कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ यू-१८ च्याम्पियनसिप फुटबल : बंगलादेश र भारत भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ यू-१८ च्याम्पियनसिप फुटबलको उपाधिका लागि गत संस्करण उपविजेता बंगलादेश र पहिलो संस्करण उपविजेता भारतबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सेमिफाइनल खेलमा बंगलादेशले भुटान र भारतले माल्दिभ्सलाई समान ४-० गोलले हराउँदै उपाधि भेट निश्चित गरेका हुन् । 

साफ यू-१८ च्याम्पियनसिप फुटबल : बंगलादेश र भारत भिड्ने

भारत र बंगलादेश यू-१८ साफमा पहिलो उपाधि खोजीमा छन् । साबिक विजेता नेपाल भने घरेलु मैदानमा समूह चरणबाटै बाहिरिएको थियो । नेपालले माल्दिभ्ससँग बराबरी खेल्दा भुटानसँग ३-० गोलको हार बेहोरको थियो ।

हल्चोक मैदानमा शुक्रबार साफ क्षेत्रीय प्रतियोगितामा पहिलोपल्ट फाइनल पुग्ने लक्ष्यमा रहेको भुटानविरुद्ध बंगलादेश हाबी भयो । काउन्टर एट्याकमा उत्कृष्ट खेल प्रदर्शन गरेको बंगलादेशले पहिलो हाफमै ३ गोलको अग्रता बनाएको थियो । बंगलादेशले १६ औं मिनेटमा अग्रता कायम गरेको थियो । रहद मिया काजीको लामो थ्रोलाई सदुपयोग गरी मोहम्मद तानविर हुसेनले हेडमार्फत क्लोज रेन्जबाट गोल गरे । २७ औं मिनेटमा मोहम्मद फैसाल अहमद फाहिमले काउन्टर एट्याकमा गोल थपे । मोहम्मद फाहिम मुर्सेदसँगको उत्कृष्ट तालमेलमा उक्त गोल सम्भव भएको थियो ।

त्यसको ५ मिनेटपछि बंगलादेशले ३-० को अग्रता बनायो । मोहम्मद माराज हुसेनले सेन्टरबाट एक्लैले बल लगेर बक्सबाहिरबाट सानदार गोल गरे । यसबीच उनले चार भुटानी डिफेन्डरलाई बिट गरेका थिए । खेलको इन्ज्युरी समयमा वैकल्पिक मिडफिल्डर दीपक रोयले ४-० को जितसहित बंगलादेश फाइनल प्रवेश निश्चित गरे । उनले एक मिनेटअघि मैदान छिरेका मोहम्मद सम्राट अहमदको ब्याकपासमा बक्सबाहिरबाट दीपकको शक्तिशाली लेफ्ट फुटेट शट उत्कृष्ट गोलमा परिणत भएको थियो ।

दोस्रो सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ४-० ले हराउँदा तीन गोल सेटपिसमा भएको थियो । सातौं मिनेटमा मोहम्मद रफीको लामो थ्रो सदुपयोग गरी डिफेन्डर नरेन्दरले गोललाइनबाट हेड गोल गरे पछि भारतले अग्रता बनायो । पहिलो हाफको इन्ज्यूरी समयमा आत्मघाती गोलमार्फत भारतले अग्रता दोब्बर बनायो । कर्नरबाट आएको बललाई मोहम्मद रफीले क्लोज रेन्जबाट प्रहार गरेका थिए । माल्दिभ्सका डिफेन्डर अहनाद रशिदले गोललाइनबाट क्लियर गर्न लाग्दा आफ्नै पोस्टमा गोल भएको थियो ।

दोस्रो हाफमा भारतले ५ मिनेट अन्तरमा ३ गोल थप्यो । ७८ औं मिनेटमा माल्दिभ्सका गोलरक्षक हसन अलिफको गल्तीका कारण भारतले अग्रता बढाएको हो । रविबहादुर रानाको कर्नरमा आकाश मिश्रको हेडर माल्दिभ्सका गोलरक्षक अलिफले कलेक्ट गर्न नसक्दा रिबाउन्ड बललाई मनवीर सिंहले पेनाल्टी एरियाबाट सहजै गोलमा परिणत गरे ।

त्यसको ५ मिनेटपछि रविकै कर्नरमा भारतीय मिडफिल्डर निनथोइनगाङवा मितेइखुमान्थेमले बक्सबाहिरबाट सानदार गोल गरी भारतलाई ४-० को जित निश्चित गराए ।

भारत र बंगलादेशबीचको उपाधि भिडन्त आइतबार हुनेछ । त्यसअघि आइतबारै तेस्रो स्थानको प्लेअफ हुनेछ । त्यसमा भुटान र माल्दिभ्स भिड्नेछन् । तेस्रो स्थानको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

प्रकाशित : आश्विन ११, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?