कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी र चर्च ब्वाइज भिड्दै

अर्जुन राजवंशी

(बिर्तामोड) — अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच फाइनल खेल हुनेछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सिजनको पहिलो उपाधिका लागि दुई टिम आपसमा भिड्न लागेका हुन् ।

आर्मी र चर्च ब्वाइज भिड्दै

भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्कीलगायतका पहिलो रोजाइका खेलाडीबिना गोल्डकप खेलिरहेको आर्मीले पहिलो सेमिफाइनलमा भारत सिक्किमको आक्रामक फुटबल क्लबलाई पराजित गरेको थियो । चर्च ब्वाइजले सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो ।


कात्तिक १६ देखि सुरु भएको गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५० हजार तथा उपविजेताले नगद ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक नवीन न्यौपानेले गोल्डकपमा उपाधि जित्नेमा आफूहरू विश्वस्त रहेको बताए । उनले टिममा अधिकांश नयाँ खेलाडी रहेकाले उपाधि जित्न कडा मिहिनेत गर्नुपर्ने बताए । ‘पहिलो रोजाइका खेलाडीहरू छैनन् । नयाँ खेलाडीहरूमा अनुभवको कमी छ,’ न्यौपानेले भने, ‘तर पनि, आशा छ हामी खटेर खेल्छौं र निर्धारित समयभित्रै नतिजा निकाल्ने रणनीतिमा छौं ।’


उनले चर्च ब्वाइजका दुइटा खेल हेरिसकेकाले फाइनलका लागि रणनीति बनाउन गाह्रो नहुने बताए । चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले आर्मीसँग फाइनल खेल्न पाउँदा आफूहरू उत्साहित र सचेत रहेको बताए । उनले आर्मीविरुद्ध नतिजा निकाल्न गाह्रो हुने भए पनि निर्धारित समय भरपूर मिहिनेत गरेर खेल्ने रणनीतिमा आफूहरू रहेको बताए ।


‘आर्मी धेरै राम्रो टिम हो । आर्मीविरुद्ध नतिजा निकाल्न सहज नहुने हामीलाई राम्ररी थाहा छ,’ राईले भने, ‘फाइनल खेलिरहेकाले कडा मिहिनेत गर्नुको विकल्प हामीसँग छैन ।’ मिहिनेत र फाइनल खेलको रणनीतिअनुसार अघि बढ्न सके उपाधि जित्छौं भन्नेमा आशावादी छौं ।


आर्मीले सिजनको दोस्रो गोल्डकप खेलिरहेको छ । गत महिना चितवनमा भएको गोल्डकपमा आर्मी सेमिफाइनलबाटै बाहिरिएको थियो । चर्च ब्वाइजले भने तेस्रो गोल्डकप खेलिरहेको हो । चर्च ब्वाइजका मुख्य डिफेन्डर अशोक सुनुवार पुलिसविरुद्धको सेमिफाइनलमा घाइते बनेका छन् । टाउकोमा चोट रहेका उनी फाइनलमा भने मैदान उत्रिने प्रशिक्षक राईले बताए ।


साना कदका भए पनि युवा टोली भएकाले चर्च ब्वाइजले जारी गोल्डकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । चर्च ब्वाइजको सट पास र गोल गर्न सक्ने क्षमता फाइनलमा आफूहरूका लागि चुनौती हुने आर्मीका प्रशिक्षक न्यौपानेले बताए । बिर्तामोडको जायोन स्पोर्टस् क्लबको आयोजनामा जारी गोल्डकपमा दुई भारतीयसहित १० टिमको सहभागिता थियो ।


प्रकाशित : कार्तिक २५, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?