कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोहितको उस्तै प्रभाव

पर्सिजाको खराब सिजन
राजु घिसिङ

काठमाडौँ — पर्सिजा जकार्ता इन्डोनेसियन लिग वानमा गत सिजन च्याम्पियन हुँदा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए रोहित चन्द । यी नेपाली मिडफिल्डर आबद्ध क्लब पर्सिजाले यो सिजन उपाधि रक्षा गर्ने लक्ष्य बनाएको थियो । तर १३ खेल सकिँदासम्म पर्सिजा १४ औं स्थानमा रहेको छ, जुन १८ क्लब सहभागी लिगमा रेलिगेसन क्षेत्रभन्दा १ अंकमात्रै माथि हो ।

रोहितको उस्तै प्रभाव

‘पहिलो रोजाइका केही खेलाडी घाइते हुनु नै मुख्य समस्या भयो,’ विश्वकप २०२२ छनोटका लागि राष्ट्रिय टिममा सहभागी हुन बिहीबार स्वदेश आइपुगेका रोहितले इन्डोनेसियन शीर्ष डिभिजनको लिगबारे भने, ‘पहिलाकै मुख्य डिफेन्डर नै घाइते भए । त्यसैले टिममा समस्या देखियो । गोल नियमित गर्‍यौं । तर हामीले अग्रता लिएर पनि खेलको अन्त्यतिर गोल खाइरहेका छौं । भाग्यले पनि साथ दिएन जस्तो लाग्छ ।’


डिफेन्डिङ च्याम्पियन पर्सिजाले २ जित, ८ बराबर र ३ हारको नतिजा बेहोरेको छ । घरेलु मैदानमा बुधबार पीएसएमविरुद्ध गोलरहित खेलेपछि रोहित स्वदेश फर्किएका हुन् । विश्वकप छनोटमा कुवेतविरुद्ध भदौ १९ र चाइनिज ताइपेईविरुद्ध भदौ २४ मा राष्ट्रिय टिमबाट खेलेपछि उतैबाट इन्डोनेसियातर्फ लाग्ने योजनामा रहेका रोहितले भने, ‘यो टिम लगभग च्याम्पियन भएकै टिम हो । ४–५ खेलाडी फेरिए । विशेषतः डिफेन्समा । सिजनको सुरुमै सेन्टर डिफेन्सका खेलाडीलाई चोट लागेपछि समस्या भएको हो । उनीहरू बल्ल मैदानमा फर्किंदैछन् ।’


सेन्टर डिफेन्समा रहेका दुई स्थानीय खेलाडीमध्ये रिउजी युतोले चोटसँग जुध्दै खेलिरहेको उल्लेख गर्दै उनले भने, ‘इन्डोनेसियन लिग वानमा अहिले फेरि स्थानान्तरण खुलेको छ र यसमा ब्राजिल र स्पेनी खेलाडीलाई ल्याउने क्लबको योजना रहेको छ । त्यसले टिमलाई बनाउने विश्वास छ ।’ लिग वानमा एउटा टिमले एक एसियालीसहित चार विदेशीलाई खेलाउन पाउने प्रावधान छ । उनले थपे, ‘इन्डोनेसियामा अन्तिमको टिमले पनि शीर्षस्थानको क्लबलाई पराजित गर्न सक्छ । निकै प्रतिस्पर्धात्मक छ । त्यसैले अब यो सिजन उपाधि जोगाउने भन्दा पनि शीर्ष पाँच वा सातभित्र रहनु हाम्रा लागि एकदम राम्रो नतिजा हुनेछ ।’


२०६६–६७ को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्रबाट करिअर सुरु गरेको अर्को सिजन भारतको आई लिग हुँदै इन्डोनेसिया पुगेदेखि उनी उतै व्यस्त छन् । घुँडाको शल्यक्रियापछि पुनरागमन गर्दै करिअरकै उच्च लय समातेका २७ वर्षीय रोहितले यो सिजनमा आफ्नो प्रदर्शनबारे भने, ‘मेरो प्रदर्शनप्रति प्रशिक्षकहरू खुसी छन् जस्तो लाग्छ । मैले शतप्रतिशत मिहिनेत गरेर टिमलाई सहयोग गरिरहेको छु । सबै खेलमा पूरा समय खेलेको छु ।’ लिगमा रोहित, डिफेन्डर टोनी सुसिप्तो र क्रोएसियन फरवार्ड मार्को सिमिचले पूरा समय खेलिरहेका छन् ।


पर्सिजा कीर्तिमान ११ औंपल्ट लिग च्याम्पियन हुँदाका मुख्य प्रशिक्षक थिए, स्टेफन टेको । यी ब्राजिली प्रशिक्षकले सिजनको अन्त्यसँगै जकार्ताको क्लबबाट बिदाइ लिए । हाल उनले सम्हालिरहेको बाली युनाइटेड ८ अंकको अग्रतासहित लिग वानको शीर्षस्थानमा छ । उनका प्रिय खेलाडी थिए रोहित । रोहितले एएफसी कप २०१९ मा खेलाडी दर्ता गर्ने अवधिको अन्त्यतिर पर्सिजामा अनुबन्ध थपेका थिए ।


टेकोले छाडेपछि बुल्गेरियाली इभान कोलेभ पर्सिजाको मुख्य प्रशिक्षक बने । तर, सिजनको सुरुआत खराब रहेपछि उनी राजीनामा दिन बाध्य भए । त्यसयता स्पेनी प्रशिक्षक जुलियो बानुएलोसले पर्सिजाको टिम सम्हालिरहेका छन् । उनले स्पेनी ला लिगा क्लब डेपोर्टिभो अल्भेसको मुख्य प्रशिक्षक र इंग्ल्यान्डको च्याम्पियनसिपको टिम लिड्स युनाइटेडको सहायक प्रशिक्षकमा काम गरिसकेका छन् । तिनै प्रशिक्षकको पहिलो रोजाइको आकर्षण बनिरहेका छन् रोहित ।


‘यसपालि खेल्ने शैली अलि फरक छ । प्रशिक्षकले टिमको संरचनामा केही परिवर्तन गरेका छन् । पहिला मलाई खुलेर अगाडि बढ्ने अवसर हुन्थ्यो । अहिले पछाडि डिफेन्सलाई पनि सहयोग गर्नुपर्छ । मेरो मिहिनेतबाट प्रशिक्षकहरू सन्तुष्ट छन्,’ रोहितले भने । इन्डोनेसिया राष्ट्रिय टिमको सहायक प्रशिक्षक भइसकेकाले उनले इन्डोनेसियाको फुटबल बुझेको उल्लेख गर्दै रोहितले भने, ‘उनीसँग युरोपेली क्लबको अनुभव छ । इन्डोनेसियन फुटबल बुझेका छन् । उनको ट्रेनिङ राम्रो छ । सबै खेलाडी खुसी छन् । खुसी भएर खेल्न पाउँदा धेरै राम्रो हुन्छ ।’


उनी काल्टेङ पुत्रालाई ३–० ले पराजित गरेको खेलमा म्यान अफ द म्याच चुनिएका थिए । कठिन समयबाट गुज्रिएको पर्सिजाले इन्डोनेसियन कपको उपाधि पनि जोगाउन सकेन । उसले दुई लेगको फाइनलमा पीएसएमविरुद्ध समग्रमा २–१ को हार बेहोर्‍यो । पर्सिजाको महादेशीय प्रतयोगितामा पनि प्रदर्शन राम्रो भएन । उसले एएफसी कपको समूह चरणबाटै बिदाइ लिनुपर्‍यो, जहाँ गत वर्ष नकआउट चरणमा पुगेको थियो ।

प्रकाशित : भाद्र १४, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?