कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेरेना र फेडेररको गति 

एएफपी

न्युयोर्क — सेरेना विलियम्स बुधबार वर्षाले प्रभावित खेलमा यूएस ओपनबाट बाहिरिने डरबाट गुज्रिन बाध्य रहेकी छन् । पुरुषतर्फ शीर्ष वरीयताका डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच काँधको दुखाइबीच खेल्न बाध्य रहे भने रोजर फेडेरर कमजोर सुरुआतका बावजुत अर्को चरण पुग्न सफल रहेका छन् ।

अमेरिकाकी आठौं वरीयताकी सेरेना २४ औं ग्रान्ड स्लाम उपाधिको अभियानमा छिन् । यो उपाधि जिते सेरेनाले मार्गरेट कोर्टको कीर्तिमान बराबरी गर्ने छिन् । यसैक्रमा उनले आफ्नै देशकी वाइल्ड कार्डप्राप्त १७ वर्षीया क्याटी म्याकनलीलाई ५–७, ६–३, ६–१ ले हराइन् ।


सन् १९९९ मा सेरेनाले पहिलोपल्ट यूएस ओपन जित्दा क्याटीको जन्म पनि भएको थिएन । उनले पहिलो चरणमा सेरेनालाई बलियो चुनौती पेस गरिन्, तर सेरेनाले त्यसयता खेलमा आफ्नो पकड कायम राखिन् । अन्तिम ११ मध्ये ९ गेम जितिन् । ‘आज म भाग्यमानी रहेँ, मेरो खेलमा म आफूलाई नै चित्त बुझिरहेको छैन,’ सेरेनाले भनिन्, ‘अब अर्को खेलमा मैले राम्रो खेल्ने प्रयास गर्ने छु र यो मेरो वाचा रह्यो ।’


उता पछिल्ला ५ ग्रान्ड स्लाममा ४ जितेका सर्वियाली स्टार जोकोभिचले पूरा खेल पीडामै खेले । उनले अर्जेन्टिनाका हुँवा इग्नासियो लोन्डेरोलाई ६–४, ७–६, ६–१ ले पराजित गरे । ‘काँधको चोटका कारण आज मेरो खेल प्रभावित रह्यो,’ उनले भने, ‘म पक्कै पनि कडा चुनौतीबाट गुज्रिएँ ।’ जोकोभिचले समग्रमा १६ ग्रान्ड स्लाम उपाधि जितिसकेका छन् ।


अर्कोतर्फ ३८ वर्षीय तेस्रो वरीयताप्राप्त स्विट्जरल्यान्डका फेडेररले पनि पहिलो सेट गुमाएर बोस्नियाका ९९ औं वरीयताका दामिर जुजुरलाई ३–६, ६–२, ६–३, ६–४ ले पराजित गरे । उनले पहिलो सेटमा लगातार कमजोर प्रदर्शन गरे ।


फेडेररले आफ्नो पहिलो खेलमा पनि भारतका क्वालिफायर सुमित नागलविरुद्ध पहिलो सेट गुमाएका थिए । खेलपछि उनले भने, ‘यसरी खराब प्रदर्शन गर्दा निराशा हुन्छ नै । जति बेला लगातार भूल हुन थाल्छन्, त्यति बेला पनि दुःख हुन्छ । तर खेलमा प्रत्येक समय सुधारको अवसर हुन्छ । अबको चरणमा मैले पक्कै पनि आफ्नो खेलमा सुधार गर्नुपर्ने हुन्छ,’ फेडेररले भने । वर्षको अन्तिम ग्रान्ड स्लामको बुधबारको खेलमा वर्षाका कारण २२ खेल पछि सारिएका छन् ।


जापानका सातौं वरीयताप्राप्त केई निसिकोरीले अमेरिकी ब्राडली क्लेनलाई ६–२, ४–६, ६–३, ७–५ ले हराए । निसिकोरी २०१४ को यूएस ओपन रनरअप हुन् । युक्रेनी पाँचौं वरीयताकी एलिना स्भिटोलिनाले सातपल्टकी ग्रान्ड स्लाम विजेता तथा सेरेनाकी दिदी भेनसलाई ६–४, ६–४ ले हराइन् । पूर्व यूएस ओपन रनरअप अमेरिकन मेडिसन किज विजयी रहिन् ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?