कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियन्त्रणमा आएन लागूऔषध

कान्तिपुर संवाददाता

परासी — जिल्ला प्रहरीको हिरासत कक्ष भरिभराउ छ । हिरासतका ५९ मध्ये ३३ जना लागूऔषध सेवन तथा ओसारपसारका हुन् । 

सीमावर्ती ठुटीबारीमा लागू पदार्थको खुलेआम बिक्री हुने गरेको छ । अधिकांश ग्राहक युवायुवती हुन्छन् । सेवन र ओसारपसार आरोपमा उनीहरू पक्राउ पर्दै आएका छन् । मुलुकका विभिन्न जिल्लाबाट लागूऔषध सेवन र कारोवारका लागि यहाँ आउने गर्छन् । खुला सीमा भएकाले ओसारपसार बढेको हो । नेपाल र सशस्त्र प्रहरीका अधिकारी संयुक्त रूपमा निगरानी र जाँच गरिरहेको दाबी गर्छन् । त्यसले स्थिति नियन्त्रणमा आएको देखिँदैन । यहाँ प्रतिबन्धित औषधि सीमावर्ती भारतीय बजारमा खुलेआम बिक्री गरिन्छ । ती औषधि खरिद गर्न काठमाडौं, पोखरादेखि युवा यहाँ आउँछन् । बर्दघाट–त्रिवेणी सडक खण्ड र पूर्वपश्चिम राजमार्गमा जाँच गर्दा लुकाइछिपाइ ल्याइएको लागूऔषध बरामद हुने गरेको हो । यहाँबाट किनमेल र घुम्नका लागि भारत जाने र उताबाट सेवन र बिक्रीका लागि लुकाएर ल्याउने गरेका छन् ।


रूपन्देहीको बेलहिया नाकामा कडाइ गरेपछि यस्तो समूह पश्चिम नवलपरासीस्थित विभिन्न नाकामा केन्द्रित छ । जिल्ला प्रहरीका डीएसपी वीरेन्द्र थापाले खुला सिमाना भएकाले लागूऔषध कारोबार बढेको बताए । ‘हामीले आफ्नातर्फबाट काम गरिरहेका छौं । त्यही पनि कारोबारमा संलग्न आरोपमा युवा पक्राउ परिरहेका छन्,’ उनले भने, ‘खुला सिमानाले लागूऔषध नियन्त्रण चुनौती बनेको छ । आपराधिक क्रियाकलाप हुनुमा यसको कारण बढी छ ।’


लागूऔषधका कारण यहाँ अन्य आपराधिक क्रियाकलाप पनि बढेका छन् । अधिकांश आपराधिक घटना मदिरा र लागूऔषध सेवन गर्नेबाट हुने गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । गत साउन, भदौ र असोजमा मात्र २७ लागूऔषधका मुद्दा दर्ता भएका छन् । जसमा ४६ पुरुष र एक महिला गरी ४७ जनाविरुद्ध सरकारी वकिल कार्यालयमार्फत मुद्दा चलाइएको छ । यो तथ्यांक जिल्लामा पक्राउ परेकाहरूको मात्र हो । प्रहरीले विद्यालयस्तरमा लागूऔषध सेवन र यसको कारोबार न्यूनीकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गरे पनि त्यसको प्रभाव देखिएको छैन ।


प्रकाशित : कार्तिक २०, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?