कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरो २०२० : पोल्यान्ड र रुस छनोट

(एएफपी)

पेरिस — पोल्यान्ड र रुसले आइतबार युरो २०२० मा आफ्नो स्थान सुरक्षित पारेका छन् । पोल्यान्डले उत्तरी मेसेडोनिया र रुसले साइप्रसलाई हराएर यो उपलब्धि हात पारेका हुन् । जर्मनी र नेदरल्यान्ड्सले पनि जितसँगै छनोटको सम्भावना बलियो बनाएका छन् ।

रुसले दस खेलाडीमा सीमित साइप्रसलाई सजिलै ५–० ले हरायो । पोल्यान्डले भने उत्तर आयरल्यान्डमाथि २–० को प्रभावशाली जित निकाल्यो । पोल्यान्ड र रुससँगै बेल्जियम र इटाली पनि छनोट भइसकेका छन् ।


समूह ‘आई’ बाट छनोट हुनका लागि स्टानिस चेरचोसोभको रुसले निकोसियामा भएको खेलमा हार मात्र टारेको भए पर्याप्त हुने थियो । गत वर्ष आफ्नै भूमिमा भएको विश्वकपमा रुसले क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो । यस समूहमा रुसले बेल्जियमले पार गरेको यात्रा पछ्याएको हो । पहिलो हाफमा रुसका लागि भ्यालेन्सियाका विंगर डेनिस चेरसेभ र मगोमद आजडोभले गोल गरे । रुसी फुलब्याक सर्गेई पेट्रोभामाथि डरलाग्दो फाउल खेलको आरोपमा कास्टार लफिसले रातो कार्ड खाए ।


त्यसयता रुसका लागि आर्टेम डेजुभा, एलेक्जेन्डर गोलोभिन र चेरसेभले गोल गरे । अब रुस र बेल्जियमबीच हुने खेलले समूह विजेताको निर्णय गर्नेछ । अबको युरो अर्को वर्ष जुन १२ देखि हुँदै छ । यसपल्ट प्रतियोगिता युरोपका विभिन्न १२ सहरमा हुनेछन् । त्यसमध्ये एउटा खेलस्थल रुसको सेन्ट पिटर्सबर्ग पनि रहेको छ । उत्तरी मेसेडोनियाविरुद्धको खेलमा भने पोल्यान्डलाई छनोटका लागि जित आवश्यक थियो । पोलिस टिमका लागि प्रेजेमस्लाव फ्रान्कोवस्की र आकारडिस्ज मिलिकले गोल गरे ।


पोल्यान्डलाई अस्ट्रियामाथि ३ अंकको अग्रता प्राप्त छ । अस्ट्रियाले अर्को खेलमा स्लोभेनियालाई समूह ‘जी’ मा १–० ले हरायो । रोनाल्डो कोमनको नेदरल्यान्ड्सले भने समूह ‘सी’ को शीर्षस्थानमा रहन बेलारुसमाथि २–१ को जित प्राप्त गर्‍यो । जितका लागि डच टिमले अन्त्यसम्म संघर्ष गर्नुपरेको थियो । लिभरपुल खेलाडी जर्जिनो विज्नाल्डमको दुई गोलले नेदरल्यान्ड्स अगाडि रहे पनि बेलारुसका लागि स्टानिस्लाभ ड्रागनले एक गोल फर्काए र खेल रोमाञ्चक मोडमा पुर्‍याए ।


‘दोस्रो हाफमा हाम्रो खेल जस्तो रह्यो, त्यसमा सुधार आवश्यक छ । खेल हाम्रो नियन्त्रणमा थियो,’ डच कप्तान तथा अर्का लिभरपुल खेलाडी भर्जिल भान डाइकले भने, ‘अब हामी युरो छनोटको निकै नजिक पुगेका छौं र यो नै हाम्रो प्रमुख लक्ष्य हो ।’ अर्को महिना बेलफास्टमा हुने खेलमा उत्तरी आयरल्यान्डलाई हराउन सक्यो भने नेदरल्यान्ड्स सन् २०१४ यता पहिलो ठूलो प्रतियोगिताका लागि छनोट हुनेछ । जर्मनीले भने इस्टोनियालाई ३–० ले पन्छायो । क्रोएसियाले कार्डिफमा वेल्ससँग १–१ को बराबरी खेल्यो । यो नतिजापछि क्रोएसियाले छनोटका लागि अझ कुर्नुपर्नेछ ।


प्रकाशित : आश्विन २८, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?