कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाभेद कारबाहीमा

(एएफपी)

दुबई — संयुक्त अरब इमिरेट्स (यूएई) का कप्तान मोहम्मद नाभेदमाथि बुधबार अनियमिताको आरोपमा कारबाही गरिएको छ । उनले आफूमाथि लागेको आरोप स्वीकारेका छन् । उनले भनेका छन्, ‘मैले सबैका विश्वासमाथि घात गरें ।’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नाभेदसँगै तीन खेलाडीलाई कारबाही गरेको हो । 

कारबाहीमा पर्ने अन्य दुई खेलाडीमा ब्याट्सम्यान साइमन अनवर र दायाँहाते तीव्र गतिका बलर कादिर अहमद छन् । तीनै खेलाडीले आईसीसीको ‘एन्टी करप्सन’ नियमको १२ पल्ट उल्लंघन गरेका थिए । आईसीसीले तुरुन्त लागू हुने गरेर अनिश्चित समयका लागि प्रतिबन्ध पनि लगाएको छ । उनीहरूलाई २०२० विश्व ट्वान्टी–२० छनोट खेल्न लागेको यूएई टिमबाट पनि हटाइएको छ ।


शुक्रबारदेखि दुबई र अबुधाबीमा छनोट प्रतियोगिता सुरु हुँदै छ । द नेसनल पत्रिकालाई ३२ वर्षीय खेलाडी नाभेदले भनेका छन्, ‘मैले परिवार, साथीभाइदेखि सबैको विश्वास तोडें । म आफ्नो खेलजीवनलाई लिएर निकै गम्भीर थिएँ । म यूएई र फ्रेन्चाइज क्रिकेटका लागि सफल पनि रहें । तर अहिले यो घटना भएको छ ।’


उनले थपेका छन्, ‘म आफूलाई दोषी मान्छु । मैले किन आफ्नो बोर्ड र आईसीसीसँग कुरा गर्न सकिनँ, यो नै मेरो भूल हो ।’ पत्रिकालाई उनले बताएअनुसार उनको सबैभन्दा ठूलो दोष त्यो खेल मिलेमतो गर्ने व्यक्तिसँग भेट्नु हो, जसले आफूलाई विश्व टी–१० लिगको प्रतिनिधिका रूपमा उनलाई भेट्न खोजेका थिए । नाभेदले तुरुन्तै आफ्नो भूल महसुस गरे पनि यसैबारे आईसीसीलाई जानकारी दिएनन् ।


प्रकाशित : कार्तिक १, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?