कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ यू–१८ च्याम्पियनसिप २०१९ : उपाधि ह्याट्रिकको दाउ

राजु घिसिङ

काठमाडौँ — उमेर समूहमा दक्षिण एसियाली टिमलाई बलियो बनाउने लक्ष्यसाथ साफ यू–१९ च्याम्पियनसिप चार वर्षअघि नेपालबाट सुरु भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो संस्करणमा विमल घर्तीमगरको कप्तानीमा रहेको नेपाली टिम टाइब्रेकरमा भारतलाई हराएर च्याम्पियन बनेको थियो । त्यसको दोस्रो संस्करण यू–१९ च्याम्पियनसिपको रूपमा थिम्पुमा दुई वर्षअघि भयो ।

साफ यू–१८ च्याम्पियनसिप २०१९ : उपाधि ह्याट्रिकको दाउ

त्यसमा नेपाली टिमले उपाधि रक्षा गर्‍यो । यो उमेर समूहको उपाधिमा यसपालि ह्याट्रिक गर्ने लक्ष्य बनाएको छ नेपालले । यस अभियानको सुरुआत हल्चोक मैदानमा शुक्रबार माल्दिभ्सविरुद्धको खेलबाट हुँदै छ ।


‘सबैले मिहिनेत गरेका छन्,’ नेपाली युवा टिमका कप्तान जय गुरुङले भने, ‘ए डिभिजन क्लबविरुद्ध मैत्रीपूर्ण खेलमा सबैले राम्रो खेलेका छन् । घरेलु मैदानमा सबैको मनोबल उच्च छ । त्यसैले उपाधिमा ह्याट्रिक गर्ने तयारीमा छौं ।’ एएफसी यू–१९ च्याम्पियनसिप छनोटको तयारीका रूपमा रहेको यस प्रतियोगिताको लागि करिब ४५ दिन अभ्यास गरिएको प्र्रशिक्षक चेतनारायण श्रेष्ठले बताए । पहिलो चरणमा ४६ खेलाडी बेलाइएको थियो र त्यसपछि चरणबद्ध रूपमा छनोट गरी साफ यू–१८ को लागि तीन दिनअघि २३ सदस्यीय टिम घेषणा गरिएको थियो । ‘नेपालले पहिला दुईपल्ट उपाधि जितेको हो,’ प्रशिक्षक श्रेष्ठले भने, ‘त्यसैली यसपालि चुनौतीका रूपमा लिएका छौं । एकदमै कठिन छ । सबै तयारी गरेर यहाँसम्म आइपुगेका छौं ।’ जुनियर तहबाटै आएका खेलाडीको बाहुल्य टिममा रहेको उल्लेख गर्दै उनले भने, ‘यू–१५, यू–१६ बाटै खेलिरहेका खेलाडीहरू टिममा छन् । यू–२२ टिमबाट खेलेका खेलाडी छन् । ए डिभिजन (सहिद स्मारक) लिगका अनुभवी खेलाडीहरू पनि छन् । तयारीमा ए डिभिजन क्लबसँग धेरै खेल्यौं । समय अपुग भएर विदेश गएनौं । पोखरामा भएको बन्द प्रशिक्षणले टिमको मनोबल उच्च बनाएको छ । घरेलु मैदानमा उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य छ ।’


दक्षिण कोरियामा हुर्किएका मनीष डाँगीको उपस्थितिले पनि नेपाली टिम बलियो भएको उल्लेख गर्दै प्रशिक्षक श्रेष्ठले भने, ‘टिमको बसभन्दा बलियो पक्ष मिडफिल्ड हो । यो टिमका मिडफिल्डर चाँडै राष्ट्रिय टिममा पुग्ने संभावना देख्छु ।’ उपाधि होडमा आयोजक नेपाल र भारत सबैभन्दा बलियो रहेको पनि उनले बताए । ‘सबैभन्दा गाह्रो सेमिफाइनलमा हुनेछ किनभने चारै टिम उस्तै स्तरका हुनेछन्,’ उनले भने, ‘हामीले पहिला जितरिहेकै टिम रहे पनि समूह चरण गाह्रै हुन्छ । किनभने सिनियर (राष्ट्रिय) टिममा परेका खेलाडीहरू लगभग सबै टिममा छन् ।’


आफ्नो पहिलो प्रतिद्वन्द्वीबारे उनी बोले, ‘माल्दिभ्स बलियो टिम हो । हामीले पहिला जितेकाले यसपालि पनि जित्न सक्छौं ।’ नेपाली युवा टिमले दोस्रो संस्करण (सन् २०१७) को भेटमा माल्दिभ्सलाई २–० ले हराएको थियो । तर, छिरिङ लोब्साङले सम्हालेको टिमले थिम्पुमा पहिलो खेलमै भुटानविरुद्ध १–० को हार खेप्नुपरेको थियो । त्यसपछि तीनै खेल जितेर बंगलादेशसँग अंक बराबरी गर्‍यो र ‘हेड टु हेड’ मा उछिन्दै उपाधि जोगाएको थियो । त्यसैले यो उमेर समूहमा कुनै पनि प्रतिद्वन्द्वीको चुनौतीलाई सहज रूपमा लिने अवस्था छैन ।


‘नेपाल धेरै बलियो टिम हो,’ माल्दिभ्सका प्रशिक्षक सेजली मोहम्मदले भने, ‘उसले निकै प्रगति गरेको छ । हामीले निकै ध्यान दिएका छौं । हालै कतारमा गरिएको तयारीले टिमलाई निकै उत्साही बनाएको छ ।’ उनले थपे, ‘नेपाल, भुटान, भारत, बंगलादेश बलिया छन् । हाम्रो यो टिम यो दशककै राम्रो हो । सुरुआत समूहमा पहिलो हुने र त्यसपछि उपाधि जित्ने लक्ष्य छ ।’


माल्दिभ्सका कप्तान हसन नजिमले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । उनको अनुभवले टिमलाई धेरै राम्रो भएको उल्लेख गर्दै प्रशिक्षक सेजलीले अरु खेलाडी पनि उस्तै स्तरको भएको बताए । नेपाली टिमबारे कप्तान नजिमले भने, ‘नेपालविरुद्धको खेल सजिलो हुने छैन । हामी समूह चरणबाट छनोट भएर अगाडि बढ्न चाहन्छौं ।’


नेपाल रहेको समूह ‘ए’ मा भुटान र माल्दिभ्स छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सदस्य पाकिस्तान सहभागी नभएको यस प्रतियोगिताको अर्को समूहमा भारत, दोस्रो संस्करणको उपविजेता बंगलादेश र भुटान छन् । नेपाल दुईपल्टको डिफेन्डिङ च्याम्पियन भए पनि प्रतियोगितामा भारतलाई निकै बलियो मानिएको छ । उसले दक्षिण एसियाली क्षेत्रमा उपाधि जित्न नसकेको दुर्लभ प्रतियोगिता पनि हो साफ यू–१८ च्याम्पियनसिप ।

‘भारत उपाधि जित्न आएको’ ‘साफ र एएफसी छनोटका लागि अभ्यास र एक्सपोजरको अवसर धेरै पाएका छौं,’ भारतीय टिमका प्रशिक्षक फ्लोयड पिन्टोले भने, ‘दुई–तीन वर्षयता हामी वास्तवमै राम्रो संरचनामा छौं । यू–१७ विश्वकप खेलेका छौं । मुख्य प्रशिक्षक इगोर स्टिम (सिनियर टिम) ले युवा खेलाडीमा इच्छा देखाएका छन् ।’


इन्डियन सुपर लिग (आईएसएल) मा आबद्ध भइसकेका खेलाडीको बाहुल्य छ भारतीय टिममा । डिफेन्डर नरेन्दर गलोतले त सिनियर टिमबाट खेल्दै हिरो इन्टरकन्टिनेन्टल कपमा सिरियाविरुद्ध १–१ मा सकिएको खेलमा गोल नै गरेका थिए । उनी विश्वकप २०२२ छनोटमा हालै कतारलाई गोलरहित रोकेको खेलमा सब्स्टिच्युटको रूपमा मैदान प्रवेश गरेका थिए ।


‘नरेन्दरको अनुभवले टिमलाई बलियो बनाएको छ तर उस्तै स्तरका खेलाडी हामीसँग अरु पनि छन्,’ प्रशिक्षक पिन्टोले भने, ‘यो साफ (यू–१८) सबैले भारतले जित्छ भन्छन् । तर हामीलाई सजिलो छैन । नेपाल, माल्दिभ्स, भुटान, बंगलादेशले ठूलो लगानी र राम्रो तयारी गरिरहेका छन् । ध्यान र गति कायम राख्दै राम्रो गर्न चाहन्छौं । यसबाट ११ खेलाडीलाई एएफसी यू–१९ मा उत्कृष्ट स्तरको बनाउने चाहना छ ।’ भारतीय टिमले एक वर्षयता क्रोएसिया, सर्बिया, रुस, टर्की र भानुआटुको यात्रा गर्दै प्रतियोगिता खेलेको थियो । ओएफसी युथ डेभलप्मेन्ट प्रतियोगिताको सफलताले पिन्टोको टिम उत्साही छ । यू–१७ विश्वकप २०१७ मा भारतको एकमात्र गोलकर्ता जेक्सन सिंह पनि टिममा छन् ।


कप्तानी गर्ने अवसर पाएका छन् प्रभसुखन सिंह गिलले । ‘हालैका प्रतियोगितामा हामीले सफलता हात पारेका छौं,’ उनले भने, ‘हामीसँग धेरै अवसर छ, दबाब हुने छैन । हामी यहाँ (काठमाडौं) प्रतियोगिता (उपाधि) जित्न आएका हौं ।’ बंगलादेशका एन्ड्यु पिटर टर्नर, माल्दिभ्सका सेजली र भुटानका प्रशिक्षक उगेन दोर्जीले हरेकले प्रतियोगितामा सहभागी हुँदा उपाधि जित्ने लक्ष्य हुने बताए । श्रीलंकाली प्रशिक्षक अमनुल्लाहले भने प्रतिद्वन्द्वीलाई कठिन चुनौती दिने र राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको सुनाए ।




प्रकाशित : आश्विन ३, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?