कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरुणाको कप्तानीमा महिला भलिबल

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरेली खेलाडी अरुणा शाहीको कप्तानीमा नेपाली महिला भलिबल टोली वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड जाने भएको छ । उनीहरू बुधबार बैंकक प्रस्थान गर्नेछन् । 

सेटर अरुणाले पहिलोपल्ट कप्तान नियुक्त भएकी हुन् । नियमित कप्तान विनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङले टोलीमा स्थान नपाएपछि अरुणालाई कप्तानी जिम्मेवारी दिइएको हो ।


नेपाल भलिबल संघले प्रशिक्षणका लागि थाइल्यान्ड जाने १८ सदस्यीय खेलाडीलाई मंगलबार बिदाइ गरेको हो । टोलीमा तीन प्रशिक्षक र एक व्यवस्थापक छन् । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीलाई नेपाली टोली थाइल्यान्ड जान लागेको हो ।


पहिलो संस्करणको एभीसी सेन्ट्रल जोन महिला भलिबल कात्तिक २२ देखि २७ सम्म हुँदै छ । सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २४ सम्म घरेलु भूमिमा हुने १३ औं सागमा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली टोलीमा कप्तान अरुणासहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेश्मा भण्डारी, संगम महतो, जानकी भण्डारी, शान्ति थारु, आरती सुवेदी, सुनीता खड्का, पुनम चन्द, सोफिया पुन, हीरा केसी, कमला पुन, सलिना श्रेष्ठ र शान्ति तामाङ छन् । प्रशिक्षकमा सलिना श्रेष्ठ, जगदीश भट्ट र भरत यादव तथा व्यवस्थापकमा रीता कोइराला छन् । कप्तान अरुणाले आफूले खेल्न थालेदेखि सम्भवत नेपाली महिला भलिबलका लागि यो पहिलो वैदेशिक प्रशिक्षण रहेको बताइन् । उनले थाइल्यान्ड भ्रमण टोलीका लागि एक्सपोजर हुने र व्यक्तिगत रुपमा भन्नुपर्दा आफ्नो लागि महत्त्वपूर्ण अवसर रहेको बताएकी छन् ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?