कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लामो यात्राको उपलब्धि

रोयटर्स

(मोनाको) — लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकले जिते युरोपेली फुटबल महासंघको पुरुषतर्फको उत्कृष्ट खेलाडी अवार्ड । युरोपेली च्याम्पियन्स लिग विजेता खेलाडीले नै यो अवार्ड जित्ने अपेक्षा गरिएको थियो, यसअघि यही अवार्ड जित्दै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई उछिनेर । अन्ततः डिफेन्डरका रूपमा यो प्रतिष्ठित अवार्ड जित्ने उनी पहिलो पनि हुन् ।

लामो यात्राको उपलब्धि

सन् २०१० देखि सुरु भएको यो अवार्ड पालैपालो रोनाल्डो र मेसीले पाँचपल्ट जितेका छन् । लिभरपुल आएयता २८ वर्षीय नेदरल्यान्ड्सका सेन्ट्रल ब्याकले टिमको पूरा डिफेन्सलाई नै परिवर्तन गरेर निकै बलियो बनाएका छन् । उनी सन् २०१८ मा साउथह्याम्पटनबाट लिरभपुल आएका थिए, कीर्तिमान ९ करोड २० लाख डलरमा । उनको खेलको सबैभन्दा ठूलो विशेषता छ, शारीरिक रूपमा निकै बलियो र त्यसलाई सुहाउँदो खेल पढ्न सक्ने खुबी । आफ्नो घरमा ग्रोनिगनबाट खेलजीवन सुरु गरेका भान डाइकले प्रिमियर लिगमा आउनु अगाडि सेल्टिकबाट खेले । गत सिजन उनकै महत्त्वपूर्ण योगदानका कारण लिभरपुलले युरोपेली च्याम्पियन्स लिग जितेको थियो, फाइनलमा टोटेनहमलाई हराएर ।


त्यो खेलमा लिभरपुल २–० ले विजयी रहेको थियो । उनकै कारण लिभरपुल कीर्तिमान अंकसहित लिगको दोस्रो स्थानमा पनि रह्यो । ‘मैले निकै लामो यात्रा तय गरेको छु यहाँसम्म पुग्न । यही यात्राले नै मलाई त्यो खेलाडी बनायो, जुन म अहिले छु । मैले यस्तो हुन खुबै मिहिनेत पनि गरेको छु । म त्यस्तो खेलाडी होइन, जसले १८ वर्षको उमेरमै सिधै ठूलो सफलता चाख्न सक्यो,’ भान डाइक भन्छन् । भान डाइककै भाषामा उनले यसका लागि साँच्चै निकै संघर्ष र कडा मिहिनेत गर्नुपर्‍यो । यो रातारात तयार भएको सफलता र उपलब्धि होइन । यस्तोमा उनी निकै खुसी पनि छन् । भन्छन्, ‘मैले अपार खुसीको अनुभव गरेको छु र यसमा गर्व छ । यहाँसम्म पुग्न जे जतिले मलाई सहयोग गरेका छन्, ती सबैलाई धन्यवाद पनि दिन चाहन्छु ।’


उनले यसअघि च्याम्पियन्स लिगको उत्कृष्ट डिफेन्डरको अवार्ड पनि जितेका थिए । ‘साथीहरूको सहयोगविना म यहाँसम्म पुग्न सक्ने अवस्था पनि थिएन,’ उनले थपेका छन् । पछिल्ला आठ संस्करणमा अवार्ड कार्यक्रममा यस्तै उपलब्धि हात पार्ने अरू खेलाडीमा सन् २०१२ आन्द्रेज इनिस्टा, सन् २०१३ मा फ्रान्क रिबेरी र सन् २०१८ मा लुका मोड्रिच छन् ।


पछिल्लो एक दशकमा यो अवार्डमा खाली रोनाल्डो वा मेसीकै प्रभुत्व रह्यो । अब दुवैले एउटै घरेलु लिग खेल्न नपरेको हुनाले पनि यी दुई ठूला स्टारबीचको सिधा प्रतिद्वन्द्विता कम भएको छ । ‘हामी दुवैका लागि गत सिजन विशेष रह्यो,’ रोनाल्डोले भने, ‘अझै पनि हामीबीच राम्रो सम्बन्ध छ । हामीले पछिल्लो एक दशकभन्दा बढी समय पालैपालो यो अवार्ड जितेका छौं । त्यसैले इतिहाससँग आवद्ध हुनु हामी दुवैका लागि उपलब्धि नै हो ।’


युरोपेली च्याम्पियन्स लिग विजेता लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले युरोपियन वर्ष खेलाडीको उपाधि जितेका छन् ।

तस्बिर : एएफपी

प्रकाशित : भाद्र १४, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?