कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डब्लुसीएल क्रिकेट : क्याट क्विन्सको पुनरागमन

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्तान रुबिना क्षेत्रीले फ्रेन्चाइज क्रिकेटमा पहिलो अर्धशतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) मा क्याट क्विन्स काठमाडौंले पुनरागमन जित निकालेको छ । पहिलो खेलमा बुधबार चितवन राइनोजसँग ५ विकेटले पराजित काठमाडौंले बिहीबार पोखरा पल्टनविरुद्ध ८२ रनको सानदार जित निकालेको हो । 

डब्लुसीएल क्रिकेट : क्याट क्विन्सको पुनरागमन

कप्तान रुबिनाले ८३ रनको नटआउट इनिङ्स खेलेपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५ विकेट गुमाई १ सय ५२ रनको बलियो योगफल खडा गरेको थियो । ओपनर रश्मि चौलागाईं र शोभा आलेले राम्रो सुरुआत दिलाउन नसके पनि चौथो नम्बरमा ब्याटिङमा आएकी रुबिनाले कप्तानी इनिङ्स खेल्नेक्रममा ६७ बलमा १४ चौका र २ छक्का प्रहार गरिन् । उनी प्लेयर अफ द म्याचसमेत बनिन् । काठमाडौंका लागि रोमा थापाले १९, शोभाले १२ तथा ईश्वरी विष्टले अविजित १० रन जोडे । पोखराकी अनुराधा चौधरीले ४ विकेट झारिन् । उनले ४ ओभरमा २८ रन खर्चिएकी थिइन् । अर्को एउटा विकेट कविता कुँवरले लिएकी हुन् ।


जवाफमा राम्रो सुरुआत गरे पनि पोखराको मध्यक्रमका ब्याटरहरूको प्रदर्शन लज्जास्पद रह्यो । ५.३ ओभरमा ३१–१ को स्थितिमा रहेको पोखराले खातामा २७ रन थप्दा ९ विकेट गुमाएको थियो । ओपनर तथा कप्तान सीता राना मगरले सर्बाधिक १७ र बिन्दू रावलले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । तीमध्ये ४ जनाले त खाता खोल्नै सकेनन् ।


काठमाडौंको चुस्त फिल्डिङ तथा ब्याटिङबीचको समन्वय अभावमा पोखराकी कप्तान सीतासहित ५ ब्याटर रनआउट सिकार भए । त्यसबाहेक सरस्वतीकुमारी चौधरीले ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन् । अप्सरी बेगमले पनि २ विकेट र लक्ष्मी साउदले १ विकेट लिए ।


दोस्रो खेलमा विराटनगर टाइटन्सले ललितपुर फाल्कोन्सविरुद्ध ४ विकेटको जित निकाल्ने क्रममा ओपनर ज्योति पाण्डेले विष्फोटक अर्धशतकीय इनिङ्स खेलिन् । त्रिवि मैदानमा ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य विराटनगरले १६ ओभरमै ६ विकेट गुमाएर पूरा गरेको थियो ।


प्लेयर अफ द म्याचसमेत बनेकी ज्योतिले ४३ बलमा १० चौका र १ छक्काको सहयोगमा ६५ रनको योगदान गरिन् । उनले सोनु खड्कासँग पहिलो विकेटमा ८१ रनको साझेदारी गरी जित आधार खडा गरिन् । २६ बलमा २ चौका र १ छक्का प्रहार गरेकी सोनु २४ रन बनाएर आउट भइन् । नटआउट १२ रन जोडेकी अस्मिना कर्माचार्यले १६ औं ओभरमा २ चौका प्रहार गरी खेल जिताएकी हुन् । बलिङमा सम्झना खड्काले २ र करुणा भण्डारीले १ विकेट लिए । भेट्रान बलर नेरी थापाको कप्तानीमा ललितपुरले ८ बलर प्रयोग गरेको थियो ।


यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाई १ सय २२ रनको योगफल बनायो । निकै नै कमजोर सुरुआत गरेको ललितपुरको इनिङ्स ममता चौधरीले सम्हालेकी थिइन् । सुरुआती ४ ब्याट्सम्यानले दोहोरो अंकको रन छुन नसकेको अवस्थामा पाँचौं नम्बरमा ब्याटिङमा आएकी ममताले रनआउटको सिकार हुनुअघि २४ बलमा २८ रन जेडिन् । करुणा भण्डारीले पनि २१ रन बनाइन् । कृति सेन र सम्झना खड्काले आठौं विकेटमा २६ रनको अविजित साझेदारी गरेपछि ललितपुरले १ सय रनको स्कोर पार गरेको थियो । दुवैले समान ११ बलमा १३ रन बनाए । ललितपुरले २३ अतिरिक्त रन पाएको थियो । बलिङमा सवनम राई र आरती बिँडारीले १–१ विकेट लिए । ललितपुरका ५ खेलाडी रनआउट भए ।


लिगमा शुक्रबार २ खेल हुनेछ । पोखरा पल्टन र विराटनगर टाइटन्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा चितवन राइनोज र ललितपुर फाल्कोन्सबीच प्रतिस्पर्धा हुनेछ । चितवनले पहिलो खेलमा काठमाडौंलाई पराजित गरेको थियो ।

प्रकाशित : कार्तिक १, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?