कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल यू–१९ एसिया कपबाट बाहिर

काठमाडौँ — नेपालले यू–१९ मा बंगलादेशलाई पराजित गर्न नसकेको १७ वर्ष भइसकेको छ । सन् २००२ को आईसीसी यू–१९ विश्वकपको प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई २९ रनले पराजित गरेको थियो । त्यो नेपाली क्रिकेटको सनसनीपूर्ण नतिजा थियो । 

नेपाल यू–१९ एसिया कपबाट बाहिर

त्यसयता बंगलादेशसँग नेपाल सधैं झुक्दै आएको छ । नेपालले आइतबार इतिहास दोहर्‍याउने राम्रो अवसर पाएको थियो । श्रीलंकामा भइरहेको यू–१९ एसिया कपमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ६१ रन बनाएपछि नेपालले बंगलादेशसँग अर्को एक पटक इतिहास रच्ने अवसर देखिएको थियो ।


बलिङमा धेरै पटक मुख्य हतियार बनेको नेपाल कोलम्बोस्थित पी सारा ओभल मैदानमा त्यसैमा कमजोर बन्यो । मोहम्मद अक्बर अली र मोहम्मद समीर हुसैनले १ सय २ बलमा अविजित १ सय ३० रनको साझेदारी गरेपछि बंगलादेश यू–१९ ले ४ बल अगाडि लक्ष्य पूरा गर्‍यो ।


अली ९८ रनमा अविजित रहे । ८२ बल खेलेका उनले १४ चौका प्रहार गरे । हुसैनले ४५ बलमा ४२ रन बनाउने क्रममा ४ चौका प्रहार गरे । मोहम्मद तावहिद हृदय ६० र महमदुल हसन रोय ४० रन बनाई आउट भए । नेपालका कमलले २ तथा रसिद र हरिले १–१ विकेट लिए ।


बंगलादेश यू–१९ ले ६ विकेटले पराजित गरेसँगैं नेपाल बाहिरिएको छ । नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल यू–१९ लाई श्रीलंकाले ५ विकेटले पराजित गरेको थियो । लगातार दुई खेल जितेर श्रीलंका यू–१९ र बंगलादेश यू–१९ सेमिफाइनल प्रवेश गरेका छन् ।


बंगलादेश यू–१९ ले टस जितेपछि ब्याटिङमा आएको नेपालबाट ओपनर पवन सर्राफले सर्वाधिक ८१ रन बनाए । १ सय ९ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । उनले रित गौतमसँग पहिलो विकेटमा १४ ओभर भित्र ४५ रन जोडेका थिए । रित ५३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरी ३२ रनमा आउट भए ।


आसिफ शेख ३, कुशल मल्ल २८, कप्तान रोहित पौडेल १४ रनमा आउट भए । सन्दीप जोराले आक्रामक ब्याटिङ गरेपछि नेपालले अन्तिम ५ ओभरमा ५६ रन जोड्यो । ३७ बलमा ५६ रन बनाउने क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे । भिम सार्की १९ बलमा २१, रसिद खान ६ रनमा आउट भए । कमलसिंह ऐरी ९ र हरिबहादुर चौहान १ रनमा अविजित रहे ।


नेपालले मंगलबार यूएईसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

प्रकाशित : भाद्र २३, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?