कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रत्नजित र प्रिन्स पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार सुरु योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनमा दीपेश धामी र विष्णु कटुवालले विजयी सुरुआत गरेका छन् । नेपालका नम्बर एक खेलाडी रत्जजित तामाङ र उदीयमान खेलाडी प्रिन्स दाहाल भने पहिलो चरणमै पराजित भए ।

रत्नजित र प्रिन्स पराजित

२५ हजार डलर पुरस्कार राशि भएको यस प्रतियोगितामा नेपालसहित २१ राष्ट्रका १ सय ४९ खेलाडी प्रतिस्पर्धामा छन् । दीपेशले भारतका दीपक शर्मालाई २१–१०, २१–१६ र विष्णुले भुटानका निदुप दोर्जेलाइ २१–९, २१–४ को सेटमा हराएका थिए ।


रत्नजित भने थाइल्यान्डका अदुईराच नम्कुलसँग २१–९, २१–४ को सेटमा स्तब्ध भए । दुबई इन्टरनेसनल सिरिज र हालै माल्दिभ्समा भएको जुनियर च्याम्पियनसिपमा पदक जितेका प्रिन्स यस च्यालेन्जमा दोस्रो वरीयता पाएका रसियाका सर्जी सिरान्तसँग २१–१७, २१–१२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भए । नेपालका विकास श्रेष्ठ र प्रफुल महर्जन पनि अघिल्लो चरणमा जान सकेनन् । विकास इंग्ल्यान्डका वाङ युह्वाङसँग २१–१३, २१–१४ ले तथा प्रफुल भारतका सिद्धार्थ ठाकुरसँग २१–१४, २१–१० को सेटमा पराजित भए । साजनकृष्ण ताम्राकारले भारतका किरण कुमार मेललाई वाकओभर दिए यता नेपालका नवीन श्रेष्ठले वाकओभर पाए ।

नेपालकै सुनील जोशी र जीवन आचार्य पनि अघि बढ्न सकेनन् । सुनील अस्ट्रेलियाका केथ मार्क इडिसनसँग २२–२०, २१–११ ले र जीवन भारतका सिली वर्मासँग २१–१२, २१–१३ ले हारे ।


महिलातर्फ १३ औं सागका लागि तयारीमा रहेका खेलाडीहरू विदेशी प्रतिद्वन्द्वीसामु टिक्न सकेनन् । युगलतर्फ अमिता गिरी र अनुमाया राई, पूजा श्रेष्ठ र जेसिका गुरुङ, नीता लम्साल र सीमा राजवंशी तथा रसिला महर्जन र सीता राईको जोडी पराजित भए ।


नेपाल ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा पुरुष, महिला सिंगल्स र युगल तथा मिक्स डबल्स गरी ५ विधामा प्रतिस्पर्धा भइरहेको छ ।



प्रकाशित : कार्तिक २८, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?