कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप २०२२ छनोट : नेपाली टिम अस्ट्रेलियाविरुद्ध ५-० ले पराजित

राजु घिसिङ

काठमाडौँ — नेपाली टिमले विश्वकप २०२२ छनोटमा बिहीबार एसियाली महारथी अस्ट्रेलियाविरुद्ध क्यानबेरामा ५-० को हार बेहोरेको छ । जेमी म्याक्लारेनको ह्याट्रिकसँगै घरेलु टिमले सहजै ३ अंक जोडेको हो ।

विश्वकप २०२२ छनोट : नेपाली टिम अस्ट्रेलियाविरुद्ध ५-० ले पराजित

जीआईओ रंगशालामा सुरुबाटै आक्रामक देखिएको घरेलु टिम अस्ट्रेलियालाई म्याक्लारेनले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाए । उनले किरण चेम्जोङले नियन्त्रण गर्न नसकेको र नेपाली डिफेन्सले सतर्क नरहेको अवस्थामा बललाई पोष्टको दिशा दिएका थिए । मेलबर्न सिटी एफसीका यी फरवार्डले १९ औं मिनेटमा दोस्रो गोल गरे । उनले रायन ग्रान्टले उपलब्ध गराएको बललाई हेडद्वारा पोष्टको दिशा दिए । उनले ९० औं मिनेटमा ह्याट्रिक पूरा गरे ।


अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकै खेलमा डिफेन्डर साउटरले कर्नरमा पाएको बललाई २३ औं मिनेटमा हेडद्वारा पोष्टको दिशा दिँदै गोलको खाता खोल्दै अस्ट्रेलियालाई ३-० को अग्रता दिलाए । उनले ५९ औं मिनेटमा प्रहार गरेको बल नेपाली डिफेन्डर दिनेश राजवंशीमा डिफ्लेक्ट हुँदै जाली चुम्न पुगेको थियो । जसलाई दिनेशको आत्मघाती गोल दिइयो ।


करिब २० हजार दर्शक उपस्थित रंगशालामा भएको खेलमा नेपाली टिमले बल्ल ४१ औं मिनेटमा आएर बललाई गोलकिपरसम्म पुर्‍यायो । नेपालका सबै खेलाडी डिफेन्समै व्यस्त देखिए । शारीरिक, कौशल लगायत सबै हिसाबले अस्ट्रेलिया बलियो देखियो । ५५ मिनेट मोयको क्रसमा गुडविनको हेडरमा गोलकिपर किरणले राम्रो बचाउ गरेका थिए ।


एसियन कप २०२३ छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटको ३ खेलमा नेपालले दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० को अनपेक्षित हार बेहारेको नेपालले त्यसको ५ दिनपछि ताइवानमा भने २-० को जित निकालेको थियो ।


अब १५ अक्टोबरमा नेपालले अम्मानमा जोर्डनविरुद्ध खेल्नेछ । फिफा वरीयतामा नेपालभन्दा ११७ स्थानमाथिको अस्ट्रेलियाले भने दुई खेलमा शतप्रतिशत जित निकाल्दै अर्को चरणको प्रवेशको संभावना बलियो बनाएको छ ।

नेपाली टिम


गोलकिपर : किरण चेम्जोङ

डिफेन्स : दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रन्जित धिमाल

मिडिफिल्ड : रवि पासवान, रोहित चन्द, विशाल राई (८६ मिनेट : सन्तोष तामाङ), अन्जान विष्ट (७९ मिनेट : तेज तामाङ), सुजल श्रेष्ठ

फरवार्ड : अभिषेक रिजाल ( ६६ मिनेट : विमल घर्तीमगर)

.....................

नेपाली टिम विश्वकप २०२२ छनोटअन्तर्गत् क्यानबेरामा अस्ट्रेलियाविरुद्ध भइरहेको खेलको पहिलो हाफमा ३-० ले पछाडि परेको छ । जीआईओ रंगशालामा सुरुबाटै आक्रामक देखिएको घरेलु टिम अस्ट्रेलियाले जेमी म्याक्लारेनले छैटौं मिनेटमै गोल गर्दै अग्रता दिलाए । उनले किरण चेम्जोङले नियन्त्रण गर्न नसकेको र नेपाली डिफेन्सले सतर्क नरहेको अवस्थामा बललाई पोष्टको दिशा दिएका थिए ।

मेलबर्न सिटी एफसीका फरवार्ड म्याक्लारेनले १९ औं मिनेटमा दोस्रो गोल गरे । उनले रायन ग्रान्टले उपलब्ध गराएको बललाई हेडद्वारा पोस्टको दिशा दिए । अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेकै खेलमा डिफेन्डर साउटरले पनि गोलको खाता खोल्न भ्याए । उनले कर्नरमा पाएको बललाई २३ औं मिनेटमा हेडद्वारा गोल गर्दै अस्ट्रेलियालाई ३-० को अग्रता दिलाए ।


नेपाली टिमले बल्ल ४१ औं मिनेटमा आएर बललाई गोलकिपरसम्म पुर्यायो । नेपालका सबै खेलाडी डिफेन्समै व्यस्त देखिए । शारीरिक, कौशललगायत सबै हिसाबले अस्ट्रेलिया बलियो देखियो ।

प्रकाशित : आश्विन २३, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?