कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुबिनाको चमत्कारी प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीले वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) ट्वान्टी–२० क्रिकेटमा आफ्नो चमत्कारी प्रदर्शन कायम राखेकी छन् । उनको असाधारण प्रदर्शनमा क्याट क्विन्स काठमाडौं मंगलबार इलिमिनेटरमा विराटनगर टाइटन्सलाई ९ विकेटले सजिलै पराजित गरी फाइनल पुगेको छ । 

रुबिनाको चमत्कारी प्रदर्शन

रुबिनाले ४ विकेट लिएपछि टस जितेको विराटनगर १७.३ ओभरमा ६८ रनमा अलआउट भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रुबिनाले अविजित ३४ रन बनाएपछि क्याट क्विन्सले ९.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । टोलीले बिहीबार हुने फाइनलमा चितवन राइनोजसँग खेल्नेछ ।


क्याट क्विन्सले फाइनल पुग्नेक्रममा खेलेको ५ खेलमा ४ खेल जितेको छ । त्यसमा ३ खेलमा रुबिना प्लेयर्स अफ द म्याच बनेकी छन् । उनले जारी नेपालको पहिलो फ्रेन्चाइज महिला क्रिकेटमा ललितपुर फाल्कन्सविरुद्ध अविजित ५९ र पोखरा पल्टनविरुद्ध अविजित ८३ रनको इनिङ्स खेलेकी थिइन् । क्याट क्विन्सले हारेको चितवनसँगको एकमात्र खेलमा उनी १ रनमै आउट भएकी थिइन् ।


अन्य चार खेलमा आउट नभई उनले टोलीलाई जिताएकी छन् । रुबिनाको ब्याटिङऔसत २ सय १२ रहेको छ । प्लेयर्स अफ द टुर्नामेन्टमा एक्लो दाबेदार देखिएकी रुबिनाले मंगलबार टाइटन्ससँगको खेलमा ४ ओभरमा १ मेडन राख्दै ४ रन खर्चेर ४ विकेट लिएको प्रदर्शन प्रतियोगिताकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।


ज्योति पाण्डे र सोनु खड्काले ७ ओभरभित्र ४४ रन जोडेर टाइटन्सलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । रुबिनाले ज्योतिलाई १२ रनमा ममता थापाबाट स्टम्पआउट गराएसँगै विराटनगरको पतन सुरु भएको थियो । अर्की ओपनर सोनुले २५ बलमा ६ चौकासहित टोलीबाट सर्वाधिक ३४ रन बनाइन् । उनी पनि रुबिनाको सिकार भइन् । ईश्वरी विष्ट, संगीता राई र लक्ष्मी साउदले १–१ विकेट लिए । टाइटन्सकी लक्ष्मी चौधरी र कप्तान सरिता मगर समान २ रन र सवनम राई १ रनमा रनआउट भए ।


सोनुले रोमा थापालाई पहिलो बलमै एलबीडब्लू आउट गरे पनि क्याट क्विन्सलाई लक्ष्य पछ्याउन खासै गाह्रो भएन । रुबिना र अप्सरी बेगमले ७० रनको अविजित साझेदारी गरिन् । रुबिनाले ३० बलमा ६ चौका प्रहार गर्दा अप्सरीले २८ बलमा ३ चौका प्रहार गर्दै २७ रन जोडिन् ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?