कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

पूर्वाञ्चल गोल्डकप फुटबलमा आर्मी विजयी

कान्तिपुर संवाददाता

विर्तामोड — विभागीय टोली त्रिभुवन आर्मी क्लब बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । 

पाहुना टोली मोलवे फुटबल क्लब आसामलाई २–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । डोमालाल राजवंशी रंगशालामा बुधबार आर्मीका टेकबहादुर बुढाथोकी र दीपक गुरुङले गोल गरे । टेकबहादुरले छैटौं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।


रमेश भुजेलले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासमा टेकबहादुरले वान टचमै गोल गरेका हुन् । दीपकले ७४ औं मिनेटमा गोल थप्दै आर्मीको जित सुनिश्चित गरेका थिए । मैदानको दायाँ साइडबाट दीपकले गरेको फ्रिकिक प्रहार आसामका गोलकिपर अल्बट हमारले नियन्त्रणमा लिन नसक्दा गोल हुन पुग्यो । आर्मीले आक्रामक फुटबल क्लबसँग शुक्रबार पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।


आर्मीले ५४ औं मिनेटमा गोल थप्न सकेन । टोलीका भगवान श्रेष्ठले गरेको प्रहार बारमा लागेर फर्किएको थियो । २० औं मिनेटमा रमेश भुजेलले पाएको राम्रो बल अफसाइडका कारण पोस्टको दिशा दिन सकेनन् । टंक बस्नेतले २५ औं मिनेटमा अघि बढाएको बल पोस्टमा प्रहार गर्न नसक्दा खेर गयो । भगवानको ४० औं मिनेटको प्रहार पनि बतासिएको थियो । टंकले नै ५० औं मिनेटमा बक्सभित्रबाट गरेको प्रहार फितलो भयो । आसामले पहिलो हाफमा आर्मीविरुद्ध कुनै आक्रमण बुन्न सकेन । ७० औं मिनेटमा लाल्मिङ्गलु भान्कलले गरेको प्रहार गोलकिपर विवश चौधरीको हातबाट फुत्किएको थियो । तर उक्त बललाई आसामकै इडवार्डले गरेको प्रहार सशक्त नहुँदा गोललाइनबाट आर्मी डिफेन्डरले क्लियर गरेका थिए ।


आसामका इमानुयल खोबुङले ५३ औं मिनेटमा गरेको फ्रिकिक प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ६३ औं मिनेटमा आसामका लाल्मिङ्गलु भान्कलको प्रहार किपर विवशले पञ्च गरेर फर्काएपछि पुनः आसामकै इडवार्डको प्रहार गर्दा बल आकासिएको थियो । आर्मीका टेकबहादुर बुढाथोकी म्यान अफ द म्याच घोषित भए ।


प्रकाशित : कार्तिक २१, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?