कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोषी डोपिङ

चिकित्सक सरोजकृष्ण श्रेष्ठ भन्छन्, ‘डोपिङ प्रकरण झन भयावह भइरहेको छ । त्यसैले विशेषत: खेलाडी आफैं सचेत हुनुपर्छ’
हिमेशरत्न वज्राचार्य

काठमाडौँ — सन् २००६ अगस्ट ६ । त्यो दिन कोही नेपाली खेलपत्रकारले कसरी भुल्न सक्छ र ? श्रीलंकाको राजधानी कोलम्बोमा दसौं दक्षिण एसियाली खेलकुद चलिरहेको थियो । त्यहाँको मुख्य खेल आयोजनास्थल प्रेमदासा स्टेडियममा हलचल मच्चिएको थियो । कारण थियो, नेपाली लामो दूरीका धावक राजेन्द्र भण्डारीको सनसनीपूर्ण प्रदर्शन । स्टेपलचेजमा स्वर्ण जितेयता उनले यस्तै प्रदर्शन १० हजार मिटर दौडमा पनि दोहोर्‍याए ।

दोषी डोपिङ

नेपालले राजेन्द्र एक्लैबाट दुई स्वर्ण जितेको थियो । त्यो प्रदर्शन स्वर्ण पदकभन्दा बढी थियो । किनभने उनी जसरी दौडिएका थिए, त्यसको झल्को पाएका सबैले भनेका थिए, ‘यसको दौडिने शैली त कोही ठूलै ओलम्पिक विजेता खेलाडीभन्दा कम छैन ।’ उनको खेल प्रत्यक्ष हेरिरहेकामध्ये एक थिए, नेपाली टिमका चिकित्सक सरोजकृष्ण श्रेष्ठ । उनले पनि माने, यी खेलाडीमा केही न केही पक्कै छ । त्यति बेला प्रशिक्षकको भूमिका थिए, सुशील नरसिंह राणा ।


राजेन्द्रको प्रदर्शनबाट प्रभावित उनका अरू समकक्षीले सोधेछन्, ‘ओहो, यी खेलाडी त निकै राम्रा छन्, के उनको तयारी युरोपतिर भएको हो त ?’ राणाले मख्ख पर्दै अलि घमण्डी पाराले भने, ‘होइन, उनको प्रशिक्षण त काठमाडौंमै भएको हो ।’ उनलाई त्यतिबेला आफ्नो प्रशिक्षण र तयारीमा गर्व लागेको थियो । दोस्रो स्वर्ण जितेपछि राजेन्द्रलाई डोपिङ परीक्षणका लागि नजिककैको चिकित्सकीय कक्षमा लगिएको थियो । उनको भनाइ सुन्न खेलपत्रकार केहीपर कुरिरहेका थिए । जतिबेला राजेन्द्रको बोल्ने पालो आयो । उनले भनेका थिए, ‘म यो भन्दा पनि राम्रो प्रदर्शन गर्न सक्षम छु ।’


कोलम्बोबाट काठमाडौं झरेयता उनको त्रिभुवन विमानस्थलमा भव्य स्वागत भयो । केही दिन यसरी नै बिते । एक दिन त्यस्तो समाचार आयो, जसले नेपाली खेलकुदलाई नराम्रोसँग हल्लाउने काम गर्‍यो । यो यस्तो समाचार थियो, जसले नेपाली खेलकुदकै सबैभन्दा ठूलो काण्ड मान्न सकिन्छ अनि सबैभन्दा ठूलो दुर्घटना ।


समाचार थियो, राजेन्द्र डोपिङमा समातिएका छन् । उनले त प्रतिबन्धित शक्तिबर्द्धक औषधी प्रयोग गरेका रहेछन् । सुरुमा त राजेन्द्रले हाकाहाकी यसलाई अस्वीकार गरे । पत्रकारले पनि विश्वास गर्न सकेका थिएनन्, यस्तो पनि हुनसक्छ भनेर । नेपाली खेलकुदका लागि यो नौलो नै थियो । यसपछि धेरै घटना भए । यी घटनाका शृंखलाले धेरैलाई अप्ठ्यारोमा पार्‍यो । राजेन्द्र सेनाका खेलाडी थिए । सेनाले उनलाई बचाउन पूरा प्रयास गर्‍यो ।


उनका केही प्रशिक्षक कारबाहीमा परे । राजेन्द्रकै कारण धेरैजना मानसिक र शारीरिक तनावबाट गुज्रिनुपर्‍यो । हुँदा हुँदा नेपाल र जर्मनीको कूटनीतिक सम्बन्ध पनि बिग्रियो । आखिरमा राजेन्द्र डोपिङमा दोषी नै ठहरिए । उनीमाथि सन् २००६ को सेप्टेम्बरबाट दुईवर्षे प्रतिबन्ध लाग्यो । सागका दुई स्वर्ण खोसिए । पूरा घटनाक्रममा वास्तवमै के भएको थियो, अझै धेरै प्रश्न अनुत्तरित छन् । यसबारे गठन गरिएको छानबिन समितिले तयार पारेका प्रतिवेदन अझैसम्म बाहिर आएको छैन, कम्तीमा औपचारिक रूपमा ।


सावधानी आवश्यक

अहिले यो सबै चर्चा किनभन्दा १३ औं दक्षिण एसियाली खेलकुद नजिकिएको छ । सहभागी खेलाडीहरू ‘र्‍यान्डम टेस्ट’ बाट गुज्रिने छन् । खोज्ने प्रयास हुनेछ, कतै यिनीहरूले पनि शक्तिबर्द्धक प्रतिबन्धित औषधी प्रयोग गरेका त छैनन् । यसमा दोषी पाइयो भने यी खेलाडीको स्थिति पनि राजेन्द्रकै जस्तो हुनेछ । यस्तोमा आवश्यक छ, खेलाडी स्वयं सतर्क हुनुपर्छ । यो यस्तो जटिल प्रक्रिया हो, जसमा खेलाडी स्वयं सावधान हुनुबाहेक अर्को विकल्प छैन ।


खेलाडीले आफैं जानाजान यस्ता शक्तिबर्द्धक औषधीको प्रयोग गर्छन् भने ती दोषको भागिदार भइहाले । नत्र खेलाडीको आफ्नै भूल नहुँदा उनीहरू फस्न सक्छन् । जस्तो, पूरा देश नै लागेर पनि खेलाडीलाई डोपिङ गराउन सक्छ । यस्तो काम त रुसले नै गरेको छ । खेलाडीलाई थाहा नदिएर प्रशिक्षक वा व्यवस्थापकले पनि यस्ता औषधी प्रयोग गर्न दबाब दिन सक्छन् । सामान्य औषधीको असावधानीपूर्वक प्रयोग गर्दा पनि खेलाडीहरू फस्न सक्छन् ।


खोकी लागेको वा रूघाखोकीको औषधी पनि घातक हुनसक्छ । त्यसैले खेलाडीसामु सावधान हुनु र डोपिङबारे पूर्ण जानकारी हुनुबाहेक अर्को विकल्प छैन । यसका लागि सबैभन्दा पहिला खेलाडीले के गर्नुहुन्छ र के गर्नुहुन्न भनेर राम्रोसँग जानकारी लिनुपर्ने हुन्छ । केही भयो र औषधीको प्रयोग गर्नुपर्‍यो भने विशेषज्ञ चिकित्सकको सल्लाहमा मात्र काम गर्ने । नेपाली खेलाडीका लागि अहिले यस्तै काम तिनै चिकित्सक श्रेष्ठले गरिरहेका छन् ।


उनी अचेल खुबै व्यस्त छन्, नेपाली खेलाडीलाई प्रशिक्षण दिने क्रममा । आसन्न सागलाई लिएर भर्खरै एउटा मिडिया वर्कसप भएको थियो । त्यसमा तिनै चिकित्सक श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिए । खुबै दमदार थियो त्यो । उनको भनाइ थियो, ‘डोपिङ प्रकरण झन् झन् भयावह भइरहेको छ । त्यसैले यसमा सचेत हुनुपर्छ, विशेषत: खेलाडी ।’

उनको आसय थियो, डोपिङबारे खेलाडीलाई सबैभन्दा बढी सचेत गराउन माध्यम मिडिया नै हो । मिडिया नै एकमात्र अस्त्र हो, जसलाई पढेर हेरेर खेलाडी सावधान हुनसक्छन् ।


एउटा तीतो सत्य के हो भने डोपिङबारे खेलाडीमात्र होइन, नेपाली खेलवृत्तका धेरैलाई थाहा छैन । प्रशिक्षकदेखि व्यवस्थापक अनि खेलकुद परिषद्का सदस्य–सचिवदेखि खेलमन्त्रीसम्मलाई पनि । उनीहरूलाई थाहा हुँदो हो त खेलाडीको दुखाइ कम गर्न यही माथिल्लो स्तरका पदाधिकारीले चिकित्कसलाई सुईं लगाउन आदेश वा अनुरोध केही गर्ने थिएनन् । तर व्यवहारमा यस्तै हुन्छ । अचेल वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले झन्भन्दा झन् कडा नियम बनाइरहेको छ ।


जस्तो एउटा उदाहरण डा. श्रेष्ठले त्यही मिडिया वर्कसपमा दिए । उनका अनुसार एक खेलाडी दक्षिण कोरिया कुनै प्रतियोगितामा सहभागी हुन जाने क्रममा थिए । त्यो थाहा पाएर उनका केही आफन्तले कोरियामै रहेका कसैलाई कुनै औषधी लगिदिन अनुरोध गरे । यसमा खेलाडीले नाइँ भन्नुपर्ने नै के छ त ? तर होइन, त्यो औषधी खेलाडीले प्रयोग गर्नबाट प्रतिबन्ध छ भने त्यो बोकेको, आफ्नो झोलामा हालेको निहुँमै खेलाडी कारबाहीमा पर्ने बलियो कारण हुनसक्छ ।


खेलाडीलाई लाग्न सक्छ, यस्ता शक्तिबर्द्धक औषधी प्रयोग गरेको केही समयपछि त्यसको प्रमाण शरीरमा रहने छैन । तर त्यस्तो होइन । यस्ता औषधीको प्रयोग गरेको एक वर्षदेखि अझ लामो समयसम्म पनि त्यसको प्रमाण शरीरमा रहिरहन सक्छ । रगत र पिसाब परीक्षण गर्दा खेलाडी समातिने डर जहिल्यै हुन्छ । अझ अचेल त खेलाडीबाट लिइएको रगत र पिसाबको नमुना दसौं वर्षसम्म सुरक्षित राख्ने नियम सुरु भएको छ । दोषी खेलाडी अहिले नसमातिएला, तर कुनै न कुनै दिन समातिने सम्भावना कायम नै हुन्छ ।


घातक चुम्बन

टेनिस खेलाडी रिचर्ड ग्यास्क्वेटको घटना त वास्तवमै अविश्वसनीय छ । लगभग ९ वर्षअगाडि यी फ्रान्सेली खेलाडी कोकिन प्रयोगमा समातिए । फ्लोरिडामा भएको एटीपी टुरको प्रतियोगितामा क्रममा उनले कोकिन प्रयोग गरिएको पाइयो । वाडाले सन् २००९ मा उनीमाथि दुई वर्ष प्रतिबन्ध लगायो । तर ग्यास्क्वेटले यस विषयमा प्रस्तुत गरेको तर्क अनौठो थियो । भएको के रहेछ भन्दा फ्लोरिडामा छँदा उनी नाइट क्लब छिरेका रहेछन् ।


त्यसैक्रममा उनले एक युवतीलाई चुम्बन गरेछन् । ती युवतीको कोकिन प्रयोग गर्ने लत रहेछ । चुम्बनकै क्रममा उनले प्रयोग गरेको कोकिन ग्यास्क्वेटमा सरेको रहेछ । आफूमाथि लागेको प्रतिबन्ध फुकुवाका लागि ग्यास्क्वेट ‘कास’ मा गए । उनले मुद्दा पनि जिते । तर उनी तनाव र बेइज्जतीबाट त गुज्रे । यस्तोमा हाम्रै खेलाडीलाई पनि सल्लाह श्रेष्ठको सल्लाह थियो, ‘विदेशतिर गएका बेला समय र मौका मिल्यो भन्दैमा नाइट क्लबतिर नजानू । गए पनि

त्यहाँ कसैलाई चुम्बन नगर्नू । कसैले दिएको त खाँदै नखानू ।’


ओलम्पिकमा समावेश हुने खेलमध्ये सबैभन्दा बढी डोपिङका घटना भारोत्तोलनमा देखिएका छन् । धेरैभन्दा धेरै घटना एउटै खेलमा देखिएपछि यो खेलको विश्व संगठनलाई चेतावनी नै दिइएको छ । यो चेतावनी हो ओलम्पिकबाट यो खेललाई नै प्रतिबन्ध लगाउने । केही समयअगाडि एउटा अनौठो घटना भारोत्तोलनमै देखिएको थियो । डोपिङ गरेका एक खेलाडीले पदक त जिते, तर पदक थाप्ने क्रममा नै उनको मृत्यु भयो ।


खेलाडीले प्रसिद्धि र पैसा कमाउने लोभमा प्रतिबन्धित शक्तिबर्द्धक औषधी प्रयोग गर्ने गर्छन् । खेलाडी महत्त्वाकांक्षी पनि हुनसक्छ । उनमा सफलताको लोभ उत्तिकै हुनसक्छ । तर यसको परिणाम भने घातक छ । प्रतिबन्धित शक्तिबर्द्धक औषधी प्रयोग गरेका खेलाडी पछि मानसिक बिरामी हुने सम्भावना बढी हुन्छ । आत्महत्याका घटना धेरै छन् । यस्ता औषधीले क्षणिक फाइदा भए पनि यसले अन्तत: शरीरलाई निकै क्षति पुर्‍याएको हुन्छ ।


प्रयोगकको केही समयमै पुरुष खेलाडीमा महिलाको जस्तो स्तन विकास हुनसक्छ । अनि महिला खेलाडीको स्वर त बिग्रिने छ नै । तिनमा पनि पुरुषको जस्तो दाह्रीजुंगा पलाउने हुन्छ । अनुहारमा काला धब्बा प्रशस्त देखिन सक्छन् । यसको सिधा अर्थ के भने डोपिङले केही पनि राम्रो गर्दैन । विश्व खेलकुदमै पनि बेन जोन्सनदेखि लान्स आम्सट्रङका अनेक उदाहरण छन् । जसले देखाएको छ, यसबाट जोगिने उपाय छैन । कुनै न कुनै दिन समातिने नै छ ।


राजेन्द्रको जिम्मेवारी

सन् २००६ को त्यस कोलम्बो सागका बेला वास्तवमै के भएको थियो । त्यसको वास्तविक जानकारी बाहिर ल्याउने काम अब राजेन्द्रले पनि गर्नुपर्छ । उनले औपचारिक रूपले आफूले कहाँनिर कस्तो भूल गरें भनेर बोलेका छैनन् । उनी चोखो थिए त कारबाहीमा पर्ने थिएनन् । न त समातिने नै थिए । अब समय आएको छ साँचो बोल्ने । उनले आफ्नो वास्तविक कथा भन्ने हो भने त्यसले नेपाली खेलक्षेत्रलाई अझ सावधानी हुन प्रेरित गर्नेछ ।


आफूजस्तै अरू कोही डोपिङमा नफसुन् भनेर उनी अगाडि आउनैपर्छ । फेरि उनकै कारण धेरैजना अनावश्यक मानसिक र शारीरिक पीडाबाट गुज्रिनुपरेको छ । केहीका परिवारले तनावमै आफ्ना सदस्य गुमाएका समेत छन् । अहिले पनि तिनीहरूसँग कुरा गर्नुपर्छ, तिनका अनुहारमा प्रशस्त पीडा देख्न सकिन्छ । अब तिनीहरूसँग माफी माग्ने समय पनि आइसकेको छ । सबैभन्दा ठूलो त अब फेरि त्यो डोपिङ काण्ड नेपालमा दोहोरिनुहुन्न ।


प्रकाशित : कार्तिक ३०, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?