कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहाडमा बढ्दै ब्याडमिन्टन क्रेज

हरि गौतम

(रुकुम पश्चिम) — मुसीकोट नगरपालिका–१ का १४ वर्षे सुजल गिरी दसैं विदा ब्याडमिन्टन खेलेर कटाउँदै छन् । घरछेवैमा बनाइएको ब्याडमिन्टन कोर्टमा उनी हरेक बिहान पुग्छन् र पालो कुरेरै खेल्छन् । कक्षा ८ मै अध्ययनरत उनकै साथी विपिन देवकोटाको दसैं विदा पनि ब्याडमिन्टन कोर्टमै सकिँदैछ । उनले दसैंको गृहकार्य हतारहतार सकेर विद्यालय नखुलुञ्जेल ब्याडमिन्टन खेल्ने योजना बनाएका छन् । 

पहाडमा बढ्दै ब्याडमिन्टन क्रेज

उनीहरू मात्रै होइनन्, मुसीकोट नगरपालिका–१ का धेरै किशोरको ब्याडमिन्टनप्रति आकर्षण बढेको छ । ‘घरवरपर जता पुगे पनि ब्याडमिन्टन खेल्ने ठाउँ छन्, मैले पनि रहर लागेर ब्याड खेल्न सुरु गरें,’ सुजलले भने, ‘अब बिदा र फुर्सदको समय ब्याड खेलेरै सदुपयोग गर्ने योजना छ ।’ उनले विद्यालय खुलेपछि पनि समय मिलाएर दिनमा एक पटक अनिवार्य ब्याडमिन्टन खेल्ने योजना बनाएको सुनाए ।


किशोर मात्रै होइन युवा र वयस्कको पनि ब्याडमिन्टनप्रति कम आकर्षण छैन । एक वर्षको अवधिमा जिल्लाका प्राय: गाउँमा ब्याडमिन्टन कोर्ट बनेका छन् । कोर्ट आसपासका हरेक घरबाट ब्याटमिन्टन खेल्नेहरू बढिरहेका छन् । ‘पहिले सदरमुकाम खलंगामा दुइटा मात्रै ब्याडमिन्टन कोर्ट थिए, कहिले बह्राटाकुरा र कहिले प्रहरी कार्यालयमा ब्याडमिन्टन खेल्थ्यौं,’ खेलाडी खिमबहादुर केसीले भने, ‘पछिल्लो एक वर्षको अवधिमा जहाँ पुगे पनि ब्याडमिन्टन कोर्ट बनेका छन्, खेल्नेको संख्या पनि बढिरहेको छ ।’ उनले ब्याडमिन्टनप्रति सबैको आकर्षण बढिरहेको सुनाए ।


पछिल्लो समय स–साना मेला, महोत्सव र जात्रामा पनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न थालिएको छ । क्रेज बढ्दै गएपछि जिल्ला ब्याडमिन्टन संघले ५० हजार रुपैयाँ राशिको प्रतियोगिता नै सुरु गरेको छ । गत माघ २० देखि २३ सम्म प्रतियोगिताको पहिलो संस्करण भएको थियो । दोस्रो संस्करण गर्ने तयारी भइरहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढामगरले बताए । ‘पछिल्लो समय खेलप्रति बढेको आकर्षणलाई बढावा दिन प्रतियोगिता थालेका हौं,’ उनले भने, ‘प्रतियोगिताले ब्याडमिन्टनप्रतिको आकर्षण झन बढेको छ ।’ उनले जिल्लाबाहिरका खेलाडी सहभागी बनाएर यस वर्ष प्रतियोगितालाई थप व्यवस्थित बनाइने जनाए । उनका अनुसार संघले नै बेला बेलामा स–साना जिल्लास्तरका प्रतियोगिता पनि गराउने गरेको छ । आकर्षण बढ्दै गए पनि स्थानीय सरकारले भने प्राथमिकता नदिएको उनको गुनासो छ ।





प्रकाशित : आश्विन २६, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?