भएको स्टेडियम ६ महिनाभित्रै बनाउने भनिए पनि अन्तिम समयमा मात्रै कामको गति बढाइएको छ । स्टेडियमको लागत १ अर्ब २८ करोड रुपैयाँ छ ।

प्रकाशित : मंसिर २, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?