कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाल्पाली लिजेन्ड्स सेमिफाइनलमा

कान्तिपुर संवाददाता

रूपन्देही — सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको बुधबारको खेलमा जित पाउँदै पाल्पाली लिजेन्ड्स सेमिफाइनलमा पुगेको छ । पाल्पालीले रोयल एक्सपर्ट शंकरनगरलाई ७ विकेटले परजित गरेको थियो । सुवेन्दु पाण्डे र निर्मल थापाको जोडीले पाल्पालीलाई जितायो । १ सय ८ रनको साझेदारी गरेका उनीहरूले टिमलाई सेमिफाइनलको दाबेदार बनाएको छ ।

पाल्पालीले ४ खेलमा ३ खेल जितेको छ । शंकरनगरले दिएको १ सय ५२ रनको लक्ष्य भेट्टाउन पाल्पालीले अन्तिम ओभरको पहिलो बलसम्म खेलेको थियो । ३ विकेट गुमाएको टोलीका लागि सुवेन्दुले ७५ रन बनाए । उनी नै म्यान अफ म्याच भए । निर्मलले ४७ रन बटुले । उनी मोस्ट भ्यालुएबल प्लेयर भए ।


त्यसअघि ब्याटिङ गरेको शंकरनगरका लागि रोहितकुमार पौडेलले सर्वाधिक ८५ रनको योगदान गरे । उनले २ विकेट पनि लिएका थिए । सौरभ खनालले ३.१ ओभरमा ४५ रन खर्चिएर खराब बलिङ प्रदर्शन गरे ।


पहिलो खेलमा रूपन्देही पल्टन्सविरुद्ध रेन्बो ज्ञानोदय गोल्डेन्स ६ विकेटले विजयी भएको छ । पहिले ब्याटिङ गरेको रूपन्देहीले १६.३ ओभर खेलेर ७६ रनमात्रै बनायो । दिनेश मगरले १६, दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे भने अन्य ब्याटसम्यान प्रदर्शन गतिलो रहेन । ज्ञानोदयका दिवन पुन म्यान अफ द म्याच भए भने प्रतिश जिसी मोस्ट भ्यालुएबल प्लेयर बने । दिवनले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएका थिए । ज्ञानोदयले १२.१ ओभरमा ४ विकेट गुमाई ७७ रनको लक्ष्य पूरा गरेको थियो । टोलीका सुनील धमलाले ३९ र हरजित सिंहले २१ रन जोडे ।


बिहीबार बुटवल युनाइटेड र लुम्बिनी शाक्यन्स ग्लाडिएटर्स तथा मणिग्राम किंग्स र सुपर ११ भैरहवाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : आश्विन ३०, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?