कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप २०२२ छनोट : नेपाललाई आस जगाउने अवसर

राजु घिसिङ

काठमाडौँ — नेपालभन्दा बलियो टिम हो कुवेत । तर नेपालले खाडी मुलुकविरुद्ध ७–० को हार बेहोर्ने सोचिएको थिएन । फिफा वरीयतामा १० स्थानमाथिको टिमविरुद्ध त्यो फराकिलो हारले नेपाली फुटबललाई स्तब्ध बनाएको छ ।

विश्वकप २०२२ छनोट : नेपाललाई आस जगाउने अवसर

विश्वकप २०२२ छनोटको दोस्रो खेलमा मंगलबार चाइनिज ताइपेईको सामना गर्दा नेपालले कुवेत यात्राको नतिजाबाट उक्सिने प्रयास गर्नेछ ।


‘केही कारण हामी कुवेतविरुद्ध असफल भएका थियौं,’ प्रि–म्याच प्रेस कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले भनेका छन्, ‘हामी फेरि लयमा फर्कन आवश्यक छ । त्यसका लागि हामीले कुवेतविरुद्ध गरेका गल्तीहरू ताइपेईविरुद्धको खेलमा सच्याउने आस छ । हामीले कुवेतविरुद्ध जस्तै गल्ती ताइपेईमा दोहोर्‍याउनु हुँदैन । हामीले आफ्नै शैलीको खेल खेल्नुपर्छ, जसले गल्ती दोहोर्‍याउनबाट हामीलाई जोगाउन सक्छ ।’


स्विडिस प्रशिक्षक कालिनले रक्षात्मक खेल शैलीमा जोड दिने गर्छन् । उनी गोल नखानेमा ढुक्क भएपछि मात्रै अगाडि बढ्न चाहन्छन् । उनले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० मा मछिन्द्र क्लबलाई त्यही रणनीतिमा सनसनीपूर्ण नतिजा दिलाएर उपविजेता बनाएका थिए ।


गत मार्चमा नेपाली टिम सम्हालेयता पनि उनले त्यही संगठित रक्षापंक्तिसँगै काउन्टरमा अघि बढ्ने खेलशैलीलाई निरन्तरता दिएका छन् । उनले विपक्षी आक्रमणलाई कसरी रोक्ने भन्नेमै प्रशिक्षणमा जोड दिएका थिए । तर उनको मिहिनेत कुवेतविरुद्ध काम लागेन ।


न अग्रपंक्ति न त डिफेन्स, नेपाली टिमले कुवेतविरुद्ध कुनै पनि पक्षमा आस गर्ने ठाउँ दिएको थिएन । नेपालले सातै गोल आफ्नै गल्तीमा बेहोरेको थियो । कप्तान एवं गोलकिपर किरण चेम्जोङले पहिलो हाफमा दुईपल्ट राम्रो बचाउ गरेका थिए । अरु मुभमा कुवेती टिमविरुद्ध निरीह देखिएको नेपाली खेलाडीको अनपेक्षित खेल प्रदर्शन गर्ने परम्परा छ । त्यसैले ताइपेईविरुद्ध सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।


फिफा वरीयतामा नेपाल १६६ औं स्थानमा छ । कुवेत १० स्थानमाथिको टिम थियो तर मैदानमा त्योभन्दा धेरै ठूलो अन्तर देखिएको थियो । ताइपेई १२५ औं स्थानमा छ । ‘ताइपेई उच्च वरीयताको टिम हो । त्यसैले उसलाई हाम्रो समूहमा कमजोर टिमको रुपमा लिनु गल्ती हुनसक्छ,’ प्रशिक्षक कालिनले भने, ‘यो धेरै कठिन खेल हुनसक्छ । ताइपेई कुवेतजस्तै टिम हो र उसले हालैमात्र हङकङलाई पराजित गरेको थियो । हामीसँग यस्तो टिमविरुद्ध खेल्न योजना छ । हाम्रो योजना खेलअघि नै भन्ने छैनौं ।’


कालिनको टिमले दुई महिनाअघि ताइपेईविरुद्ध उसैको भूमिमा मैत्रीपूर्ण खेलमा १–१ को बराबरी गरेको थियो । ताइपेईविरुद्ध त्यो नेपालको हालसम्मको भेट हो । उनले टिम सम्हालेयताका चार मैत्रीपूर्ण खेलमा नेपालले दुई बराबरी र दुई हारको नतिजा निकालेको थियो । त्यसपछि कुवेतविरुद्ध ठूलो अन्तरले हारेको हो ।


औपचारिक पाँच खेलसम्म जितविहीन रहेका उनले ताइपेई रंगशालामा हुने खेलबारे भने, ‘सबैभन्दा ठूलो कुरा हामी आफ्नै खेल खेलेर सही बाटोमा फर्किनु हुनेछ । राम्रो प्रदर्शन गर्न सक्यौं भने हामीले अंक जोड्ने छौं ।’


विश्वकप २०२२ मा एसियाली छनोटको दोस्रो चरणमा नेपाल र चाइनिज ताइपेईसँगै समूह ‘बी’ मा अस्ट्रेलिया, जोर्डन र कुवेत छन् । यसमा सबैभन्दा कमजोर र वरीयतामा तलको टिम नेपाल नै हो । इन्डोनेसियन लिग वन च्याम्पियन क्लब पर्सिजा जकार्ताबाट खेलिरहेका मिडफिल्डर रोहित चन्द र गोलकिपर किरण चेम्जोङनै नेपाली टिमका आशा गरिएका खेलाडी हुन् ।


कालिनका प्रिय विंगर रवि पासवान कुवेतविरुद्ध निकै मिहिनेती देखिएका थिए । पछिल्लो खेलमा ध्वस्त देखिएको डिफेन्समा सुधारिएको प्रदर्शन गर्नसके मात्रै नेपालले ताइपेई रंगशालामा अंक जोड्न सक्छ ।


ताइपेई घरेलु मैदानमा भएको विश्वकप छनोटको पहिलो खेलमा जोर्डनविरुद्ध २–१ ले हारेको थियो । त्यसमा गोल गरेका मिडफिल्डर वेन चि–हाओ र चेन पो–लियाङ चिनियाँ फुटबलको दोस्रो डिभिजनको लिग खेल्छन् । ताइवानका अरु तीन खेलाडी हङकङको क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।


प्रशिक्षकको रूपमा इंग्ल्यान्डको आर्सनल, पोर्टसमाउथ, वाटफोर्ड तथा चिनियाँ क्लब सांघाई सेन्जिनको अनुभव संगालेका लुइस लंकास्टरले गत जनवरीयता सम्हालेका छन् ताइवानी टिम । त्यसैले नेपालका लागि ताइवानविरुद्धको खेल गाह्रो हुनसक्छ ।


‘हामीले हाम्रो उत्कृष्ट खेल खेल्नैपर्छ,’ प्रशिक्षक लंकास्टरले प्रेस कन्फ्रेन्समा भनेका छन्, ‘हामी अझै असफल भयौं भने मैदान त्यागेजस्तै हुनेछ । हामी पश्चत्ताप नगरी मैदान छाड्न चाहन्छौं ।’ एसियन कप २०२३ छनोटका रूपमा पनि रहेको प्रतिस्पर्धाबारे उनले थपे, ‘हाम्रो लागि यो जित्नैपर्ने खेल हो र यसमा हामी रोकिन चाहँदैनौं । अवसरलाई उपयोग गर्दै अगाडि बढ्न चाहन्छौं । हामी फेरि असफल भयौं भने निरन्तर दबाब बढ्नेछ ।’ बेटिङमा पनि उनकै टिमको सम्भावना बढी देखाएको छ ।


आजको खेल

चाइनिज ताइपेईविरुद्ध नेपाल

समय : १६ः५५ बजे

ताइपेई रंगशाला

प्रकाशित : भाद्र २४, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?