कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

साफ यू–१८ च्याम्पियनसिप : असफल भएपछि प्रशिक्षकको राजीनामा

राजु घिसिङ

काठमाडौँ — अघिल्ला दुवै संस्करणको च्याम्पियन नेपाली टिमले घरेलु मैदान हल्चोकमा भइरहेको साफ यू–१८ च्याम्पियनसिपसँगै उपाधिमा ह्याट्रिक गर्ने योजना बनाएको थियो । त्यसमा असफल भएपछि नेपाली युवा टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले आफ्नो जिम्मेवारी त्याग्ने बताएका छन् ।

साफ यू–१८ च्याम्पियनसिप : असफल भएपछि प्रशिक्षकको राजीनामा

‘जुन नतिजा आउनुपर्ने थियो त्यो आएन,’ नेपाल समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले मंगलबार भने, ‘विगत दुईपल्ट (संस्करण) राम्रो नतिजा (च्याम्पियन) आएको थियो, यसपालि त्यस्तो भएन । समूह चरण पार गर्न पनि सकेनौं । त्यसैले नैतिकताको आधारमा बुधबार एन्फा (अखिल नेपाल फुटबल संघ) लाई प्रशिक्षक पदबाट राजीनामा बुझाउँदै छु ।’ उनका अनुसार सहायक प्रशिक्षक सनोज श्रेष्ठ र गोलकिपिङ कोच छन्नुराम चौधरीले पनि टिम छाड्ने बताएका छन् । उनले नेपाली टिमको ‘अफिसियल बैठक’ मा मंगलबार बिहानै टिम छाड्ने विचार व्यक्त गरेका थिए ।


तीन देश रहेको समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार भुटान र माल्दिभ्सले गोलरहित नतिजा निकालेपछि नेपाली टिमको समूह चरणबाटै बाहिरिने औपचारिकता पूरा भएको थियो । त्यसमा भुटानको ३–० (त्यसमा कार्डको आधारमा वरीयता निर्धारण हुनसक्ने) वा चार गोल बढी अन्तरको जितले मात्रै नेपाल अन्तिम चारमा पुग्नसक्ने थियो । तर, पहिलो रोजाइका १० खेलाडीलाई आराम दिएको भुटानले बराबरी माल्दिभ्सविरुद्ध १ अंकमात्रै जोड्यो र समूह विजेता बन्यो । नेपालसँग १–१ को बराबरी खेलेको माल्दिभ्स (२ अंक) समूह उपविजेता भएर सेमिफाइनल पुग्यो ।


‘भुटानले माल्दिभ्सलाई ३–० हान्छ कि भन्ने अलिकति आस थियो तर त्यसो भएको भए हामी सेमिफाइनल पुग्नसक्थ्यौं र राम्रो लयमा फर्कन सक्थ्यौं जस्तो लागेको थियो । तर, भुटानले दोस्रो रोजाइको टिमलाई मौका दियो । माल्दिभ्सविरुद्ध उसको खेलाडीको सूची हेर्दै हाम्रो प्रतियोगितामा फर्किने आस मरिसकेको थियो अनि जिम्मेवारी त्याग्ने व्यक्तिगत निर्णयमा पुगें ।’


परिवर्तन पक्षधर समूह एन्फाको सत्तामा आएलगत्तै असार, २०७५ मा एन्फा एकेडेमीको यू–१८ टिम सम्हाल्ने जिम्मेवारी पाएका श्रेष्ठले थपे, ‘देशका लागि राम्रो गर्न खोज्दाखोज्दै सकिएन । सबैलाई चाहिने नतिजा नै हो, त्यो आएन । विदेशमा नतिजा आएन भने नैतिकताको आधारमा प्रशिक्षकले राजीनामा दिएको सुनेको छु । त्यसैले म नैतिकताको आधारमा यो जिम्मेवारीमा निरन्तर नरहने विचारमा पुगेको हुँ । मेरो यो निर्णय अरुका लागि पनि पाठ हुनसक्छ ।’

बालगोपाल महर्जनको टिमले घरेलु मैदानमा सन् २०१५ मा साफ यू–१९ च्याम्पियनसिप जितेको थियो । त्यसैलाई यू–१८ को रूपान्तरण प्रतियोगिताको दोस्रो संस्करण (२०१७) मा छिरिङ लोब्साङको टिमले थिम्पुमा उपाधि रक्षा गरेको थियो । त्यसैले यो उमेर समूहको दक्षिण एसियाली प्रतियोगितामा नेपालले सबैभन्दा खराब नतिजा यसैपालि बेहोरेको हो ।


आफ्नो टिमको असफलताबारे प्रशिक्षक श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय खेलको अनुभव कम भयो । त्यो स्तर (साफ) को प्रतियोगिता अनुभव भएन । दोस्रो खेलमा मैदानको अवस्थाले पनि साथ दिएन ।’ ४५ दिनको तयारीलाई लिएर पनि उनी बोले, ‘अभ्यासको लागि विदेशमा खेल्न जाने मन थियो तर थोरै समय भएकाले सकिएन । यो टिमलाई टेक्निकल ज्ञान कसरी दिने भन्नेबारे अझै आफूले ट्रेनिङ गर्नुपर्ने पनि देखियो ।’ प्रशिक्षणमा राष्ट्रिय टिमभन्दा युवा खेलाडीमा केन्द्रित हुनुपर्नेमा एन्फाले त्यसो नगरेको पनि उनले सुनाए ।


औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट प्रशिक्षक बनेका उनले भुटानविरुद्ध ३–० को लज्जास्पद हारपछि भनेका थिए, ‘भुटान धेरै बलियो भएछ ।’ भुटानी टिम पहिलोपल्ट साफ यू–१८ को सेमिफाइनल पुगेपछि उनले सुनाए, ‘उसले वास्तवमै युवा टिममा दीर्घकालीन लगानी गरेको रहेछ । त्यसैले दोस्रो रोजाइको टिम खेलाएर पनि माल्दिभ्ससँग राम्रो प्रदर्शन गर्न सक्यो ।’ उनको राजीनामासँगै नोभेम्बरमा हुने एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपाली टिम हेर्ने अर्को प्रशिक्षक एन्फाले खोज्नुपर्ने भएको छ ।


राष्ट्रिय टिम र थुप्रै क्लबबाट स्ट्राइकरका रूपमा खेलेका उनले प्रशिक्षकको जिम्मेवारीमा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा र नकआउट प्रतियोगितामा जावलाखेल युथ हेरेका थिए । तीन वर्षअघि एएफसी ‘ए’ लाइसेन्स गरेका उनलाई हालै एन्फाले प्रदेश ३ को शिक्षा विभाग प्रमुख नियुक्त गरेको थियो । ‘मैले फुटबलमै काम गर्ने हो,’ ४४ वर्षीय उनले भविष्यबारे भने, ‘कुनै क्लब वा टिम हुनसक्छ । प्रदेशको जिम्मेवारीमा पनि व्यस्त हुनेछु ।’


उनले ठीक एक वर्षअघि आग्रामा भएको ‘यू–१८ एसियन स्कुल च्याम्पियनसिप’ मा एन्फा एकेडेमीको टिम सम्हालेका थिए । दर्जन देश सहभागी प्रतियोगितामा उनको टिम पाँचौं स्थानमा रह्यो । उनले एएफसी यू–१३ फुटबल फेस्टिबलमा हेमन गुरुङ (२०१०) र विमल घर्तीमगर (२०११) को टिमलाई पनि इरानमा खेलाएका थिए ।


प्रकाशित : आश्विन ८, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?