कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवन डब्लूसीएलको फाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्समाथि ५३ रनको जित रच्दै चितवन राहिनोज नेपालकै पहिलो महिला फ्रेन्चाइज क्रिकेट वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) को फाइनल पुगेको छ ।

चितवन डब्लूसीएलको फाइनलमा

लिगमा दोस्रो र तेस्रो स्थानमा रहेका क्याट क्विन्स काठमाडौं र विराटनगर टाइटन्सले फाइनलका लागि क्वालिफायर म्याच खेल्ने भएका छन् ।


त्रिवि क्रिकेट मैदानमा आइतबार दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन बनायो । शनिबार पोखरा पल्टनविरुद्ध अर्धशतक प्रहार गरेकी ओपनर काजल श्रेष्ठले ३६ र अर्की ओपनर कन्चन श्रेष्ठले ३४ रनको इनिङ्स खेलिन् । यी दुईले पहिलो विकेटमा ६९ रनको साझेदारी गरे ।


चितवनका मध्यक्रमका ब्याटरले राम्रो सुरुआतलाई निरन्तरता दिन सकेनन् । तेस्रो नम्बरमा आएकी कप्तान इन्दु बर्मा १५ बलमा २ चौकासहित १७ रनमा अविजित रहिन् । सुमन खतिवडाले १० रन बनाइन् । अन्यले दोहोरो अंकको रन छुन सकेनन् । विराटनगरकी सवनम राईले २ तथा सोनु खड्का, सर्मिला मगर र आरती बिडारीले १/१ विकेट लिए ।


जवाफमा विराटनगर १७.५ ओभरमा ६९ रनमै समेटियो । ओपनर ज्योति पाण्डे र नवौं नम्बरमा ब्याटिङमा आएकी डोली भट्टले समान २१ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । विराटनगरका ४ ब्याटरले खाता खोल्नै सकेनन् । कविता गौतमले ३ विकेट झारिन् । प्लेयर्स अफ द म्याच कविताले ३ ओभरमा ५ रन मात्र खर्चिन् । सुमनले २, तथा रेखा रावल, सन्तोषी चौधरी र ऋतु कनौजियाले १/१ विकेट लिए ।


‘लिगमा सबै जितेर सोझै फाइनलमा पुग्नु हाम्रा लागि खुसीको कुरा हो, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो,’ चितवनकी मार्की खेलाडीसमेत रहेकी कप्तान इन्दूले भनिन्, ‘हामीले हाम्रो नियमित खेल खेल्यौं, बलरहरूले योजनाअनुसारको प्रदर्शन गरे र शीर्ष क्रमका ब्याटरहरूले पनि आवश्यक समयमा रन बनाउन सके, हाम्रो जितको आधार त्यही रहयो ।’


राष्ट्रिय टोलीकी खेलाडीसमेत रहेकी पहिलो २ खेलमा जित निकालेर राम्रो सुरुआत गरेको विराटनगरले लिग चरणका पछिल्ला २ खेलमा लगातार पराजय बेहोरेको हो । उसले शनिबार क्याट क्विन्स काठमाडौंसँग ५२ रनले हारेको थियो । हारका बाबजुद विराटनगरले क्वालिफायरमा स्थान बनाएको छ । फाइनलमा चितवनसँगको खेलका लागि उसले काठमाडौंसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।


दिनको पहिलो खेलमा काठमाडौंले ललितपुर फाल्कोन्सविरुद्ध ८ विकेटको जित निकाल्दै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा चितवनसँग पराजित भएयता काठमाडौंले तीनै खेलमा जित हासिल गर्दा सुधारिएको प्रदर्शन गरिरहेको छ । १ सय ६ रनको लक्ष्य काठमाडौंले १७.२ ओभरमै पूरा गर्दा उसका कप्तान रुविना क्षत्रीले ५९ रनको अविजित इनिङ्स खेलिन् । ओपनिङमा आएकी क्षत्रीले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् । प्रतियोगितामा २ अर्धशतक प्रहार गर्ने उनी एक्ली खेलाडीसमेत हुन् । पोखराविरुद्ध उनले ८३ रन बनाएकी थिइन् ।


रुविनाले रश्मी चौलागाईंसँग मिलेर पहिलो विकेटमा ३४ रनको साझेदारी गरिन् । रश्मी २२ बल खेलेर ९ रनमा आउट भएपछि आएकी रोमा थापासँग मिलेर उनले ४८ रनको साझेदारी गर्दै टिमको जित आधार तय गरिन् । रोमाले २३ बलमा २ चौकासहित १८ रन बनाएर आउट भइन् । त्यसपछि आएकी अप्सरी बेगमसँग मिलेर २४ रनको अविजित साझेदारी गर्दै रुविनाले महत्त्वपूर्ण जित दिलाइन् । अप्सरी ८ रनमा अविजित रहिन् । ललितपुरकी सम्झना खड्का र एलिसा केसीले १/१ विकेट लिए ।


यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन बनायो । ललितपुरका ओपनर गीता गोसाईंले १३, ममता चौधरीले १५ र कप्तान नेरी थापाले २२ रन जोडिन् । ओपनर रोशनी बोहोरा २९ रनमा अविजित रहिन् । उनले ५० बल खेलेर २ चौका प्रहार गरिन् । ईश्वरी विष्टले २ तथा सरस्वती कुमारी चौधरीले १ विकेट लिइन् ।


‘लगातार खेल हारेर बाहिरिनुपरेकोमा दु:ख अवश्य छ तर १२ वर्षे करिअरमै पहिलोपल्ट यति ठूलो प्रतियोगिता खेल्न पाउनु नै खुसी हो र यसले नयाँ र युवा खेलाडीलाई नयाँ आशा दिएको छ,’ राष्ट्रिय टोलीकी पूर्वकप्तानसमेत रहेकी ललितपुरकी मार्की खेलाडी नेरी थापाले भनिन्, ‘म मेरो टिमको कोही खेलाडीलाई हारको दोस दिन चाहन्न, आजको खेलमा ब्याटिङमा २५/३० रन बढी भएको भए नतिजा अर्कै हुन सक्थ्यो, टप अर्डरलाई साथ नहुँदा हार्न पुग्यौं ।’


प्रकाशित : कार्तिक ४, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?