कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्तालेबाट एभरेस्ट ट्रेल रेस

कुम्भराज राई

(सोलुखुम्बु) — संसारकै उत्कृष्ट १० साहसिक ट्रेल रेसमध्ये एभरेस्ट ट्रेल रेसको नवौं संस्करण सोमबार सोलु दूधकुण्ड नगरपालिका ८ पत्तालेबाट सुरु भएको छ । सन् २०११ देखि निरन्तर दोलखाको जिरीबाट रेस सुर हुन्थ्यो । यस वर्ष स्थान परिवर्तन गरेर पत्तालेबाट सुरु गरिएको हो । 

पत्तालेबाट एभरेस्ट ट्रेल रेस

नेपालका तीनसहित १३ राष्ट्रका ४३ धावक ट्रेल रेसमा सहभागी छन् । रेसमा नेपालका सुमन कुलुङ, पासाङ शेर्पा र कृष्णकुमारी भुजेल सहभागी छन् । स्पेन, अर्जेन्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, बेलायत, ब्राजिल, अल्जेरिया, नर्वे र भियतनामका सहभागी रहेका छन् ।


जिरीको रुटमा जथाभावी सडक खनिनुका साथै गौरीशंकर संरक्षण क्षेत्रमा महँगोल शुल्क तिनुपर्ने भएपछि पत्तालेबाट रेस गर्नुपरेको आयोजक अन्नपूर्ण ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले बताए । उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रमा २ किलोमिटर यात्रा गर्दा एक जना बराबर तीन हजार तिर्नुपर्ने भएकाले गन्तव्य परिवर्तन गरिएको हो ।


रेस पत्तालेबाट सुरु भएर एक सातामा च्याङसार, खोरिया, दिम्स्यास, पिकेडाँडा, लाम्जुरा, जुनबेंसी, फुङमोचे, तोङगीनासा, टाक्सिन्दु, यावागोन्पा, जुभिङफेदी, खरिखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै लुक्लामा आएर सकिनेछ । कुल १ सय ७५ किलोमिटर दुरीको रेसमा खेलाडीलाई समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिसम्म दौडाइने छ ।


एभरेस्ट अल्ट्रा रेस सन् २०११ मा पर्यटन वर्ष केन्द्रित गरी जिरीबाट सुरु गरिएको थियो । यसले पर्यटन वर्ष २०२० को प्रवर्द्धनसमेत सहयोग पुग्ने आयोजकको भनाइ छ । ‘हामीले तेन्जिङ र हिलारी हिँडेको रुटबाट सुरुआत गरेका थियौं तर त्यसलाई जोगाउन स्थानीय र संघ सरकारले नसकेपछि रुट परिवर्तन गरेका छौं ।’ अन्नपूर्ण ट्रेक्सका निर्देशक शेर्पाले भने, ‘यो रुटले पर्यावरण बचाउने सन्देश दिनुका साथै पर्यटन प्रचारमा पनि आवश्यक सघाउ पुग्ने आशा छ ।’


यो रेस नेपालमा हुने अल्ट्रा रेसमध्ये व्यवस्थित र महँगो रेस मानिने आयोजकको दाबी छ । यसमा प्रत्येक दिन धावकले एक क्याम्प (शिविर) मात्र दौडन पाउनेछन् । ६ रात क्याम्पमा बिताउँदै भोलिपल्ट अर्को क्याम्पका लागि उनीहरू दौडिनेछन् । क्याम्पमा खानेबस्ने सबै सुविधा आयोजकले उपलब्ध गराउँछ ।


प्रत्येक धावकलाई जीपीएस प्रणालीबाट ट्र्याकिङ गरिन्छ । रुटहरूमा समेत चिन्ह लगाएर प्रस्ट बनाइने गरेको शेर्पाले बताए । मेडिकल टिमसमेत साथै रहेकाले जोखिममा उद्दारको सम्भावना बढी हुने एभरेस्ट म्याराथन विजेता भइसकेका सुमन कुलुङले बताए ।


पत्तालेबाट रेस सुरु भएपछि तल्लो सोलु क्षेत्रको सीमा जोडिएको ओखलढुंगाको जन्तरधाप, ठाडेलगायतका स्थानको पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । ‘पछिल्लो समय तल्लो सगरमाथा अर्थात सोलु–दूधकुण्ड नगरपालिका क्षेत्रमा पर्यटकको संख्या ह्वात्तै बढेको छ ।’ दूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले भने, ‘यस्ता रेसले झनै विदेशमा हाम्रो ठाउँको प्रचार धेरै हुन्छ ।’

प्रकाशित : कार्तिक २६, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?