कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१३ औं दक्षिण एसियाली खेलकुद : अध्यागमनमा बाजासहित स्वागत गर्न निषेध

मातृका दाहाल

काठमाडौँ — गृह मन्त्रालयले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिन आउने खेलाडी र पदाधिकारीसहितका विदेशीलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमन आगमन कक्षमा बाजागाजा र फूलमालासहित स्वागत गर्न रोक लगाएको छ । सुरक्षा र नियमित यात्रु व्यवस्थापनमा नकारात्मक असर पर्ने भएकाले स्वागत सत्कारको कार्यक्रम विमानस्थल क्षेत्रबाहिर मिलाउन निर्देशन दिइएको हो । 

१३ औं दक्षिण एसियाली खेलकुद : अध्यागमनमा बाजासहित स्वागत गर्न निषेध

युवा तथा खेलकुद मन्त्रालयले गत साता विमानस्थलस्थित सुरक्षा निकाय, अध्यागमन, भन्सार, नागरिक उड्ययन प्राधिकरणलगायत सबै सरोकारवाला निकायसम्मिलित बैठकमा सागमा आउने विदेशी पाहुनालाई अध्यागमन कार्यालय परिसरमै स्वागत गर्ने व्यवस्था मिलाइदिन प्रस्ताव गरेको थियो । तर विमानस्थल अध्यागमन कार्यालयले अति संवेदनशील क्षेत्रभित्र बाजागाजा र फूलमालासहितको स्वागत गर्न नमिल्ने भन्दै वैकल्पिक उपाय अपनाउन मन्त्रालयका पदाधिकारीलाई आग्रह गरेको थियो ।


‘पाहुनाका लागि अध्यागमन परिसरमा विशेष स्वागतको व्यवस्था गर्न नसकिने जानकारी हामीले मन्त्रालयलाई गराइसकेका छौं,’ प्रमुख अध्यागमन अधिकृत पौडेलले कान्तिपुरसँग भने, ‘विकल्पका रूपमा आगमन कक्षबाहिर नै व्यवस्था गर्न सुझाव दिइएको छ ।’ अध्यागमनका अनुसार सुरक्षा निकायका अधिकारीहरूले पनि आगमन कक्षबाहिर नै स्वागत/सत्कारको व्यवस्था मिलाउन सुझाएका छन् ।


सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा भने विमानस्थलस्थित अध्यागमन कार्यालयमै बाजागाजासहित स्वागत व्यवस्था मिलाइएको थियो । उद्योगी राजेशकाजी श्रेष्ठको संयोजकत्वमा रहेको अतिथि सत्कार समितिले अध्यागमनभित्रैबाट बाजागाजासहित स्वागत गरेको थियो । ‘राजाको पालामा त अध्यागमन भित्रैबाट पाहुनाको स्वागत गरिएको थियो,’ त्यसबेलाका संयोजक श्रेष्ठले भने, ‘सरकारले जे गर्‍यो, ठीकै गरेको होला तर अहिले गणतन्त्रमा त झनै खुला पो हुनुपर्ने होइन र ?’


खेलकुद मन्त्रालयले नेपाल प्रहरीका पूर्व एआईजी अमरसिंह शाहको संयोजकत्वमा ६ सदस्यीय अतिथि सत्कार समिति गठन गरिसकेको छ । साग सम्पन्न गर्न अतिथि र सुरक्षासहित अरु १५ विषयगत समिति गठन भइसकेका छन् । विषयगत समितिबाहेक प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशन समिति, खेलकुदमन्त्रीको अध्यक्षतामा आयोजक समिति र राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवालको संयोजकत्वमा कार्यकारी समिति गठन भइसकेको छ ।

६ हजार पाहुना आउने

युवा तथा खेलकुद मन्त्रालयले मंसिर १५ देखि २४ सम्म हुने सागमा सार्कका नेपालबाहेक ६ मुलुकका खेलाडी र पदाधिकारीसहित ६ हजार जति पाहुना आउने जानकारी गराएको छ । गृह मन्त्रालय र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई खेलकुद मन्त्रालयले खेलाडी, पदाधिकारी, प्रशिक्षक, समर्थक तथा खेलाडीका परिवारसहित ६ हजार जति विदेशी आउने जानकारी दिएको छ । त्यसमध्ये ४ हजार हाराहारीमा खेलाडी हुनेछन् ।


अध्यागमनमा दुई विशेष डेस्क

सागमा आउने विदेशी पाहुनालाई अध्यागमनको कानुनी प्रक्रिया सहज र सरल बनाउन गृह मन्त्रालयले आगमन र प्रस्थान कक्षमा १–१ वटा विशेष डेस्क सञ्चालनमा ल्याउने भएको छ । त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पौडेलका अनुसार साग सुरु हुनु केही दिनअघिबाटै विशेष हेल्प डेस्क सञ्चालनमा ल्याइने छ । हेल्प डेस्कमा अध्यागमन र खेलकुद मन्त्रालयका अधिकृतहरूलाई विशेष रूपमा खटाइने छ ।


‘पाहुनालाई अध्यागन प्रक्रियामा सहजीकरण गर्न आगमन र प्रस्थान कक्षमा १–१ वटा हेल्प डेस्क रहनेछ, त्यसमा खेलकुद मन्त्रालयका प्रतिनिधि पनि रहनेछ,’ पौडेलले भने, ‘हामीले दिने सेवामा कुनै पनि कमी नहुने गरी आवश्यक व्यवस्था मिलाइने छ ।’ उनका अनुसार सागमा आउने खेलाडी तथा पदाधिकारीको तह हेरेर त्यसै आगमनमा भीआईपी कक्षको प्रयोग हुनेछ ।


‘कुन तहका पदाधिकारी वा खेलाडी आउँछन्, त्यसैअनुसार भीआईपी कक्ष प्रयोग वा अन्य विशेष सेवा प्रदान गर्ने भन्नेबारे निर्णय गरिनेछ,’ पौडेलले भने, ‘यसबारे मन्त्रालयबाट पनि त्यहीअनुसार पाहुनाको विवरण संकलन गर्छौं ।’ विमानस्थलमा हरेक दिन मानिसहरू ७ हजार हाराहारीमा जाने र ६ हजार आउने अध्यागमन कार्यालयले जनाएको छ ।


आईजीपी नै संयोजक

साग सुरक्षालाई प्रभावकारी र व्यवस्थित गर्न युवा तथा खेलकुद मन्त्रालयले प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको संयोजकत्वमा सुरक्षा समिति गठन गरेको छ । गृह मन्त्रालयको स्वीकृतिमा खेलकुद मन्त्रालयले आईजीपी खनालको संयोजकत्वमा ६ सदस्यीय सुरक्षा समिति गठन गरेको हो । समितिमा प्रहरीका डीआईजी दीपककुमार थापा, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङसहितका अधिकारी सदस्य रहेका छन् ।


गत साता नै खेलकुद मन्त्रालयले गृहलाई पत्राचार गरी साग सुरक्षालक्षित विशेष योजना बनाउन आग्रह गरेको थियो । त्यसपछि गृहले प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग, कठमाडौं, भक्तपुर, ललितपुर, कास्की र धनुषास्थित जिल्ला प्रशासन कार्यालय र अध्यागमन विभागलाई परिपत्र गरेर सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको थियो । नौवटै निकायबाट सुरक्षा योजना प्राप्त भएपछि विशेष सुरक्षा योजना तय गरिने गृहका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । यसलाई केन्द्रीय सुरक्षा समिति बैठकले अनुमोदन गरेपछि औपचारिक रूपमा साग सुरक्षा योजना लागू हुनेछ । काठमाडौं, ललितपुर, कास्की र धनुषाका खेलस्थलमा साग हुने तालिका छ ।


प्रकाशित : कार्तिक ३०, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?