एमसीसीसँग नेपालको हार

विनोद पाण्डे

काठमाडौँ — मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा नेपाललाई २ सय ८ रनले पराजित गरेको छ । तेस्रो तथा अन्तिम दिनको खेलको अन्तिम सत्रमा ३ सय ९३ रनको लक्ष्य लिएर आएको नेपालको दोस्रो इनिङ्स ४१ औं ओभरमा १ सय ८४ रनमा अलआउट भयो ।

चौध वर्षपछि मान्यता प्राप्त तीनदिवसीय खेलिरहेको नेपालबाट सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए । आउट हुने अन्तिम ब्याट्सम्यान उनले सन्दीप लामिछानेसँग नवौं विकेटमा ५० रनको साझेदारी गरेका थिए । पहिलो इनिङ्समा अविजित ३९ रन बनाएका सन्दीप २५ रनमा एलबीडब्लु आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ललाई ६ रनमै गुमाएको नेपालबाट शरद भेषावकर १५, आरिफ शेख १९, करण केसी ८ रनमा आउट भए । ओपनर राजु रिजालले ३१ रन बनाएका थिए ।

दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पवन सर्राफले खाता खोल्नै सकेनन् । नेपालबाट ६ खेलाडी एलबीडब्लु आउट भएका थिए । एमसीसीका ओलिभर हेनोन डाल्बीले ५ विकेट लिए ।

यसअघि एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर शुक्रबार बिहान इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको थियो । नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १,१ विकेट लिएका थिए ।

एमसीसीबाट इड योङले ३१, टिम वेस्ट्ली ३४, माइल्स हेमोन्ड ११, विल भानडेरस्पार ६ रन बनाई आउट भए । नेपालले एमसीसीलाई पहिलो इनिङ्समा ३ सय ६४ रनमा अलआउट गर्दा पनि करण र सन्दीप लामिछानेले ३,३ विकेट लिएका थिए । जबाफमा नेपालले १ सय ५३ रनमात्र बनाउन सके पनि नेपाललाई फलोअनमा बोलाएको थिएन ।

प्रकाशित : कार्तिक २२, २०७६ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

वडा सदस्य मृत फेला परे

तृप्ति शाही

बैतडी — बैतडीमा शुक्रबार एकजना वडा सदस्य मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुरचौर्डी नगरपालिका-३ का वडा सदस्य गणेश पार्की बिहान वडा नम्बर १ को राताशीला मन्दिर नजीकै देवलमा मृत्त भेटिएका हुन् ।

४५ वर्षीय पार्की गएराति स्थानीय राताशीला मन्दिरमा लागेको मेला हेर्न गएका थिए । बिहानै उनी मृत्य भेटिएको खबर आएपछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

उनले भने, ‘बाहिरी चोटपटक केही देखिएको छैन । विवाद पनि केही नभएको नगर प्रमुखले भन्नु भएको छ । तर हामी मृत्युको कारण खोज्नको लागि अनुसन्धान गरिरहेका छौं । पोष्टमार्टम पनि हुने तयारी छ । कसरी रैछ थाहा होला । ’

प्रकाशित : कार्तिक २२, २०७६ १४:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT