कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली यू–१९ विजयी

काठमाडौँ — श्रीलंका भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा बादुरालिआ क्रिकेट क्लबलाई डकवर्थ लुइस पद्धतिमा ८५ रनले पराजित गरेको छ ।

कोलम्बोमा सिंहालिज स्पोर्ट्स क्लबसँगको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।


सरे क्रिकेट मैदानमा बिहीबार टस जितेको नेपाल ४६.४ ओभरमा २ सय ६ रनमा अलआउट भयो । नेपालको ब्याटिङका क्रममा वर्षाले प्रभावित खेलमा बादुरालिआलाई ३१ ओभरमा १ सय ६५ रनको लक्ष्य दिइयो । तर टोली २३.१ ओभरमा ८४ रनमै अलआउट भयो ।


पवन सर्राफलाई पहिलो ओभरमै गुमाएको नेपाल यू–१९ बाट रित गौतमले ७६ रन बनाए । १ सय २६ बल खेलेका उनले ४ चौका प्रहार गरे । हरिबहादुर चौहानले ७८ बलमा ५६ रन बनाउनेक्रममा २ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोरा २४, भीम सार्की १०, कप्तान रोहित पौडेल ३, खडकबहादुर बोहरा २ रनमा आउट भए । बादुरालिआका मालिन्दा करुणारत्ने, अभिष्का लकसन र थिलिना चामाथले २–२ विकेट लिए ।


बादुरालिआबाट थेभिन्दु डिकवेलेले ३१ र लकसनले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । सागर ढकालले ५.१ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । पवन र कमलसिंह ऐरीले २–२ तथा कुशल मल्लले १ विकेट लिए । श्रीलंकामा सेप्टेम्बर ५ देखि १४ सम्म हुने यू–१९ एसिया कपको तयारीक्रममा रहेको नेपालले शुक्रबार यही मैदानमा चिलाव मारियन्ससँग खेल्नेछ ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?