कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय तेक्वान्दो टोलीलाई चीनमा सफलता

कान्तिपुर संवाददाता

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि वैदेशिक प्रशिक्षणमा रहेको राष्ट्रिय तेक्वान्दो टोलीले चीनमा आयोजित आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा १ रजत र ५ कांस्य पदक जितेको छ ।

राष्ट्रिय तेक्वान्दो टोलीलाई चीनमा सफलता

चाइना ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता विश्व तेक्वान्दो महासंघबाट मान्यताप्राप्त वरीयता निर्धारण गर्ने प्रतियोगिता हो ।


बिहीबारदेखि सुरु प्रतियोगितामा नेपालले शुक्रबार ३ कांस्य जितेको थियो । अन्तिम दिन शनिबार १ रजतसहित २ कांस्य थपेको हो । नेपालका ज्ञानेन्द्र हमालले ६३ केजीमूनि तौल समूहमा रजत पदक जितेका हुन् । विश्व तेक्वान्दोको वरीयता निर्धारण गर्ने प्रतियोगितामा नेपाली खेलाडीले पाएको यो ठूलो सफलता हो ।


ज्ञानेन्द्रले चोटका कारण चीनका खेलाडीसँगको फाइनल खेल खेल्न नसक्दा रजतमा चित्त बुझाउनुपरेको प्रशिक्षक दीपक विष्टले कान्तिपुरलाई बताए । ज्ञानेन्द्रले पहिलो खेल चिनियाँ, क्वार्टरफाइनलमा दक्षिण कोरियाली र सेमिफाइनलमा चिनियाँ प्रतिद्वन्द्वीलाई पराजित गरी फाइनलमा पुगेका हुन् ।


महिला ७३ केजीमाथि तौल समूहमा निशा रावल र पुरुष ८७ केजीमूनि तौल समूहमा भूपेन्द्र श्रेष्ठले शनिबार कांस्य जितेका हुन् । पहिलो खेलमा बाइ पाएकी निशा सेमिफाइनलमा चिनकी खेलाडीसँग पराजित भइन् । भूपेन्द्रले पनि पहिलो खेल बाइ पाएका थिए । क्वार्टरफाइनलमा चिनियाँ खेलाडीलाई हराएका उनले पनि सेमिफाइनलमा चीनकै खेलाडीसँग पराजय बेहोरे ।


शनिबार महिला ७३ केजीमूनिमा मनिता शाही, ६३ केजीमूनिमा अप्सरा कार्की, ६२ केजीमूनिमा संगीता बस्याल र पुरुष ८७ केजीमाथि तौल समूहका सक्षम कार्की भने पहिलो खेलमै पराजित भएका थिए ।

प्रकाशित : कार्तिक २३, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?