कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसीसी यू–१९ एसिया कप : श्रीलंकासँगको खेल, डायसको लिगेसी

विनोद पाण्डे

काठमाडौँ — श्रीलंकासँग नेपालको म्याच भन्नेबित्तिकै सिधै जोडिएर आउने नाम हुन् रोय लुक डायस । उनले नेपाल छाडेको पनि दशक बितिसक्यो । तर डायसको ‘लिगेसी’ अझै नेपाली क्रिकेटमा रहिरहेको छ ।

एसीसी यू–१९ एसिया कप : श्रीलंकासँगको खेल, डायसको लिगेसी

उनी अहिले श्रीलंका ‘ए’ का प्रशिक्षक छन् । नेपाली यू–१९ टोली अहिले एसीसी यू–१९ एसिया कप खेल्न श्रीलंकामै छ । अर्को संयोग श्रीलंका यू–१९ सँगै नेपालले शुक्रबार आफ्नो पहिलो खेल खेल्दै छ ।


नेपालका पूर्व प्रशिक्षक रोय डायस बिहीबार नेपाली टोलीको प्रशिक्षणमा झुल्किएको तस्बिर नेपाली यू–१९ टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले पोस्ट गरेका थिए । डायस सन् २००१ देखि झन्डै १० वर्ष नेपाली टोलीको प्रशिक्षक रहे । यसक्रममा नेपाललाई चारपल्ट एसीसी यू–१९ कपको उपाधि दिलाएका थिए । डायस आएको सुरुआती वर्षहरूमा यसै प्रतियोगितालाई युथ एसिया कप भनेर खेलिन्थ्यो ।


एसीसी यू–१९ कप अहिले दुई समूहमा हुन्छ, एसीसी यू–१९ इस्टर्न रिजन र वेस्टर्न रिजन गरेर । दुवैका विजेताले यू–१९ एसिया कपमा खेल्न पाउँछ । नेपाल इस्टर्न जित्दै यू–१९ एसिया कपमा पुगेको हो । डायसले नेपाललाई कहिल्यै यू–१९ एसिया कपमा खेलाउन पाएनन् । यू–१९ एसिया कपको सुरुआत २०१२ देखि भएको हो । नेपाल बसाइका क्रममा डायसले धेरै अप्रत्यासित नतिजा दिलाए । त्यसैले नेपाललाई यू–१९ क्रिकेटमा ‘जायन्ट किलर्स’ पनि भन्ने गरिन्छ ।


पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्डमाथि यू–१९ विश्वकपमा नेपालले पाएको जित डायस प्रशिक्षक भएकै समयमा हो । तर डायस तीन वर्षअघि श्रीलंकामै झन्डै नेपालसँग पराजित हुनबाट जोगिए । डायसले सम्हालेको श्रीलंका यू–१९ सँग नेपाल ऐतिहासिक जित नजिक पुगेको थियो । दीपेन्द्र ऐरीको ९० रनको बावजुद नेपाल १ रनले पराजित हुनपुग्यो । टेस्ट खेल्ने राष्ट्रलाई नेपालले यू–१९ मा धेरै माथ दिँदै आए पनि श्रीलंकासँग नेपालले जित हात पार्न सकेको छैन ।


उनै डायस आफ्नो मातृभूमि राष्ट्रसँगको खेलअघि नेपाली टोलीलाई टिप्स दिँदै थिए । ‘आसिफ शेख र रित गौतमको ब्याटिङ हेर्नुभयो, राम्रो छ भन्नुभयो । स्पिनरसँग कसरी खेल्ने भनेर नेपाललाई सुझाव दिनुभयो,’ नेपालका प्रशिक्षक विनोद दासले श्रीलंकाबाट डायससँगको भेटबारे भने । डायस आएपछि नेपालले सन् २००१ मा युथ एसिया कप जित्दा दास नै कप्तान थिए । त्यो नेपाली क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो ।


विगतमा जस्तै नेपाललाई यसपल्ट पनि श्रीलंकासँग खेल्न सजिलो हुने छैन । त्यसै पनि नेपालको यू–१९ टोली विगत जस्तो बलियो देखिएको छैन । नेपालले सातपल्ट आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ र त्यसमा चारपल्ट डायसले नै नेपाली टोली ओरालेका थिए । डायस गएपछिको एक दशकमा नेपाल २–२ वर्षमा हुने यू–१९ विश्वकपमा दुईपल्ट मात्र छनोट भएको छ । पछिल्लो दुई संस्करणमा नेपाल यू–१९ को विश्वकपमा छनोट हुन असफल रहँदै आएको छ ।

‘बलियो टोलीको घरेलु मैदानमा पाएका हरेक अवसर सदुपयोग गर्नुपर्छ । त्योभन्दा पनि जसले अवसर पाउँछ त्यसले ठूलो योगदान दिनुपर्छ,’ दासले श्रीलंकाको बारेमा भने ।


सेप्टेम्बर १४ सम्म हुने यू–१९ एसिया कपमा नेपाल समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश र यूएईसँगै रहेको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपाल र कुवेतबाहेक अन्य सबैले यो प्रतियोगितालाई दक्षिण अफ्रिकामा जनवरी–फेब्रुअरीमा हुने यू–१९ विश्वकपको तयारीका रूपमा लिएका छन् । नेपाललाई जिल्याउँदै यूएई एसियाबाट यू–१९ विश्वकपमा खेल्दै छ ।


श्रीलंकाले मे महिनामा पाकिस्तान यू–१९ सँग ५ खेलको शृंखला खेलेको थियो । वर्षाले प्रभावित उक्त शृंखला पाकिस्तानले २–१ ले जितेको थियो । श्रीलंकामा अहिले पनि मौसमको प्रभाव रहने सम्भावना उत्तिकै छ । बिहीबारको पहिलो दुई खेल वर्षाले प्रभावित रह्यो । वर्षाका कारण २३ ओभरमा छोट्याएको खेलमा भारतले कुवेतलाई ७ विकेटले पराजित गर्‍यो । ४६ ओभरमा छोट्याएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८५ रनले हरायो । १ सय ६३ रनको लक्ष्य पाएको पाकिस्तान २० ओभरभित्र ७८ रनमै अलआउट भयो ।


जुलाईमा मलेसियामा एसीसी यू–१९ इस्टर्न रिजन जितेयता नेपाली यू–१९ टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेको छ । नेपालले एसीसी यू–१९ कपमा खेल्नुअघि श्रीलंकामा स्थानीय टोलीसँग तीन अभ्यास खेल खेलेको थियो । नेपाललाई त्यहाँ खेल्ने चाँजोपाँजो श्रीलंका क्रिकेट बोर्डले नै मिलाइदिएको हो । त्यसमा मुख्य गरी आसिफ र रितको ब्याट नै खुलेको थियो । दुबै ब्याट्सम्यानलाई डायसको ‘टिप्स’ श्रीलंकासँगको खेल अगाडि आएको छ ।

प्रकाशित : भाद्र २०, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?