कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यूएस ओपन टेनिस : नाडलको बाटो सजिलो

एएफपी

न्युयोर्क — चौथो यूएस ओपन जित्ने अभियानमा रहेका राफेल नाडलले मंगलबार जोन मिलमनलाई सजिलै हराए । प्रतियोगितामा नाडलको ‘पुल’ मा रहेका शीर्ष वरीयताका आधा दर्जन खेलाडी पहिलो चरणमै पराजित भएपछि स्पेनी खेलाडीलाई अझ सजिलो भएको छ ।

यूएस ओपन टेनिस : नाडलको बाटो सजिलो

शीर्ष १० मा रहेका चार खेलाडी डोमिनिक थिएम, स्टेफानोस सिटसिपस, करेन खाचोनोभ र रोबर्टो बुटिस्टा पहिलो चरणमै पराजित रहे । यसले नाडलको फाइनलसम्मको बाटो सजिलो भएको हो ।


सन् २०१०, २०१३ र २०१७ को यूएस ओपन विजेता नाडलले अस्ट्रेलियाका मिलमनलाई दुई घण्टा चलेको खेलमा ६–३, ६–२, ६–२ ले सजिलै हराए । आर्थर एस स्टेडियममा ६० औं वरीयताका अस्ट्रेलियन खेलाडीले नाडलमाथि कुनै प्रकारको चुनौती पेस गर्न सकेनन् । एक वर्षअघि उनले स्विस स्टार रोजर फेडेररलाई हराएर सनसनी मच्चाएका थिए । ‘यस प्रतियोगितामा धेरैपल्ट खेलिसकेको भए पनि प्रत्येक वर्ष पहिलो खेलमा अलि कठिनाइ नै हुन्छ, तर यही खेलमा मैले सजिलो जित निकालें,’ नाडलले भने ।


दुईपल्टका फ्रेन्च ओपन उपविजेता थिएम भने इटालीका थोमस फाबिनोको हातबाट ६–४, ३–६, ६–३, ६–२ ले पराजित रहे । विम्बल्डनमा पनि अस्ट्रियाली खेलाडी पहिलो चरणबाटै बाहिरिएका थिए । ‘दुई सेटको खेलपछि म निकै थाकिसकेको थिएँ, मैले आज आफ्नो शतप्रतिशत खेल खेल्न सकिनँ,’ निराश थिएमले भने । आठौं वरीयताका ग्रिसका खेलाडी सिटसिपस आन्द्रे रुबलेभसँग ६–४, ६–७, ७–६, ७–५ ले हारे । यस्तै नवौं वरीयताका रुसी खेलाडी खाचोनोभले भसेक पोसपिलिससँग पाँच सेटको खेलमा पराजित भए ।


फ्रान्सेली जो विल्फ्रेड सोंगा पनि अमेरिकी टेन्नी सान्डग्रेडसँग कडा प्रतिस्पर्धा झेल्दै पहिलो चरणमा पराजित भए । महिलातर्फ यूएस ओपनका डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका खराब प्रदर्शनबाट उम्कँदै रुसकी अन्ना ब्लिनकोभामाथि संघर्षपूर्ण ६–४, ६–७, ६–२ को जित निकाल्न सफल रहिन् ।


विम्बल्डनको पहिलो चरणमा पराजित ओसाकाले जितपछि भनिन्, ‘गत वर्षको सुखद सम्झना मैले अहिलेसम्म साँचेको हुँ । तर खेलमा मैले निकै आत्तिएर खेलें र त्यसैले लगातार दबाबमा रहेँ । मैले आफ्नो खेलजीवनमै यति तनाब यसअघि बेहोरेको थिइनँ ।’


यसअघि दुई संस्करणको यूएस ओपनमा पहिलो चरणबाटै बाहिरिएका विम्बल्डन विजेता सिमोना हालेपले भने यसपल्ट अमेरिकी निकोल गिब्सलाई ६–३, ३–६, ६–२ ले पन्छाइन् । जितपछि रोमानियाकी हालेपले आफूले धेरै राहत महसुस गरेको पनि स्विकारिन् । ‘आज निकै राहतको खुसी प्राप्त भयो, किनभने मैले अन्ततः यूएस ओपनमा खेल जित्न सफल रहेँ । प्रायः कुनै पनि प्रतियोगिताको सुरुमा मेरो खेल राम्रो हुँदैन । यो चरण पार गरेपछि ममा राम्रो गर्न सक्ने विश्वास छ,’ उनले भनिन् ।


सन् २०१७ की च्याम्पियन सलोनी स्टेफेन्स रुसी छनोट खेलाडी अन्ना कालिन्स्कायासँग ६–३, ६–४ को सोझो सेटमा पराजित हुँदै १५ वर्षीया विम्बल्डनकी सनसनी कोको गौफले यूएस ओपनको डेब्यु खेल जितेकी छन् । विम्बल्डनको चौथो चरणमा अमेरिकी भेट्रान भेनस विलियम्सलाई हराएर सनसनी मच्चाएकी कोकोले १८ वर्षीया रुसी अनास्टासिया पोटापोभालाई ३–६, ६–२, ६–२ ले हराइन् ।


क्रोएसियाका ४० वर्षे इभो कार्लोभिच यूएस ओपनमा पाको खेलाडी बन्ने होडबाट बाहिरिएका छन् । २१ वर्षे फ्रान्सेस टियाफोसँग प्रतिस्पर्धा गरेका उनले चोटका कारण बीचमै खेल त्यागेका थिए । ६४ मिनेट प्रतिस्पर्धा गरेका इभोले अमेरिकी टियाफोसँग ६–२, ६–२, १–२ को स्थितिमा रिटायर्ट हर्ट लिए । यसअघि युएस ओपनको पुरुषतर्फ सबैभन्दा पाका खेलाडीका रुपमा १९७७ मा ४२ वर्षे अस्ट्रेलियाका केन रोजवलले तेस्रो चरण खेलेका थिए ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?