थाइल्यान्डसँग अर्को हार

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनको सांघाईमा नेपाली यू–१९ महिला क्रिकेट टिम सोमबार बेल्ट एन्ड रोड कप क्रिकेट प्रतियोगितामा थाइल्यान्ड यू–१९ टिमसँग २९ रनले पराजित भएको छ । 

पहिलो ब्याटिङ गरेको थाइल्यान्ड १८.४ ओभरमा ९१ रनमा अलआउट भयो । ओपनर नान्नापात खोन्धाराइन्काई १२ र सुनासम खिउटोले १० रनबाहेक अन्य कसैले दोहोरो स्कोरमा रन जोड्न सकेनन् । नेपालले २९ रन दियो, त्यसमा २१ वाइड थियो । नेपालबाट कृतिका मरासिनी र खुशी डंगोलले ३–३ विकेट लिए । कृतिकाले ३ ओभरमा १६ र खुशीले ३.४ ओभरमा १० रन खर्चिए । लक्ष्मी साउदले २ र कप्तान डली भट्टले १ विकेट लिए ।


नेपाली टिम जवाफमा १८.२ ओभरमा ६२ रनमै अलआउट भयो । राजमति ऐरीले १२ र लक्ष्मी साउदले १० रन बनाउनु बाहेक अन्यले गतिलो स्कोर गर्न सकेनन् । ओपनर शीला रेग्मी क्षेत्रीलाई शून्यमा गुमाएको नेपालबाट यशोदा विष्टले १, कविता कुँवरले ८, डलीले शून्य, खुशीले ३, सृष्टि जैसीले ४, गोमा आलेले ३, ईश्वरी विष्टले १ र कृतिकाले ३ रन जोडे । थाइल्यान्डकी एरितसारा चिन्सुकसाङले ३ विकेट लिइन् । नेपालले मंगलबार साउदी अरेबियासँग खेल्ने छ ।


नेपाली यू–१९ पराजित

भारतको हैदराबादमा सोमबार सुरु यू–१९ च्यालेन्जर ट्रफीमा नेपालले निकै कमजोर सुरुआत गरेको छ । भारत ‘सी’ यू–१९ टोलीले पहिलो दिन नेपाली यू–१९ लाई १० विकेटले पराजित गर्‍यो । भारतीय क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगितामा नेपाल यू–१९ सहित भारत यू–१९ को ‘ए’, ‘बी’ र ‘सी’ टोलीको सहभागिता छ ।


पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमध्ये ३२.१ ओभरमा १ सय २० रनमै अलआउट भयो । विजयबादमा कप्तान रित गौतमलाई ६ रनमा गुमाएको नेपालबाट लोकेश बम र खडकबहादुर बोहरा समान १०, अरुण ऐरी १३, कुशल मल्ल २६, शेर मल्ल १६ र प्रतिश जिसी ११ रनमा आउट भए ।


नेपालले अन्तिम ६ विकेट ५४ रनमा गुमाउँदा हरिबहादुर चौहान ७, आकाश चन्द र सागर ढकाल ४–४ रनमा आउट भए । अविजित रहेका तिलकराज भण्डारीले कुनै रन जोड्न सकेनन् । भारतीय टोलीबाट चिन्तला रेड्डी, विद्याधर पाटिल, सुभाङ्ग हेज, मुजतावा युसुफ र रविरोशन सिंहले २–२ विकेट लिए ।


भारत ‘सी’ ले २१.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । दिव्यांश सक्सेना ६० बलमा ५ चौकासहित ६० र अर्जुन आजाद ६७ बलमा ९ चौका र १ छक्कासहित ६७ रन बनाई अविजित रहे । नेपालले बुधबार हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भारत ‘ए’ सँग खेल्नेछ ।


प्रकाशित : कार्तिक २६, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?