कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सागका लागि सरकारको विशेष सुरक्षा योजना

मातृका दाहाल

काठमाडौँ — आसन्न दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका लागि सरकारले विशेष सुरक्षा कार्ययोजना बनाउने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको आग्रहपछि गृह मन्त्रालयले साग विशेष सुरक्षा योजना बनाउन मातहतका नौवटा निकायलाई परिपत्र गरेको हो ।

सागका लागि सरकारको विशेष सुरक्षा योजना

मंसिर १५ देखि २४ सम्म नेपालमा हुने १३ औं सागका लागि सुरक्षा तयारी थाल्न गृहले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र धनुषालाई निर्देशन दिएको छ । सुरक्षा कार्ययोजनासँगै गृहले खेल अवधिभर खटिने सुरक्षाकर्मीलाई दैनिक खाजाभत्ता, बन्दोबस्तीका सामान व्यवस्थापनलगायतमा पर्याप्त बजेट व्यवस्था गर्न खेलकुद मन्त्रालयलाई भनेको छ ।


खेलकुद मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, धनुषा र कास्कीका विभिन्न खेलस्थलहरूमा २७ खेल आयोजना हुनेछ । काठमाडौंस्थित मुख्य खेलस्थल दशरथ रंगशाला, राखेप कभर्डहल, गोकर्ण गल्फ कोर्स, लैनचौर टेटे हल, कीर्तिपुर मैदान, ललितपुरस्थित आर्मी प्रशिक्षण केन्द्र लगनखेल र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसर, कास्कीस्थित पोखरा रंगशालासहित अन्य स्थान र धनुषास्थित जनकपुर कभर्डहल खेलस्थल हुन् । सागमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटानका खेलाडीका गरी ३ हजार ५ सय हाराहारीमा खेलाडी सहभागिता रहने खेलकुद मन्त्रालयले जनाएको छ ।

खेलाडीसँगै प्रशिक्षक, रेफ्री, खेलपदाधिकारीहरू पनि सहभागी हुने भएकाले ८ हजारभन्दा बढी खेलकर्मीको उपस्थिति रहने भएकाले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन गृहलाई परिपत्र गरिएको छ ।


खेलकुदमा आउने विदेशीलाई सहज आवागमनको व्यवस्था गर्न अध्यागमन विभागलाई पनि गृहले पत्र पठाएको छ । पाहुनाका लागि विमानस्थलमा विशेष सेवा प्रदान गर्न अध्यागमनलाई पत्र पठाइएको गृहले जनाएको छ ।

गृहका उपसचिव उमाकान्त अधिकारीले साग सुरक्षा तयारी गर्न खेलकुद मन्त्रालयबाट पत्र आएको र त्यसलगत्तै तीनवटै सुरक्षा निकाय, अध्यागमन विभाग र खेलकुद आयोजना गरिने जिल्ला प्रशासन कार्यालयलाई विशेष कार्ययोजना पेश गर्न निर्देशन दिइसकेको बताए । उनले तीनवटै सुरक्षा निकाय र जिल्ला सुरक्षा समितिबाट आएको कार्ययोजनालाई केन्द्रीय सुरक्षा समितिमा छलफल गरेर अन्तिम रूप दिइने प्रस्ट पारे ।


‘नेपालको प्रतिष्ठामा रहेको दक्षिण एसियाली खेलकुदका लागि प्रभावकारी सुरक्षा कार्ययोजना बनाएर मन्त्रालयमा पेश गर्न सम्वन्धित नौवटा निकायमा परिपत्र भइसकेको छ,’ उपसचिव अधिकारीले कान्तिपुरसँग भने, ‘अहिले सुरक्षा तयारी र कार्ययोजना प्रारम्भिक चरणमै छ, केही दिनभित्रै यसबारे मन्त्रालयमा विशेष छलफल हुनेछ ।’


महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेश थापाले साग सुरक्षा तयारीसम्बन्धी उपत्यकास्थित तीनवटै सुरक्षा निकायबीच छलफल अघि बढाइसकिएको बताए । ‘गृहको निर्देशनपछि साग सुरक्षा तयारीको प्रारम्भिक खाका बनाउन लागेका छौं,’ उनले भने, ‘यद्यपि खेलस्थल, आयोजन हुने खेल, खेलाडी र पाहुनाको सहभागिता, होटल व्यवस्थापनजस्ता विषयमा पूर्ण जानकारी आइसकेको छैन ।’


सार्क देशबाट कुन तहका सरकारी अधिकारी आउँछन् भन्ने विषय टुंगो लागेपछि त्यहीअनुसार सुरक्षा व्यवस्थापन रणनीति बनाइने गृहले जनाएको छ । ‘खेलाडी विमानस्थल ओर्लेदेखि होटलसम्म र होटलबाट खेलस्थलसम्म तथा त्यसआसपासको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी हुनेगरी कार्ययोजना बनाउन निर्देशन दिइएको छ,’ गृहका सूचना अधिकारी रहेका उपसचिव अधिकारीले भने, ‘आवश्यकताअनुसार अन्य सुरक्षा व्यवस्था मिलाइने छ ।’

प्रकाशित : कार्तिक २७, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?