कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीलाई हराउँदै चितवन फाइनलमा

जेसिज विकास रनिङ सिल्ड
कान्तिपुर संवाददाता

चितवन — बलियो मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गर्दै घरेलु टोली चितवन–११ नारायणगढ क्याम्पाचौरमा जारी टुबोर्ग जेसिज विकास रनिङ सिल्ड फुटबलको फाइनलमा पुगेको छ ।

आर्मीलाई हराउँदै चितवन फाइनलमा

बुधबार मध्यान्तरअघि चितवनमाथि आर्मी हाबी देखिएको थियो । मध्यान्तरपछि लगातार दुई गोल गरेर चितवनले अप्रत्याशित नतिजा निकालेको थियो ।


चितवन र आर्मीबीच गत बैशाख २९ मा भरतपुर गोल्डकपमा क्याम्पाचौरमै भेट भएको थियो । त्यतिबेला पनि चितवनले आर्मीलाई सडनडेथमा पराजित गरेको थियो । तर विकास रनिङ सिल्डमा बुधबार सुरुआतमा हाबी भएको आर्मी मध्यान्तरपछि सुस्त देखियो । दोस्रो हाफको २० र २८ औं मिनेटमा चितवनले गोल गर्‍यो ।


चितवनबाट अनिल रानाले पहिलो गोल गरे । चितवनका यदु सिलवालको प्रहार गोलरक्षक विकेश कुथुले पन्च गरे । तर रिबाउण्डमा अनिलले बललाई पोस्टको दिशा दिएका थिए । आठ मिनेटपछि कप्तान रुमेश बर्तौलाले गोल थपेर चितवनलाई अघि बढाए । ३७ औं मिनेटमा विमल पाण्डेले एक गोल गरेर आर्मीलाई खेलमा फर्काउने गरेको थियो । तर त्यसपछि टोलीले गोल थप्न सकेन ।


आर्मीका प्रशिक्षक नवीन न्यौपानले आफ्नो टिमका मध्यपंक्तिका खेलाडीले राम्रो गर्न नसक्दा नतिजा चितवनलाई सुम्पनुपरेको बताए ।


चितवनका प्रशिक्षक विजय घलेले आफ्ना सबै खेलाडीले राम्रो खेलेको बताए । ‘बलियो मानेर मेरा खेलाडीले शतप्रतिशत राम्रो खेल्यो । नतिजा ल्याउन सफल भयौं । सबैले टिम स्पिरिट देखाए,’ उनले भने ।


चितवनका जितेश गुरुङ प्लेयर अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । बिहीबार नेपाल पुलिस र संकटा क्लब दोस्रो सेमिफाइनलमा भिड्दै छन् ।

प्रकाशित : कार्तिक ६, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?