रातो बल र सेतो ड्रेसको आयाम

‘तीनदिवसीय भएकाले नै दुवै टोलीका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । हामी पनि यस खेलको प्रतीक्षामा छौं । नेपालसँग तीनदिवसीेय क्रिकेट खेल्न पाउँदा हामी पनि उत्साही छौं’ 
विनोद पाण्डे

काठमाडौँ — रातो बल र सेतो ड्रेससँग नेपाली क्रिकेटको सम्बन्ध पातलिएको धेरै भइसकेको छ । एकदिवसीय क्रिकेट नै ‘कलरफूल’ भएपछि सीमित ओभरको खेलबाट रातो बल र सेतो ड्रेस हराउन पुगेको थियो । अन्तरमहादेशीय कपमा नेपाल छनोट हुन छाडेदेखि नै रातो बल र सेतो ड्रेससँग नेपालको नाता टुटेको थियो ।

विश्व क्रिकेटको ऐतिहासिक पहिचान बोकेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार तीनदिवसीय खेलका लागि उत्रँदा रातो बल र सेतो बलले नेपाली क्रिकेटलाई नयाँ आयाम दिनेछ । नेपालले यसै खेलबाट १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गर्नेछ ।

प्रथम श्रेणीको क्रिकेट मुख्यत तीन वा चारदिवसीय हुनेछ । यसलाई मिनी टेस्ट पनि भन्ने गरिन्छ । नेपालसहितका एसोसिएट राष्ट्रका लागि यो पाँचदिवसीय टेस्ट क्रिकेट बराबर हो । विश्व क्रिकेटका पूर्ण राष्ट्रको घरेलु क्रिकेटको बहुदिवसीय खेललाई प्रथम श्रेणीको मान्यता हुन्छ ।

विश्व क्रिकेटको नियम निर्माण निकायमध्ये एक एमसीसीको पहलमा नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको हो ।
घरेलु क्रिकेटमा नेपालले सन् २००९ मा पछिल्लो पटक तीनदिवसीय क्रिकेट खेलेको थियो । त्यसलाई प्रथम श्रेणीको मान्यता थिएन । त्यतिबेला प्रतिद्वन्द्वी अरु कुनै नभएर एमसीसी नै थियो । एमसीसीले २००३ यता हरेक ६ वर्षमा नेपाल भ्रमणमा आएर विभिन्न संरचनाको खेल खेल्दै आएको छ । त्यसमा २००९ मा तीनदिवसीय खेल खेलेको थियो ।

एमसीसीले दुई साता लामो यसपालिको भ्रमणमा नेपाल यू–१९ र राष्ट्रिय टोलीबाट आइतबार र सोमबार गरी दुई एकदिवसीय खेल खेलिसकेको छ । एमसीसीसँगको एकदिवसीय खेलबाट ज्ञानेन्द्र मल्लले नेपालको पूर्ण कप्तानको रूपमा यात्रा अगाडि बढाएका थिए । पारस खड्काको राजीनामा पछि उनलाई नेपाली क्रिकेट टोलीको कप्तान बनाइएको थियो । उनै ज्ञानेन्द्रले एमसीसीसँग १० वर्षअघिको तीनदिवसीय खेलमा १ सय ४१ रन बनाएका थिए ।

‘भर्खर यू–१९ खेलिरहेको समयमा त्यस्तो इनिङ्स खेल्दा सकरात्मक आत्मविश्वास सोच आएको थियो । एमसीसीका टोली व्यवस्थापकले लर्डसमा ट्रेनिङ लान्छु भन्दा अवसर पाउँदा राम्रो गरे जस्तो लागेको थियो,’ एमसीसीसँगको पछिल्लो खेल सम्झँदै ज्ञानेन्द्रले भने, ‘अहिले तीनदिवसीय क्रिकेट खासै खेलिएको छैन, धेरैसँग अनुभव नै छैन, त्यसैले हामीले संघर्ष गर्छौं जस्तो लागिरहेको छ । चुनौती भए पनि तीनदिवसीय खेल खेल्न पाउँदा सबै उत्साही छौं । रातो बल र सेतो क्रिकेट लामो समयपछि खेल्न पाउँदा उत्साह थपिएको हो ।’

ट्वान्टी–२० धेरै खेलिरहेकाले हुनसक्छ एमसीसीसँगको एकदिवसीयमै आफूहरूलाई भिज्न कठिन भइरहेकाले तीनदिवसीय खेल्न पनि गाह्रो हुनसक्ने अड्कल काट्छन् कप्तान ज्ञानेन्द्र ।

एमसीसीका व्यवस्थापक रिचर्ड ग्रेटोरेक्स
नवनियुक्त कप्तान बहुदिवसीय क्रिकेटको महत्त्व बुझ्न जरुरी रहेको बताउँछन् । ‘तीन दिवसीयमा टेम्परामेन्ट, फरक स्किल चाहिन्छ, हाम्रा कति खेलाडीलाई त तीनदिवसीय क्रिकेटबारेमा खासै थाहा नै छैन, बहुदिवसीय खेल कतिको महत्त्वपूर्ण छ भनेर उनीहरूले धेरै बुझ्न बाँकी छ । नेपालमा क्रिकेट यतिको लोकप्रिय भइरहेको समयमा ट्वान्टी–२० खाले क्रिकेटमा मात्र हाम्रो ध्यान केन्द्रित छ । टेस्ट क्रिकेटबारे जसले पनि बोलिरहेको हुन्छ, नेपाल अब टेस्ट राष्ट्र बन्न सक्छ भनेर । तीनदिवसीय, चारदिवसीय, प्रथम श्रेणीको महत्त्व के हो भनेर अझै धेरैलाई थाहा छैन,’ ज्ञानेन्द्रले भने, ‘टेस्ट क्रिकेटका लागि बहुदिवसीय क्रिकेट निकै जरुरी छ । यसले खेलाडीको स्किलदेखि लिएर क्रिकेटिङ सेन्सको विकास गर्छ । ग्रासरुटदेखि नै लामो संरचनाको खेल हुने हो बल्ल नेपाली क्रिकेटमा परिवर्तन आएर अर्को स्तरमा पुग्न सकिन्छ ।’ राष्ट्रिय टिमबाट खेल्न थालेको १४ वर्षपछि ज्ञानेन्द्रले प्रथम श्रेणीको क्रिकेटमा
डेब्यु गर्दैछन् ।

प्रथम श्रेणीदेखि टेस्ट क्रिकेट सादा सेतो ड्रेसमा खेलिँदै आएको थियो । पछिल्लो समय सेतो ड्रेस भए पनि टेस्ट क्रिकेटमा खेलाडीको नम्बर राखेर खेल्ने चलन सुरु भएको छ । नेपाली खेलाडी आरिफ शेख प्रथम श्रेणीको क्रिकेट खेल्न निकै उत्साही देखिन्थे । उनले एमसीसीसँग खेल्न लागि आफूले लगाउने नम्बरधारी सेतो जर्सी सामाजिक सन्जालमा राखेर त्यो उत्साह पोखेका हुन् ।

एमसीसीमा टेस्ट क्रिकेटका अनुभवी पाकिस्तानका यासिर अराफत र इंग्ल्यान्डका टिम वेस्ट्ली छन् । उनीहरूको उपस्थितिले नेपाली क्रिकेटको स्तर उकास्न सहयोगी हुने विश्वास एमसीसीका व्यवस्थापक रिचर्ड ग्रेटोरेक्सको छ । अराफत र वेस्ट्लीसँगै योर्कसायरका विल रोड्स, डर्बीसायरका कप्तान बिली गोडलम्यान, ह्याम्पसायरका पूर्व ब्याट्सम्यान जिम्मी एडम्ससम्मिलित एमसीसीले नेपाललाई बलियो चुनौती तेर्स्याउने देखिन्छ ।

‘नेपालसँग तीनदिवसीेय क्रिकेट खेल्न पाउँदा हामी पनि उत्साही छौं । यसलाई प्रथम श्रेणीको मान्यता दिएकामा हामी धेरै खुसी छौं । नेपालसँग प्रथम श्रेणीको खेल खेल्नुपर्ने भएकाले हामीले यहाँ बलियो टोली ल्याएका छौं,’ ग्रेटोरेक्सले भने, ‘तीनदिवसीय भएकाले नै दुवै टोलीका लागि यो खेल उत्तिकै महत्त्वपूर्ण छ । हामी पनि यस खेलको प्रतीक्षामा छौं ।’

हरेक ६ वर्षमा नेपाल आइरहेको एमसीसीले एमसीसी फाउन्डेसनको सहयोगमा आगामी ३ वर्ष लगातार नेपाल भ्रमण गर्नेछ । एमसीसीले यसपालि पोखरामा पनि दुई खेल खेल्ने कार्यक्रम छ । टोली व्यवस्थापकले भने, ‘लिगेसी कार्यक्रमअन्तर्गत अर्को वर्ष पोखरामा सुविधाहरू थप्ने कार्यक्रम छ । अर्को वर्ष हामी महिला क्रिकेट लिएर आउने छौं भने त्यसको अर्को वर्ष सम्भवत: ग्रासरुट टिम ल्याउने छौं । तर यू–१९ सँगको पहिलो खेल हारेपछि बलियो टोली ल्याउनुपर्छ जस्तो लागिरहेको छ ।’

आइतबार पराजित भए पनि यू–१९ ले एमसीसीसँगको खेलमा २ सय ९६ रन बनाएको थियो । तर एमसीसीले खेल ३८ रनले जितेको थियो । नेपाली राष्ट्रिय टोलीसँगको खेलमा भने २ सय १ रनमात्र बनाउन सकेको एमसीसीले एकदिवसीयमा ५ विकेटको पराजय भोगेको थियो । अबको ध्यान प्रथम श्रेणीको क्रिकेटले तान्नेछ ।
प्रथम श्रेणीमा नेपाली खेलाडी
विनोद दास प्रथम श्रेणीको क्रिकेटमा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ३ खेलमा १९ विकेट लिएका छन् । त्यसका उनको ११.४२ को लोभलाग्दो औसत छ । नेपालले सन् २००४ को मार्चमा शारजहाँमा यूएईको खेलबाट प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो । पूर्व कप्तान दासले त्यही खेलको पहिलो इनिङ्समा २३ ओभरमा ६१ रन खर्चेर ५ विकेट लिएका थिए ।

नेपालले यूएईसँगै २००५ को मेमा अन्तरमहादेशीय कपमा खेलेको थियो, जुन नेपालले खेलेको पछिल्लो प्रथम श्रेणीको खेल थियो । यूएईलाई दोस्रो इनिङ्समा ७६ रनमै अलआउट गर्नेक्रममा दासले १६ ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए । विनोद दासले तीन पटक प्रथम श्रेणीको एक इनिङ्समा ५ वा सोभन्दा बढी विकेट लिएका छन् । यूएईसँगको दुई खेलको बीचमा नेपालले हङकङसँग खेलेको थियो । त्यसमा २९ रन खर्चेर ६ विकेट लिनु उनको मात्र नभई नेपाली खेलाडीको उत्कृष्ट बलिङ प्रदर्शन हो । नेपालले खेलेको चार प्रथम श्रेणीको खेलमध्ये २००४ को अप्रिलमा मलेसियासँगको खेलमा दासले चोटका कारण खेलेनन् । त्यही खेलबाट पारस खड्काले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए ।

दाससँगै शरद भेषावकरको प्रदर्शन प्रथम श्रेणीको क्रिकेटमा मिल्दोजुल्दो छ । शरदले बनाएको दुवै अर्धशतक यूएईसँगको खेलमा छ । शरदले २००४ शारजहाँमा दोस्रो इनिङ्समा १ सय ७२ बलमा ५० रनमा नेपालले यूएईसँगको खेल बराबरीमा टुंग्याएको थियो । त्यसको अर्को वर्ष नेपालले कीर्तिपुरमा ऐतिहासिक जित हात पार्दा शरदले यूएईविरुद्ध शरदले आफ्नो ‘कमब्याक’ खेलमा ८९ रनको सानदार इनिङ्स खेलेका थिए । प्रथम श्रेणीमा त्यो नेपाली ब्याट्सम्यानको उच्च स्कोर हो । शरदले नेपालले खेलेको सबै चार प्रथम श्रेणीको खेलमा ३४ को औसतमा १ सय ७० रन बनाएका छन् । उनी नेपालबाट प्रथम श्रेणीमा सर्वाधिक रन बनाउने शक्ति गौचनभन्दा १ रनले मात्र पछाडि छन् । शक्तिले पनि नेपालबाट सबै चार खेल खेल्दै १ सय ७१ रन बनाउँदा दुई अर्धशतक प्रहार गरेका थिए ।

एमसीसँग बुधबार कीर्तिपुर मैदानमा उत्रँदा शरद र अलराउन्डर सोमपाल कामीसँग मात्र प्रथम श्रेणी क्रिकेटको अनुभव रहनेछ । सोमपाल यस १४ वर्षको दौरानमा प्रथम श्रेणी खेल्ने एक्लो नेपाली खेलाडी रहे । उनले श्रीलंकामा क्लब क्रिकेट खेल्नेक्रममा २०१५ को डिसेम्बर र २०१६ को जनवरीमा सारासेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणीको क्रिकेट खेलेका थिए । शरद र सोमपाल खेलेमा एमसीसीसँग नेपालबाट ९ खेलाडीले प्रथम श्रेणीमा ‘डेब्यु’ गर्ने छन् ।

प्लेइङ कन्डिसन
प्रथम श्रेणीको मान्यता रहेकाले बुधबार सुरु हुने तीनदिवसीय खेल पनि त्यहीअनुरुप खेलाइने छ । प्रत्येक दिनको खेल ९६ ओभरको हुनेछ । फिल्डिङ टिमले प्रतिघण्टा १६ ओभरको दरले बलिङ गर्नुपर्नेछ । बिहान ९.३० मा सुरु भएको खेल दिउँसो ४.३० मा टुंगिने छ । भोजन समय ४० मिनेट र चिया समय २० मिनेटको हुनेछ । प्रत्येक सत्र २ घण्टाको हुनेछ । साढे ४ बजेसम्म ९६ ओभर नफालेमा आधा घण्टा थप्न सकिने प्रावधान प्लेइङ कन्डिसनमा छ । ओभरको सीमितता राखिएको छैन । एउटा टिमले चाहेको खण्डमा जति ओभर पनि ब्याटिङ गर्न सक्नेछ ।

प्रकाशित : कार्तिक २०, २०७६ ०७:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ज्ञानेन्द्र मल्ल : पूर्ण कप्तान

पारस खड्काको नेतृत्वमा फड्को मारेको नेपाली क्रिकेट टिमको नेतृत्व अहिले उनकै उपकप्तान ज्ञानेन्द्र मल्लको हातमा आइपुगेको छ । पारसका हरेक सफलताका साक्षी र साझेदार ज्ञानेन्द्र लामो प्रतीक्षापछि पूर्ण कप्तान भएका छन्, टिमलाई अझै सफल बनाउने अभिभारा बोकेर ।
विनोद पाण्डे

कीर्तिपुरमा २००५ मा मलेसियासँगको तीन दिवसीय खेलका लागि ज्ञानेन्द्र र अभय राणालाई नेपाली टोलीमा राखिएको थियो  ।  दुवैले पहिलोपटक राष्ट्रिय टोलीको अनुभव बटुल्दै थिए  ।

प्लेयिङ ११ मा दुवैको नाम थिएन । मलेसियासँगको खेल नेपालले दुई दिनभन्दा कम समयमै जित्यो । ‘अफिसियल डिनर’ मा नेपाली टोलीका सबै खेलाडी ‘अफिसियल ब्लेजर’ मा थिए । ज्ञानेन्द्र र अभय ‘ट्राभल टिसर्ट’ मा थिए । उनीहरूलाई क्यानले ब्लेजर दिइसकेको थिएन । चिसोमा ज्ञानेन्द्र र अभयले आफू टिममा परेपछि नेपालले हात पारेको पहिलो विजय मनाएका थिए ।

एकदिवसीय क्रिकेट ‘कलरफुल’ भएपछि कप्तानले टस गर्न जाँदा ब्लेजर लगाएर जाने चलन हराउन पुग्यो । अन्यथा ज्ञानेन्द्रले पनि पहिलो पूर्ण कप्तान भएपछि ब्लेजर लगाउँदै विपक्षी टोलीका कप्तानसँग सेन्टर पिचमा टसका लागि जाने थिए । त्यसले निश्चय पनि ज्ञानेन्द्रलाई त्यो जाडोमा कठ्यांग्रिंदै मलेसियासँग पाएको विजयमा ब्लेजरबिनाको अफिसियल डिनरलाई सम्झाउने थियो ।

***
करिब एक वर्षअघि एउटा संस्थाले नेपाली क्रिकेट टोलीका कप्तानहरूलाई एउटा थलोमा सम्मान गरेको । ज्ञानेन्द्र मल्लको नाम त्यसमा थिएन । त्यसमा उनको कुनै दुःखेसो त थिएन, तर आफू त्यो सूचीमा छुटेको भनेर जानकारी गराइरहेको भाव देखाउँथे ।

ज्ञानेन्द्रले त्यसअघि धेरैपटक नेपालको कप्तानी गरिसकेका थिए । जस्तो २०१४ को विश्वकप छनोटमा न्युजिल्यान्डमा स्कटल्यान्डविरुद्धको पहिलो खेल, २०१७ मा केन्यासँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दुई खेल र त्यही वर्ष बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कपमा । सबैमा ज्ञानेन्द्रको नेतृत्वमा नेपालले खेलेको थियो । उनले कप्तानी गरेको यो सबै खेलमा नियमित कप्तान पारस खड्का या घाइते भएका थिए अथवा अस्वस्थ थिए ।

एक हिसाबमा ज्ञानेन्द्र पूर्ण कप्तान बनिसकेका थिएनन् । जुन संस्थाले नेपाली क्रिकेटका कप्तानहरूलाई सम्मान गरेको थियो त्यसमा सबै पूर्ण कप्तान थिए । ज्ञानेन्द्र काम चलाउ कप्तान मात्र थिए । सम्भवतः त्यसैले उनको नाम सम्मान पाउन लागेको त्यो सूचीमा थिएन । झन्डै साढे तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले हालै नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध ससर्त फुकुवा गरेको थियो । क्यान निलम्बन फुकुवा भएको भोलिपल्टै पारसले कप्तानी त्याग गरेका थिए । त्योसँगै रिक्त भएको स्थानमा क्यानले ज्ञानेन्द्रलाई नेतृत्व सुम्पने निर्णय गरेको थियो ।

अब कुनै व्यक्ति वा संस्थाले पुनः नेपाली क्रिकेट कप्तानहरूलाई सम्मान गरेमा ज्ञानेन्द्र पनि त्यसमा पर्नेछन् । उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, गणेश शाही, राजु खड्का, परेश लोहनी, विनोद दास, पारससँगै ज्ञानेन्द्रको नाम नेपालको क्रिकेट कप्तानको सूचीमा थपिएको छ । पारस र ज्ञानेन्द्रलाई एकैपटक नेपालको नेतृत्व सुम्पिएको थियो । २००९ मा एसीसी ट्वान्टी–२० खेल्न यूएई गएको नेपाली टोलीमा पारसलाई कप्तान र ज्ञानेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिइएको थियो ।

पारस निरन्तर १० वर्षसम्म नेपालको कप्तान रहे । यस क्रममा नेपाली क्रिकेटले ठूलो छलाङ मार्‍यो । विश्व क्रिकेट लिगमा डिभिजन ५ मा रहेको नेपाल अहिले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली हो । यसबीचमा नेपालले डिभिजन ५, ४ र ३ को उपाधि उचाल्यो । २०१४ मा त नेपालले विश्व ट्वान्टी–२० मै खेल्दै हङकङ र अफगानिस्तानमाथि विजय हात पार्‍यो । ट्वान्टी–२० विश्वकप खेलेको भन्दा अझ ठूलो महत्त्व छ एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको ।

यी सबै यात्रामा टिम नेतृत्वमा ज्ञानेन्द्रको भूमिका उही थियो, उपकप्तान । पारसले कप्तानबाट दिएको राजीनामालाई धेरैले स्वाभाविक रूपमा अझै लिन सकेका छैनन् । यही अन्योलमा नेपालले नयाँ कप्तान छान्नुपर्ने थियो । नेपाली क्रिकेटका कप्तान परिवर्तनका पछिल्ला केही शृंखलामा स्वाभाविक रूपमा नयाँ कप्तान देखिएका थिए । जस्तो पवन अग्रवालपछि राजु खड्का, राजुपछि विनोद दास, विनोदपछि पारस कप्तान हुने लगभग तय जस्तै थियो । ज्ञानेन्द्र पनि पारसपछिका ‘नेचुरल सक्सेसर’ थिए ।

नेपाली क्रिकेट टोली पहिलाजस्तो अहिले छैन । टिममा धेरै मनमुटावहरू देखिएका छन् । त्यसैले एउटा समूह टिमभित्रको अरू खेलाडीलाई पनि कप्तान बनाउन लागिरहेको थियो । यही अन्योललाई चिर्दै क्यानले ज्ञानेन्द्रलाई जिम्मेवारी दिएको हो । कसलाई कप्तान बनाउनेमा क्यान आफैं अन्योल देखिन्थ्यो । निर्वाचनबाट भर्खर आएकाले क्यान आफैंसँग पनि खेलाडी छनोट समिति थिएन ।

क्यान आफैंले ज्ञानेन्द्रलाई छाने पनि प्रक्रियागत हिसाबले त्यो विवादस्पद बन्ने थियो । क्यानले नेपालका मुख्य प्रशिक्षक उमेश पटवाल र राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमाटालाई राख्दै एउटा प्राविधिक समिति बनायो र त्यसले नयाँ कप्तानको टुंगो लगायो । पारसले आफ्नो राजीनामापछि अबको नेतृत्व कसलाई दिनेभन्दा ज्ञानेन्द्रलाई दिनु उत्तम हुने जनाएका थिए । पारसको शुभकामना ज्ञानेन्द्रलाई स्पष्ट थियो । ज्ञानेन्द्रसँगै शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र सन्दीप लामिछाने कप्तानका लागि दाबेदार देखिएका थिए ।


पारसले बनाएको त्यही लेगासीलाई कायम राख्नु अहिले ज्ञानेन्द्रसामु सबैभन्दा ठूलो चुनौती हो । पारसले गर्दा नेपाली क्रिकेटबाट उच्च आकांक्षा राखिएको र त्यसमा आफु खरो उत्रने पर्ने ज्ञानेन्द्र स्विकार्छन् । ‘पूर्ण कप्तानी पाउनु र काम चलाउ जिम्मेवारी पाउनुमा धेरै फरक छ । यसमा चुनौतीसँगै अवसर पनि छ, सजिलो त पक्कै छैन,’ जिम्मेवारी र चुनौती थपिएर गर्विलो महसुस गर्दै ज्ञानेन्द्र भन्छन्, ‘नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट कप्तानको छाप छोडिसकेको छ । पारसको कप्तानीको त्यो पहिचानलाई पछ्याउन चुनौती नै छ । पारसको लेगासीलाई कायम राख्नुपर्नेछ ।’

योसँगै उनी नेपाल क्रिकेटलाई अझ अगाडि बढाउने अवसर पनि देख्छन् । यो मौका टिमका सबैलाई आएको उनको ठहर छ । ‘मलाई कहिल्यै पनि म कप्तान बन्नुपर्छ, हुनुपर्छ भन्ने लागेन । पारसले जुन हिसाबले नेतृत्व गरिरहेका थिए, त्यो असाधारण नै थियो । पारस रहुन्जेल उपकप्तान भए पनि मलाई कहिल्यै कप्तान हुनुपर्छ भन्ने लागेन,’ पारसले राजीनामा दिएपछि मात्र आफूले कप्तानको बारेमा सोच्न लागेको उनी बताउँदै थिए ।

ज्ञानेन्द्र नेपालका कीर्तिमानी खेलाडी हुन् । २००६ मा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गर्दै पहिलो दुई खेलमा अर्धशतक बनाएका थिए । यो कीर्तिमानलाई अझै नेपाली खेलाडीले भेटाउन सकेका छैनन् । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो अर्धशतक बनाउने नेपाली खेलाडीको कीर्तिमान उनकै नाममा छ । उनले मलेसियाविरुद्ध यसै वर्ष २० बलमा अर्धशतक बनाएका थिए, २०१२ मा साउदी अरेबियाविरुद्ध एसीसी ट्रफीमा एकै ओभरमा ६ चौका प्रहार गरेका थिए ।

२०१४ को विश्व ट्वान्टी–२० मा उनको अफगानिस्तानविरुद्धको आक्रामक ब्याटिङ अझै धेरैको मनमा गढेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने ज्ञानेन्द्र नै हुन् । चलखेलबाहेक ज्ञानेन्द्रलाई कसैले कप्तानीबाट रोक्न खोज्थ्यो भने त्यो उसको कमजोर फर्म नै थियो । उनको ब्याटिङ खासै चल्न सकिरहेको थिएन । राम्रो प्रदर्शन दिन नसक्दा उनको टिममा स्थान सुरक्षित नभएको अवस्थामा कसरी ज्ञानेन्द्रलाई कप्तान बनाउने भन्ने एउटा प्रश्न थियो ।

२९ वर्षीय ज्ञानेन्द्र हालै पहिलोपटक पिता बनेका थिए । त्यसैले हालै सिंगापुरको त्रिकोणात्मक ट्वान्टी–२० शृंखला, पाँच राष्ट्र सम्मिलित ओमानको ट्वान्टी–२० शृंखला पारिवारिक कारण गुमाएका थिए । त्यसअघि विश्व ट्वान्टी–२० एसिया छनोटमा उनले नेपालबाट सबैभन्दा बढी रन बनाएका थिए, त्यसमा ब्याटिङ स्ट्राइक रेट नै १ सय ७० को हाराहारी थियो । त्यसका बाबजुद नेपाल छनोट हुन सकेन । सिंगापुर र कतारका अगाडि नेपाल तेस्रो स्थानमा मात्र रह्यो ।

कलात्मक यी ब्याट्सम्यानले आफ्नो क्षमताअनुसार प्रदर्शनका आधारमा आफैंलाई न्याय गर्न सकेका छैनन् । उनको ब्याटिङ ग्राफ नेप्सेको सूचकजस्तो उकालो लागेको पनि छैन, स्थिर पनि छैन । तल–माथि भइरहेको छ । त्यसैले उनको आलोचकहरू पनि उत्तिकै छन् । उनले एकरूपको प्रदर्शन गर्न सकिरहेका छैनन् । गत वर्ष विश्वकप छनोटमा उनीबाट ठूलो अपेक्षा राखिएको थियो । उनको प्रदर्शन भने निकै कमजोर रह्यो । उनी नेपाली टोलीमै नरहने स्थिति पनि आयो । त्यही प्रतियोगितामा शीर्ष आठभित्र पर्दै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टोली बन्यो ।

उनले २०१४ मा सिंगापुरसँग डिभिजन ३ मा बनाएको शतक पहिलो थियो । यसले सबैभन्दा खुसी प्रशिक्षक पुबुदु दासानायकेलाई बनाएको थियो । दासानायकेले सोचेको जस्तो प्रदर्शन ज्ञानेन्द्रले दिन सकिरहेका थिएनन् । व्यक्तिगत ३० र ४० रनको बीचमा आउट हुनु ज्ञानेन्द्रको नियमितता नै जस्तो बनेको थियो ।

शतकले ज्ञानेन्द्रको आत्मविश्वासलाई फर्काउँछ भन्ने बुझाइ प्रशिक्षकको थियो । त्यसपछि पनि ज्ञानेन्द्रको प्रदर्शन उस्तै रह्यो, औसतको छेउछाउ मात्र । पारसको खेलजीवनलाई दुई भागमा छुट्याउँदा कप्तान अघि र पछिको प्रदर्शन विश्लेषण गर्नु महत्त्वपूर्ण हुन्छ । कप्तान बन्नुअघि पारसको प्रदर्शन पनि ठीकठाक खाले मात्र थियो । कप्तान बनेपछि उनको प्रदर्शन अकासिएको थियो । पूर्ण कप्तानले ज्ञानेन्द्रको ब्याटिङ प्रदर्शनलाई नउकास्ला भन्न सकिन्न ।

यसअघि ज्ञानेन्द्र जतिमा कप्तान बने त्यसमा नेपालले खासै उल्लेखनीय केही गरेको छैन । यू–१९ मा नेपालले गरेको एकछत्र राज ज्ञानेन्द्र कप्तान बनेपछि रोकिएको थियो । २००१, २००३, २००५ र २००७ मा गरी नेपालले लगातार चारपटक एसीसी यू–१९ कप जित्दै लगातार पाँच पटक यू–१९ विश्वकपमा पुगेको थियो ।

ज्ञानेन्द्रको कप्तानीमा नेपाल २००९ को एसीसी यू–१९ कपमा सेमिफाइनलमै रोकिएर विश्वकपमा पुग्न असफल रह्यो । ज्ञानेन्द्रकै नेतृत्वमा नेपाल न त २०१४ मा विश्वकप छनोटमा यूएईसँगको खेल जित्न सकेको थियो । केन्यासँगको दुई खेलमा भने ज्ञानेन्द्रले नेपाललाई एकमा विजय दिलाएका थिए । वर्तमानलाई हेर्ने हो भने ज्ञानेन्द्र विगतमा जस्तो छैनन् । उनी परिपक्व बनिसकेका छन् । पारसले उनलाई निकै हक्की स्वभावको भन्ने गर्छन् । हत्तपत्त सम्झौता नगर्ने ज्ञानेन्द्रको बानी छ । उनको यो स्वभावले कस्तो कप्तान बनाउँछ हेर्न बाँकी छ ।

ज्ञानेन्द्र २००५ मा पहिलो पटक नेपाली टोलीमा परेका थिए । त्यही वर्ष नै उनले नेपालबाट यू–१५, यू–१७ र यू–१९ खेल्दै एकै वर्ष सबै उमेर समूह र राष्ट्रिय टोलीबाट खेल्ने कीर्तिमान बनाइसकेका थिए । यूएईमा भएको यू–१५ उनले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । संयोगले त्यसमा पनि ज्ञानेन्द्र उपकप्तान नै थिए । उपकप्तानसँग उनको सामीप्यता निकै गाढा छ । उनी पारस नेपालको यू–१९ को कप्तान हुँदा पनि उपकप्तान नै थिए । सरसर्ती हेर्दा उनी पारसको पथलाई पछ्याइरहेका छन् ।
Twitter: @dearbinod

प्रकाशित : कार्तिक १६, २०७६ १०:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT