कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डब्लूसीएल क्रिकेट : चितवन प्लेअफमा

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरा पल्टनलाई ७ विकेटले पराजित गरी शनिबार चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) को प्लेअफमा स्थान सुरक्षित गरेको छ । दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले विराटनगर टाइटन्सविरुद्ध ५२ रनको जित निकालेसँगै पोखरा प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको हो । 

डब्लूसीएल क्रिकेट : चितवन प्लेअफमा

लगातार ३ जितपछि चितवन ६ अंकसहित शीर्षस्थानमा पुगेको छ । विराटनगर र काठमाडौंको समान २ जित र १ हारसहित ४ अंक छ । ३ खेल खेलेको पोखरा र २ खेल खेलेको ललितपुर फाल्कोन्सले खाता खोल्न सकेका छैनन् । राउन्ड रोबिन लिगमा शीर्षस्थानमा रहने टोलीले फाइनलो यात्रा तय गर्नेछ । दोस्रो र तेस्रो हुने टिमबीच फाइनल पुग्नका लागि क्वालिफायर खेल हुनेछ । एकमात्र अपराजित टोली चितवनले लिगको अन्तिम खेलमा विराटनगरलाई पराजित गर्नसके सोझै फाइनलमा स्थान बनाउने अवसर छ ।


नेपालमै पहिलोपल्ट आयोजित महिला फ्रेन्चाइज लिग राष्ट्रिय टोलीका उपकप्तानसमेत रहेकी सीता रानामगरका लागि बिर्सनलायक रह्यो । उनले नेतृत्व गरेको पोखराले अपेक्षाकृत प्रदर्शन गर्न सकेन । तेस्रो खेलमा कप्तानी इनिङ्स खेल्दै अर्धशतकीय योगदान गरे पनि अन्यले उनलाई साथ दिन सकेनन् । टस जितेर ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाई १ सय २७ रन बनाएको थियो । अविजित इनिङ्स खेलेकी ओपनर सीताले ५६ बलमा ७ चौका र १ छक्कााबाट ६५ रन जोडिन् । सातौं नम्बरमा ब्याटिङ गरेकी मन्जु बोगटीले १६ बलमा नटआउट २४ रन बटुल्दा २ चौका र २ छक्का प्रहार गरिन् । यी दुईले छैटौं विकेटमा ४३ रनको अविजित साझेदारी गरे । चितवनबाट कविता गौतमले २ र रेखा रावलले १ विकेट लिए । युवा खेलाडीलाई विश्वास गरेको पोखराले ब्याटिङमा सन्तोषजनक प्रदर्शन गरे पनि ब्याटिङ र फिल्डङमा सुधार गर्न सकेन । फलस्वरुप चितवनले १८ ओभरमा ३ विकेट क्षतिमै लक्ष्य भेट्टायो । ओपनर काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले बलियो सुरुआत गर्दै पहिलो विकेटमा ७१ रनको साझेदारी गरे । कञ्चन २९ रनमा आउट भएपछि कप्तान इन्दु वर्मासँग काजलले थप ४७ रनको साझेदारी गर्दा चितवनले जित निश्चित गरेको हो । काजलले ४७ बलमा ५ चौकासहित ५१ रन जोडिन् । उनी प्लेयर्स अफ द म्याचसमेत चुनिइन् । इन्दुले २३ बलमा २४ रन जोडिन् । बलिङमा अञ्जली चन्दले २ विकेट लिइन् ।


‘अघिल्ला खेलको तुलनामा हामीले आज ब्याटिङ राम्रो गरेका थियौं, रक्षा गर्नसक्ने योगफल नै थियो । तर बलिङ र फिल्डिङमा हामी अझै कमजोर रह्यौं,’ कप्तान सीताले भनिन्, ‘टिममा सबैले नै प्रदर्शन गरेपछि मात्र राम्रो नतिजा निस्कने हो, मुख्य रूपमा हामीमा अनुभव कम भयो ।’ चितवनकी कप्तान इन्दुले लगातार जितले आत्मविश्वास बढेको बताइन् । ‘आज हामी योजनामा सफल भयौं, शीर्षक्रमले राम्रो गर्दा मध्यक्रमलाई कम दबाब भयो र जित सजिलो भयो । हामी अन्तिम खेल पनि जितेर सोझै फाइनलमा स्थान बनाउन चाहन्छौं,’ इन्दुले भनिन् ।


अर्को खेलमा काठमाडौंले विराटनगरलाई पराजित गर्दा मध्यक्रमकी रोमा थापाले अर्धशतक बनाइन् । पहिलो खेलमा पराजित भए पनि लगातार २ खेल जितेर काठमाडौंले पनि क्वालिफायर सम्भावना जीवितै राखेको छ । टस हारेको काठमाडौंले २ विकेट गुमाई १ सय ३९ रन बनायो । ओपनर शोभा आले (२) लाई सस्तैमा गुमाए पनि अर्की ओपनर रश्मि चौलागाईं र रोमाले दोस्रो विकेटमा ७६ रनको साझेदारी गरे । उनले ३४ रनको स्कोरमा रश्मि रनआउट भएपछि कप्तान रुबिना क्षेत्रीसँग ६० रनको अविजित साझेदारी गरिन् । रोमाले ५२ बलमा ६ चौका मदतमा ५३ रन बनाइन् । २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेकी कप्तान रुबिनाले ३५ रन जोडिन् । ८ जना बलर प्रयोग गरेको विराटनगरबाट डली भट्टले मात्र १ विकेट लिइन् । जवाफमा विराटनगरले ५ विकेट क्षतिमा ८७ रनमात्र बनाउन सक्यो । ओपनर ज्योति पाण्डे (४) र सोनु खड्का (५) सस्तैमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तेस्रो नम्बरमा आएकी लक्ष्मी चौधरीले ५० बलमा ४० रनको संयमित इनिङ्स खेलिन् । डलीले १३ रन बनाइन् । काठमाडौंका सुमन विष्टले २, ईश्वरी विष्ट र कप्तान रुबिनाले १–१ विकेट लिए ।

प्रकाशित : कार्तिक ३, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?