कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मिथले पाए अभिवादन

एएफपी

लन्डन — जति बेला स्टिभ स्मिथले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरे, दर्शकले उनलाई खिल्ली उडाउने प्रयास नै गरे । उनी यसपल्टको एसेज शृंखलामा अन्तिमपल्ट ब्याटिङ गर्दै ओभलबाट पेभेलियन फर्के । त्यति बेला भने तिनै दर्शकबाट अभिवादन पनि पाए ।

स्मिथले पाए अभिवादन

पूर्व अस्ट्रेलियाली कप्तान स्मिथका लागि इंग्ल्यान्ड भ्रमण निकै सम्झनलायक रह्यो । उनले सात इनिङ्समा ७ सय ४४ रन बनाए । पाँच टेस्टको शृंखला २–२ को बराबरीमा टुंगियो ।


त्यसमा अस्ट्रेलिया विजयी दुवै टेस्टमा उनको योगदान गज्जबको रह्यो । बेन स्टोक्सले लिएको क्याचसँगै आइतबार उनी पेभेलियन फर्के । ओभलमा उनको अन्तिम इनिङ्सको स्कोर थियो, २३ रन । त्यस अगाडि उनले पहिलो इनिङ्समा ८० रन बनाए । त्यसभन्दा अगाडि उनले एजबास्टनमा १ सय ४४ र १ सय ४२ रन बनाए । यस्तै लर्ड्समा ९२ रन जोडे अनि ओल्ड ट्राफोर्डमा सुरुमा २ सय ११ रन बनाए, त्यसपछि ८२ रनको इनिङ्स खेले ।


जुनमा एकदिवसीय विश्वकपसँग उनले विश्व क्रिकेटमा पुनरागमन गरेका थिए । बल टेम्परिङ काण्डमा मुछिएपछि उनीमाथि एक वर्षे प्रतिबन्ध लागेको थियो । इंग्ल्यान्ड आएयता उनको पहिलो खेल ब्रिस्टलमा थियो । त्यहाँबाट सुरु भएको थियो स्मिथलाई दर्शकले खिल्ली उडाउन । एकदिवसीय विश्वकपमा पनि उनको प्रदर्शन राम्रै रह्यो, तर अस्ट्रेलिया सेमिफाइनलमै रोकियो । त्यो पनि विजेता बनेको इंग्ल्यान्डको हातबाट । उनको वास्तविक रूप देखियो टेस्ट क्रिकेटमै ।


उनी इंग्ल्यान्डको बलिङ आक्रमणविरुद्ध पूर्णतः हाबी रहे । एजबास्टनमा प्राप्त पहिलो टेस्ट जितमा उनले दुई शतक नै बनाए । शृंखलाको अन्त्यमा उनी निकै थाकित पनि देखिए । यस्तोमा उनलाई यसपल्टको एसेज शृंखलाको सबैभन्दा उत्कृष्ट प्रदर्शन कुन लाग्यो त ? स्मिथको भनाइ थियो, एजबास्टनमा आफूले खेलेको पहिलो टेस्ट । अस्ट्रेलिया ८ विकेट गुमाएर १ सय २२ रनको स्थितिमा थियो । त्यहींबाट उनले उत्कृष्ट प्रदर्शन गरे ।


‘यो प्रदर्शनमा मलाई निकै गर्व छ,’ स्मिथले भने, ‘यस्तो प्रदर्शनले आत्मविश्वास दिने गर्छ । पूरा शृंखलामा यही इनिङ्सले मलाई निकै सन्तुष्टि पनि दिलाएको छ । कुनै पनि शृंखलामा पहिलो टेस्ट सबैभन्दा बढी महत्त्वको हुन्छ । त्यही टेस्टमा आफ्नो संकटको स्थितिमा थियो । त्यही स्थितिमा राम्रो खेल्नु र अन्ततः आफ्नो टिमलाई विजयी बनाउनु वास्तवमै खुसीको क्षण थियो ।’ उनले प्रतिबन्धको समय सम्झदै त्यति बेला सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।


उनले भने, ‘विशेषतः म आफ्नै श्रीमतीलाई बढी सम्झिन चाहन्छु ।’ लर्डसमा भएको दोस्रो टेस्टका क्रममा उनी जोफ्रा आर्चरको बाउन्सरमा घाइते भए । त्यसैक्रममा उनले तीन इनिङ्स पनि गुमाए । तर ओल्ड ट्रायफोर्डमा फर्केयता उनले फेरि एकपल्ट ब्याटबाट उत्कृष्ट प्रदर्शन गरे ।


उनले ओभलमा भएको अन्तिम टेस्टको पहिलो इनिङ्समा पनि ८० रन बनाए । यो एसेज शृंखलामा उनको लगातार दसौं अर्धशतक पनि थियो । अहिले उनको टेस्ट औसत ६४.५६ रन छ । उनको अगाडि एकमात्र ब्याट्सम्यान छन् महान् डन ब्रेडम्यान ।

प्रकाशित : भाद्र ३१, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?